२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बोन बैठक तयारी नोटमा ‘चन्द्रागिरि संवाद’

गत साता चन्द्रागिरि हिल्समा सम्पन्न दुईदिने पर्वतीय संवादलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का दुई परामर्श निकायले संयुक्त नोटमा समावेश गरेका छन्। युएनएफसिसिसीका परामर्श दुई निकायको बैठक जुन ३ देखि १३ सम्म जर्मनीको  बोनमा हुँदै छ।

बोनमा हुने ६०औं परामर्श बैठकको करिब एक साताअघि युएनएपसिसिसीको वैज्ञानिक तथा प्राविधिक विषयका सहायक परामर्श निकाय (एसबिएसटिए) र कार्यान्वयनका लागि सहायक परामर्श निकाय (एसबिआई) का अध्यक्षले जारी गरेको अनौपचारिक संयुक्त नोटमा चन्द्रागिरि संवादको प्रसंग उल्लेख छ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विषयमा हुने जलवायु वार्ता तथा हरेक वर्ष आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप) तयारी सिलसिलामा यी दुई निकायको बैठकमा हुने छलफल र निष्कर्ष महत्वपूर्ण मानिन्छ।

‘एसबी–६० ले यही मे २२ र २३ मा नेपालमा आयोजित पर्वत, मानव तथा जलवायु विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई मान्यता दिन चाहन्छ,’ एसबिएसटिएका अध्यक्ष हेरी भिरुयल्स तथा कार्यान्वयनका लागि सहायक परामर्श निकाय (एसबिआई) का अध्यक्ष नबिर मुनिरले सोमबार सार्वजनिक गरेको नोटमा उल्लेख छ।  

यी दुई निकायको ६०औं  बैठकमा पहिलोपटक पर्वत तथा जलवायु परिवर्तनको विषयमा विज्ञ छलफल हुँदै छ। जलवायु परिवर्तनले पर्वतीय पारिस्थितिकीय प्रणालीमा पारेको प्रभावलाई सम्बोधन गर्न र यो विषयमा आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोगबारे यो बैठकमा छलफल हुने तयारी छ।

बैठकको तयारीका लागि एसबिएसटिएका अध्यक्ष भिरुयल्सले केही साताअघि भर्चुअल बैठकसमेत आयोजना गरेका थिए। भिरुयल्स नेपालमा आयोजित पर्वत, मानव तथा जलवायु विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमासमेत सहभागी भएका थिए।

यसअघि भएका अन्य तयारी र संलग्नताले परामर्श निकायका ६०औं बैठकका लागि आधार दिने संयुक्त नोटमा उल्लेख छ। यसबाहेक बोन बैठकमा पहिलोपटक बालबालिका तथा जलवायु परिवर्तन, वार्षिक ग्लोबल स्टकटेक विषयमा छलफल हुने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहालका जलवायु तथा वातावरण सल्लाहकार पपुलर जेन्टलले बोनमा हुने बैठकमा नेपालमा आयोजित विज्ञ संवादको विषय समावेश हुनु महत्वपूर्ण उपलब्धि रहेकाे बताए।

‘यी दुई निकाय (एसबिएसटिए र एसबिआई) का अध्यक्षको संयुक्त नोटका आधारमा बोन बैठकमा छलफल हुन्छ। त्यसैलै नोटमा नेपालमा भएको विज्ञ संवाद उल्लेख हुनु गर्वको विषय हो,’ उनले भने। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि सुदृढ हुने उनको तर्क छ।

गत वर्ष दुवईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप– २८) ले पहिलोपटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई सम्बोधन गर्ने विषयमा पहल गर्ने निर्णय लिएको थियो। सम्मेलनले एसबिएसटिएको ६०औं बैठकलाई पर्वत र जलवायु परिवर्तन विषयमा विज्ञ तहमा छलफल गरी सुझाव दिन निर्देश गरेको थियो।

चन्द्रागिरि विज्ञ संवाद जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु, पर्वतीय संसाधन र अवसरलगायत विषयमा केन्द्रित थियो। विश्वका २५ देशका २५० प्रतिनिधि सहभागी चन्द्रागिरि विज्ञ संवादपछि जलवायु परिवर्तन सम्बोधन गर्ने दिशामा १० बुँदे सन्देश जारी गरिएको थियो।

पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको जोखिम सम्बोधन गर्न थप राजनीतिक इच्छाशक्ति तथा सामूहिक कार्यको आवश्यकता औंल्याउँदै चन्द्रागिरि विज्ञ संवादले यसका लागि ठोस नतिजा दिन सक्ने महत्वाकांक्षी कार्य गर्न सुझाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App