२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

सर्लाहीमा अहिलेसम्मकै ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सर्लाहीको उत्तरी क्षेत्रबाट १६ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको हो।

जिल्लाका केही भागमा लागूऔषध (गाँजा) को उत्पादन, प्रशोधन, भन्डारण तथा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान थालेको थियो।

बुधवार दिउँसो मधेश प्रदेश प्रहरी कार्यालयको लागू औषध नियन्त्रण ब्युरो जनकपुरधाम शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी तथा सशस्त्रप्रहरी बल नेपालको १० नम्बर गण सर्लाहीको संयुक्त टोलीले लालबन्दी नगरपािलका-१४ लंगुरडाँडाबाट १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खानतलासीका क्रममा लालबन्दीको लंगुरडाँडास्थित दुई तल्ले घरको कोठाभित्र टिनको ड्रम र प्लाष्टिकको बोरा तथा शौचालयमा गाँजा फेला परेको बताएको छ। यस्तै,घरभन्दा १०० मिटर टाढा गाँजा च्याप्ने मेसिन समेत फेला परेको प्रहरीले जनाएको छ।

मधेश प्रदेशमै अहिलेसम्म एकैपटक यति धेरै परिमाणमा पहिलोचोटी लागूऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ।

‘मानिसको आवतजावत निकै कम हुने र दुर्गम भेग भएकाले यति धेरै गाँजा बरामद भएको प्रहरीले बताएकाे छ।

गाँजा बरामद गर्ने अभियानमा नेपाल प्रहरीका ८० जना र सशस्त्र प्रहरीका ४५ जना गरी १२५ जनाको संयुक्त टोली खटिएको थियो। गाँजा बरामद भएको घर कसको हो भन्ने यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App