२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

साकेलाका २ सय ८१ अपागंतालाई परिचयपत्र

अपांगता भएका ज्येष्ठ नागरिकलाई परिचयपत्र दिँदै साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई। तस्बिर : नागरिक

खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमअन्तर्गत २ सय ८१ लक्षित वर्ग लाभान्वित भएका छन्। गाउँपालिकाभित्र रहेका अपांगता व्यक्तिको पहिचान गरी उत्थान, पुनःस्थापना र रोकथाम गर्ने उद्देश्यले साताव्यापी घुम्ती शिविर सञ्चालन गरिएको थियो।

घुम्ती शिविरबाट शिविरमार्फत एक सय ७९ जना अपांगता व्यक्तिले परिचयपत्र पाएका छन् भने बाँकीलाई गाउँपालिका केन्द्रबाटै परिचयपत्र वितरण गरिएको हो। परिचयपत्र प्राप्त गरिसकेका अपांगता भएकाहरूको अद्यावधिक गर्न तथा नयाँ लाभग्राही पहिचानका लागि गत जेठ १७ देखि शिविर चलाइएको थियो।

यसअन्तर्गत नयाँ लाभग्राही एक सय १५ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन्। पुराना एक सय ७९ जनालाई प्रतिलिपि वितरण गरिएको गाउँपालिका पञ्जीकरण शाखाले जनाएको छ। पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङका अनुसार गाउँपालिकाको पाँचवटै वडाका लाभग्राहीलाई लक्षित गरी पायक पर्ने स्थानमा टोली गएर शिविर चलाउँदा उनीहरू लाभान्वित भएका हुन्।

शिविरमार्फत वडा नम्बर १ बाँझेच्यानडाँडामा ३९ जना नयाँ लाभग्राही थपिएका छन् भने २ नं रतन्छामा २३ नयाँ थपिएका छन्। त्यस्तै ३ नं खिदिममा थपिने नयाँ लाभग्राहीको संख्या १८ जना, ४ मात्तिममा २०, वडा नं ५ मा १५ जना नयाँ सूचीकृत अपांगताले परिचयपत्र पाएका छन्।

पछिल्लो वितरीत परिचयपत्रअन्तर्गत गाउँपालिकामा (क) वर्गमा पर्ने २९ जनाले रातो कार्ड पाएका छन् भने (ख) वर्गमा परेर नीलो कार्ड पाउनेमा ६४ जना छन्। त्यस्तै (ग) वर्गमा परेकाहरू ४३ जनाले पहेंलो कार्ड प्राप्त गरेका छन् भने सेतो कार्ड पाउने (घ) मा वर्गीकृत संख्या ४१ रहेको शाखा प्रमुख चाम्लिङले बताए।

नेपाल सरकारले अपांगता भएका (क) र (ख) वर्गमा पर्ने रातो र नीलो कार्ड प्राप्तलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, जसअनुसार रातो कार्ड प्राप्तलाई मासिक ३ हजार ९ सय ९० र नीलो कार्ड प्राप्त गर्नेलाई २ हजार १ सय २८ रुपैयाँ भत्ता उपलब्ध गराइँदै आएको छ। (ग) र (घ) वर्गमा सूचीकृतहरूलाई भने अन्य अपांगताले पाउने सुविधा मात्र दिने गरिएको छ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, गाउँपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा गाउँपालिकाका पाँचवटै वडामा अपांगता रोकथाम तथा पुनःस्थापना शिविर सञ्चालन गर्दा स्थानीय लाभान्वित भएका हुन्। प्रदेश सरकार र फाउन्डेसनले ३५-३५ प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लागत साझेदारी गर्ने यो कार्यक्रम आउँदो ३ वर्षसम्म चल्ने छ।

कार्यक्रमले गाउँपालिकाभित्रका अपांगता व्यक्ति र उनीहरूको परिवारका लागि अपांगतामैत्री कार्यक्रम सञ्चालन गर्ने छ। तीबर्से सम्झौता अवधि सकिएपछि पनि यसलाई गाउँपालिकाले निरन्तरता दिँदै लाने योजना आवधिक योजनामै उल्लेख गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएका छन्। यो कार्यक्रमले साकेलामा अपांगता रोकथाम तथा पुनःस्थापना कार्य अपेक्षाकृत सफलता पाउने अध्यक्ष राईको दाबी छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App