२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने सरकारले गरेको निर्णय अनुसार आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाउन लागिएको हो।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।  

यसैबीच आज मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ। सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।

पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।

यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान पनि बनेको छ।

यसैबीच, दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन्।

उनले विश्वभरिका साहसिक पर्यटकहरूलाई नेपालतर्फ ध्याकर्षण गराउने तथा नेपाल भित्र्याउनका लागि सगरमाथा दिवसले सहयोग पुग्ने बताए।

उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिामालहरू यसको असरको चपेटामा पर्दै गएको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता रहेको उल्लेख गरे।

प्रकाशित: १६ जेष्ठ २०८१ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App