२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

तीन सगरमाथा आरोहीले बनाए कीर्तिमान

विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहणको महिमा र चर्चा यसको उचाइसँग मात्र नभई यससँग जोडिएका विश्व कीर्तिमानको पनि उत्तिकै लोभलाग्दो छ। कुनै पनि आरोहीलाई सगरमाथाको आरोहण गर्नु जति गर्वको कुरा हुन्छ सगरमाथासँगै जोडिएका कीर्तिमानधारीका लागि विश्वव्यापी मान, सम्मान र ख्यातिको विषय पनि बन्न पुग्छ।

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर होस् वा सानै उमेरमा शिखर चुमेर होस्। अक्सिजन बिना आरोहण गरेर होस् वा सबैभन्दा छिटो आरोहण गरेर नै किन नहोस्। संसारभरिका धेरै आरोहीले धेरै प्रकारका कीर्तिमान त्यहाँ कायम गरेका छन्। त्यो क्रम अहिले पनि रोकिएको छैन।

यसवर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विश्वका धेरै आरोहीहरू कस्सिइरहेकै छन्। तीमध्येका तीन नेपाली आरोही थामेका कामिरिता शेर्पा, गोर्खाकी पूर्णिमा श्रेष्ठ र फुन्जो जाङ्मु लामाले नयाँ कीर्तिमान कायम गरेका छन्।

कमिरिता शेर्पाले यसै ऋतुमा २९ औं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका थिए तर ३० औं पटक आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। उनले सबैभन्दा धेरै पटक सगरमाथा हिमाल आरोहण गर्ने पुरानो आफ्नै रेर्कड तोड्दै नयाँ रेकर्ड बनाएका छन्।

उनले गत जेठ ९ गते बिहान ७ः४९ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। वसन्त ऋतुमा जारी आरोहणका क्रममा उनको यो आरोहण हो। उनी सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही हुन्।

शेर्पा यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अप्रिल १७ तारिखमा काठमाडौंबाट हिँडेका थिए। यस्तै उनले गत वर्ष पनि एकै ऋतुमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए। शेर्पाले यसअघि गत जेठ ९ गते २८औं पटक र जेठ ३ गते २७औं पटक सगरमाथाको सफल आरोहण गरे। कामिरिताले २०५१ सालमा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु आरोहण गरिसकेका छन्। यसैगरी उनले ४० पटक विश्वका अग्ला हिमालको आरोहण पनि गरिसकेका छन्।

त्यस्तै फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठले एकै ऋतुमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन्। यससँगै एकै ऋतुमा तीन पटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बनेकी छिन्।

उनले यही ऋतुको मे- १२, मे- १९ र मे २५ गरी एकै ऋतुमा तीन पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्। उनले पहिलोपटक मनास्लुबाट हिमाल आरोहण यात्रा सुरु गरेकी हुन्।

गोरखाको आरुघाट गाउँपालिका १० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। सगरमाथासहित विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी उनले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरिसकेकी छिन्।

विश्व कीर्तिमान कायम गरेकी आरोही श्रेष्ठले सगरमाथा चार पटक, मनास्लु दुई पटकसहित अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा ल्होत्से, मकालु, के–टु लगायतका हिमशृंखला उनले आरोहण गरिसकेकी छिन्।

गोरखाकै आरोही फुन्जो जाङ्मु लामाले पनि यस ऋतुमा विश्व कीर्तिमान राखेकी छिन्। उनले सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेकी हुन्। लामा आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै सगरमाथाको शिखरमा पुगेकी हुन्।

३३ वर्षीय आरोही लामा गत बिहीबार बिहान ६ः२३ बजे सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ। यसअघि सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड हङकङकी स्याङ यिन हङको नाममा रहेको थियो। उनले २५ घण्टा ५० मिनेटमा आरोहण गरी विश्व रेकर्ड राखेकी थिइन्।

गत चैत १२ गते पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको थियो। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीबाट आठ जनाले अनुमति लिएका थिए।

आठ सदस्यीय सो समूह हिमालयन गाइड नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनी हुन् भने एभरेष्ट एक्सपिडिसन स्प्रिङ– २०२४ नाम रहेको पर्वतारोही दलको नेता अमेरिकन नागरिक छुल्दिम आङ् दोर्जे शेर्पा रहेका थिए।

प्रकाशित: १४ जेष्ठ २०८१ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App