२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सगरमाथामा सय वर्षअघिको त्यो संघर्ष

सन् १९५३ मे २९ मा आजकै दिन न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको सफल आरोहण गरे। त्यही ऐतिहासिक दिनलाई उत्सवमय बनाउन सरकारले हरेक मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ।

यही दिवसलाई अझ विशेष र सान्दर्भिक बनाउने अभिप्रायका साथ काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा बुधबारदेखि २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आयोजना हुँदै छ।

आफ्ना अघिल्ला संस्करणहरू अन्तर्राष्ट्रिय पर्वत दिवस (डिसेम्बर ११) को छेको पारेर गरिएको किम्फ यो वर्षदेखि भने सगरमाथा दिवसकै दिनदेखि मनाइने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ। तर अहिले चर्चा गर्न लागिएको कुरा भने किम्फका अवसरमा देखाउन लागिएको सगरमाथा आरोहणको संघर्षको तस्बिर कथाबारे हो।

त्यसो त सगरमाथामा पहिलोपटक पाइला टेकिएको ७१ वर्ष पुगे पनि यसको आरोहण इतिहास भने सय वर्ष लामो छ। सन् १९२१ मा जर्ज म्यालोरी र गे बुलकसहितको बेलायती टोलीले पहिलोपटक सगरमाथा आरोहणको यात्रा थालेको थियो।

टोलीले नेपाली भरिया–कामदारसमेतको सहयोगमा दार्जिलिङ हुँदै तिब्बत क्षेत्रबाट पुमोरी हिमाल आरोहणको प्रयास गरेका थिए। त्यतिबेला उनले लाक्पाला हुँदै शिखरसम्म पुग्ने बाटो पत्ता लगाएका थिए। त्यो मार्ग रोङ्बुक ग्लेसियरबाट सुरु हुन्छ।

त्यसपछि पूर्वी रोङबुक ग्लेसियरको कुनै नराम्रो उपत्यका हुँदै उत्तरी कोलको बरफको पूर्वी ढलानतर्फ सो मार्ग जान्छ। सन् १९२२ मा म्यालोरीसहितको बेलायती आरोहण टोलीले सगरमाथा आरोहणको दोस्रो अभियानमा भाग लिए, जसमा टोलीले पूरक अक्सिजन प्रयोग गरेर २७ हजार ३०० फिट (८,३२१ मिटर) उचाइ हासिल गरेको भनिन्छ।

त्यसको दुई वर्षपछि १९२४ मा म्यालोरी र एन्ड्रियु इर्भिनले त्यतिबेलाकै सबैभन्दा अग्लो उचाइ ८,५७२.८ मिटरसम्म पुगेर कीर्तिमान कायम गरेका थिए। विडम्बना, यी दुई साहसी आरोही त्यही दिन (८ वा ९ जुन १९२४) हिउँमा हराए। कतै म्यालोरी र इर्भिन दुवैले वा एकले सगरमाथा चढेर फर्कने क्रममा त दुर्घटनामा भएको थिएन ? दशकौंसम्म यो जिज्ञासा चलिरह्यो। तर पुष्टि गर्न पर्याप्त प्रमाण भेटिएको छैन।

सन् १९९९ मा बेलायती खोज टोलीले ८,१५६ मिटर उचाइमा एउटा हिउँले कंकाल बाँकी राखेको शव भेटियो। वैज्ञानिक जाँचपछि शव म्यालोरीको भएको पत्ता लाग्यो। इर्भिन भने अझै सगरमाथामै कतै भएको अनुमान छ।

बेलायतीहरूले आफ्ना नागरिकहरूको यही आरोहण अनुभवलाई सगरमाथा आरोहणको सय वर्षका नाममा यो वर्ष विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। यही फेरोमा बेलायती आरोहीसमेत रहेका क्युरेटर इयान वालले अल्पाइन क्लब, एभरेस्ट एक्सपिडिसन र रोयल जियोग्राफिकल सोसाइटीको सहयोगमा सन् १९२१–२४ का दुर्लभ साहसलाई अभिलेखीकरण गर्ने कोसिस गरेका छन्।

‘द फाइट फर एभरेस्ट १९२४ु नाम दिएको यो प्रदर्शनी पहिलोपटक नेपाल पर्यटन बोर्डको कार्यालय परिसरमा बुधबारदेखि प्रदर्शन हुँदैछ। यही शीर्षक र विषयको वृत्तचित्रसमेत मञ्चन र छलफलसमेत हुँदै छ। प्रदर्शनीको उद्घाटन नेपालका लागि बेलायती राजदूत रब फेन र पर्यटन सचिव गणेशप्रसाद पाण्डेयले गर्नेछन्।

‘त्यतिबेला सगरमाथा आरोहण कसरी भयो ? आरोही को थिए ? गोर्खा सैनिकको भूमिका के थियो ? आरोहीले लेखेका चिठी, उनीहरूका डायरी, खानेकुरा, उनीहरूले प्रयोग गरेका सामान प्रदर्शनीमा देखाइनेछन्’, किम्फ फाउन्डेसनका सदस्य शेखर खरेलले भने।

आज सगरमाथासँग विभिन्न प्रसंगका विश्व कीर्तिमान जोडिएर आउने तर उबेला सगरमाथा आरोहण परिकल्पना नै दुस्साहस रहेको बताउँदै उनी विभिन्न समयमा भएका ती आरोहणका प्रयासको प्रतिफल आज सगरमाथाको लोभलाग्दो ख्याति भएको बताउँछन्। ‘र, यी दस्तावेजहरूले हामीलाई यी सबैप्रति गर्व गर्न सिकाउनेछन्,’ खरेल भन्छन्।

प्रकाशित: १६ जेष्ठ २०८१ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App