२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

दुर्गमका किशोरी छात्रा भन्छन्- सहजता नहुँदा महिनावारीका बेला विद्यालय जानै मन लाग्दैन

जाजरकोटमा आयोजित निःशुल्क प्याड वितरण कार्यक्रममा सहभागीहरु। तस्बिर : नागरिक

कर्णालीको जाजरकोट जिल्ला नलगाड नगरपालिका १ की १५ वर्षीया एक किशोरी विद्यालय समयमा महिनावारी हुँदा झन्झट भोग्ने गर्छिन्। सेनेटरी प्याड पर्याप्त  र सहज उपलब्ध नहुँदा विद्यालय जान मन लाग्दैन। भर्खरै महिनावारी सुरु भएको उनलाई चार दिन साह्रै नरमाइलो लाग्छ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका १४ की १४ वर्षीया एक किशारी पनि महिनावारीका समयमा हैरानी थपिने बताउँछिन्। प्याड किन्न पैसाले भ्याउँदैन। आमाका पुराना धोती च्यातेर बनाएको प्याडले असजिलो बनाउँछ। कर्णालीका यी दुई किशोरीजस्तै दुर्गमका धेरैलाई महिनावारीका समयमा तनाव हुने गर्दछ।

बिद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भनिए पनि आवश्यकलाई सहजता नहुने गरेको हो। एकजना शिक्षकको जिम्मामा रहने प्याड ती शिक्षक बिदामा बसेको दिन पाउन सकिँदैन। अर्कातिर पुरुष शिक्षकको जिम्मामा रहेका ठाउँमा झन् माग्नै झन्झटिलो हुन्छ। कतै–कतै प्याड फेरिसकेपछि फाल्ने स्थान पनि हुँदैन।

सामान्यतः ९ वर्षदेखि १५ वर्षसम्मको बीचमा महिनावारी चक्र सुरु हुन्छ। अपरिपक्व उमेरमा योनाङ्गबाट रगत आउने र समाजले लाज अनि फोहरका रुपमा चित्रण गरेको महिनावारीबारे गतिलो जानकारी नहुँदा महिलाका लागि बोझ बन्ने गरेको हो। घरायसी वातावरण गतिलो नहुनु, विद्यालयमा महिनावारीसम्बन्धी पर्याप्त जानकारी नदिइनुले पनि किशोरीलाई पिरोल्ने गरेको छ।

यतिबेला भूकम्पले भत्किएका बस्तीमा न घर छ न त विद्यालय राम्रो छ। घरमा होस् वा विद्यालयमा यतिबेला प्याड फेर्ने सुरक्षित स्थान नभएको किशोरीहरूको गुनासो छ। ‘घर भसत्कियो। जस्ताले बारेको एउटा कोठामा सबैजना सँगै हुन्छौं। ट्वाइलेट पनि त्यस्तै एउटै छ। विद्यालयका गतिला ट्वाइलेट भत्किए। हामीलाई महिनावारीका समयमा थप समस्या सुरु भएको छ।’ एक किशोरीले भनिन्, ‘केटा साथीहरूले त झनै गिज्याउँछन्।’

जाडोमा त्रिपालमुनि दैनिकी बिताएका यहाँका स्थानीय गर्मीमा टिनको टहरामा अनि अब बर्खामा पानीको कहरमा दैनिक बिताउने गर्छन्। दाङ जिल्लामा अभियान सञ्चालन गरेका महिलाले जाजरकोट र रुकुमका केही गाउँमा किशोरी र विद्यार्थीका लागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निःशुल्क वितरण गरेका छन्।

महिला स्वरोजगार केन्द्र दाङले उत्पादन गरेको प्याड नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, नागरिक आवाज ललितपुर, द ग्लोबल अफ्लिप्ट प्रोजेक्टसँगको सहकार्यमा नलगाड नरपालिका १ आनापानी, वडा २ छेप्का, आठबिसकोट नगरपालिका ११ चिसापानी, वडा १३ घेत्मा र वडा  १४ छेपारेमा करिब एक हजार थान प्याड निःशुल्क वितरण गरिएको हो।

स्थानीय जनप्रतिनिधि, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको सहभागीतामा अनौपचारिक कार्यक्रमका बीचमा किशोरी र विद्यार्थीलाई निःशुल्क प्याड वितरण गरिएको थियो।

‘यी ठाउँमा भूकम्पपछिको जोखिम न्युनीकरण गर्न सुरुवातीमा सामूहिक शान्ति भान्सा सञ्चालन गरिएको थियो। त्यसपछि चिसो मौसममा तातो सुप किचन सञ्चालन गरिएको थियो।’ उनले भनिन्, ‘अहिले मानसिक स्वास्थ्यका सवालमा काम गर्दैछौं। किशोरीहरू महिनावारीका समयमा तनावमा रहने गरेको देखेका कारण दुई वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेका हौं।’

अनौपचारिक कार्यक्रमका बीचमा प्याड लिन जम्मा भएका किशोरीहरूलाई महिनाबारी स्वच्छतासम्बन्धी सचेतना पनि गरिएको थियो। संस्थाका कार्यक्रम प्रमुख दिपा धितालले महिनावारी स्वच्छतासम्बन्धी सचेतना र पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोगको तरिकाका बारेमा सहजीकरण गरेकी थिइन्।

प्याड वितरण कार्यक्रममा आएका नलगाड नगरपालिका १ का वडाअध्यक्ष धनबहादुर मगरले बालविवाहले हैरान बनाएको बताउँदै गाउँमा कुपोषणले पनि दुःख दिएको बताए। ‘नानीहरूलाई सजिलोका लागि प्याड दिनु भएको छ। बालविवाह न्यूनीकरणमा पनि मिलेर काम गरौं’, उनले थपे, ‘गर्नुपर्ने धेरै छ स्रोत कमी छ।’

महिला र बालबालिकाका सवालमा अभियान सञ्चालन गरेका दाङका महिलाले विधिवत् सञ्चालन गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले मानसिक स्वास्थ्य, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला स्वरोजगार र शान्तिका क्षेत्रमा विगत तीन दशकदेखि काम गरिरहेको छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App