२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त, युनिट इन्चार्जहरू तस्करीमा मस्त’

रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ। नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको छ।

प्रहरी उभिएकै ठाउँबाट तस्करी हुँदा पनि केही पनि नगरेको देखिन्छ। शनिबार बिहान रौतहटको मठिया नाकाको काली मन्दिरनजिक सशस्त्र प्रहरीको जवान जुगेश्वर चौधरीकै अगाडिबाट एक भारतीय मोटरसाइकलमा तिन बोरा चिनी लोड गरेर नेपालतर्फ भित्रियो।

नागरिक न्युजको टिमले क्यामरामा दृश्य कैद गर्न लागेपछि पनि जवान चौधरीले तस्करीको सामान नियन्त्रणमा लिन वा सोधखोज गर्न कुनै उपाय गरेनन्। तिन बोरा चिनी सहजै पास भइहाल्यो। 

नागरिक न्युजको टोलीले तस्करी भइरहेको ठाउँमा पुगेको खबर पुगेसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जवान चौधरीसहित सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट मठियाका इन्चार्ज असई करण कार्कीलाई गणमा बोलाएका छन।

सशस्त्र प्रहरी प्रमुख एसपी हुमागाईँको नियत साफ छ – तस्करी हुनै हुँदैन। तर युनिट इन्चार्जहरुको स्थानीय तस्करहरूसितको मिलेमतोमा निर्बाध रुपमा तस्करी भइरहेको छ।

जवान चौधरीको डिउटी अवधिमै धानको बीउ, चिनी, तेल, सुर्तीको तस्करी निर्बाध भइरहेको छ। तस्करहरूको संरक्षण गर्नको लागि सशस्त्र प्रहरी उभिएको जस्तो दृश्य देखिन्छ।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न अस्थायी गुल्म खडा गरेको छ। गुल्मका कमान्डर हुन् डिएसपि राजेश श्रेष्ठ। श्रेष्ठ दिनभर रक्सीकै मातमा रहँदा मातहतका सबै तस्करहरूसित मिलेका छन्। डिएसपी श्रेष्ठको मिलेमतोमा औरैया र रामपुरखापले निर्वाधरुपमा सबै नाका तस्करीको लागि खोलिएका छन्।

बिओपी औरैयाका इन्स्पेक्टर दिल बहादुर महराको मिलेमतोमा बन्जरहा, औरैया, मठिया, महुलिया नाकाबाट तस्करी भइरहेको छ। यसै गरी बिओपी रामपुरखापका कमान्डर सशस्त्र प्रहरीका इन्स्पेक्टर राजकुमार पण्डितले जयनगर, रामपुरखाप र बङ्कुल बिओपीमा इन्स्पेक्टर अनिल खडका छन्। दुवै जनाको मिलेमतोमा नरकटिया, वशिष्ट चौक, बङ्कुल, बडा बङ्कुल नाका हुँदै निर्बाध रुपमा तस्करी भइरहेको छ।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरेले तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। उनी आफू पनि तस्करी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने पक्षमा रहेको बताउँछन्।

जिल्लाको कमान्ड सम्हालेको करिब दुई महिनामै तस्करी नियन्त्रण गर्न घिमिरेले बोर्डर युनिटका सम्पूर्ण इन्चार्जलाई सरुवा गरिसकेका छन्। तस्करी नियन्त्रण गर्न र राजस्व बढाउन एसपी घिमिरेले निर्देशन दिँदै नयाँ युनिट इन्चार्ज खटाएका छन्। तर नयाँ इन्चार्जको जिम्मेवारी सम्हालेका युनिट प्रमुखहरूले विनारोकत  तस्करी गराइरहेका छन्। 

एसपी दिलीप घिमिरेसँग तस्करीकारबारे जानकारी लिन खोज्दा शुक्रवार राती मात्रै विभिन्न नाकाबाट तस्करी भएर आएको लाखौँ मूल्य बराबरको मालसामान नियन्त्रणमा लिएको बताए। एसपी दिलीप घिमिरेले गत दुई महिनामै डेढ करोड बढीको मालसामान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जानकारी दिए।

यसै गरी सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँले तिन करोड बढीको तस्करीको मालसामान बरामद गरी भन्सार दाखिला गरेको बताए ।

सशस्त्र र नेपाल प्रहरीका प्रमुखको मिलेमतो नभए पनि जिल्लामा तस्करी नियन्त्रण हुन नसकेको देखिएको छ।

गत साता तस्करी बढेपछि बङ्कुल सीमा प्रहरी चौकीका इन्चार्ज अवधेश यादवलाई प्रहरी प्रधान कार्यालयले तानेको छ। असई यादवलाई हेडक्वाटर तानेपछि पनि तस्करी रोकिएको छैन।

रौतहट जस्तै सर्लाहीको बहादुरपुर, मधुवनगोठ, फेनहारा, त्रिभुवननगर, बारा उधोरण, पर्सा, सङ्ग्रामपुर, नारायणपुर, खुटौना, भाडसर गोरखकाली नाकाहरूबाट चोर बाटो हुँदै व्यापक मात्रामा तस्करी भइरहेको छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App