नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सुनसरीका दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत सुनसरीका श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयको नवनिर्मित नयाँ भवनको बुधवार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी,इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन।
रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवनको लागत २ करोड ६३ लाख तथा इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको भवन निर्माणको लागत ३ करोड ५ लाख भएको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो।
![](https://images.nagariknewscdn.com/third-party/1717667027_School%20Final.jpg)
जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।
सुनसरीस्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४९० वटा परियोजना सम्पन्न भइसकेका छन्।
यीमध्ये कोसी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । जसमा १२ वटा परियोजना सुनसरीमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ।
जसमध्ये कोसी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ।यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको छ। जिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ।
यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
![](https://images.nagariknewscdn.com/third-party/1717667122_Bharat%201%20Final.jpg)
प्रकाशित: २४ जेष्ठ २०८१ १५:१९ बिहीबार