२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी

गत वैशाख २७ गते अछामको तुर्माखान गाउँपालिका- ८ का कमल विकलाई प्रहरीले बुटवलबाट लागु औषधसहित नियन्त्रणमा लियो। बुटवलको कालिकानगरमा वैदवार फार्मेसी सञ्चालन गर्दै आएका विकले औषधि पसलबाटै औषधिजन्य लागुऔषध कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।  

डाक्टरको सिफारिसबिना बेच्न नपाइने विभिन्न औषधिको मात्रा मिलाएर लागु औषध बनाई युवाहरूलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  

उनको पसलबाट लागुऔषध खरिद गरी बेचबिखन गर्ने अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका- १३ का ओमप्रकाश गैरे, देवदह- ७ का किरण दर्जी र बुटवल- २ का मनीष विक छन्।

प्रहरीले विकको पसलबाट ठुलो मात्रामा औषधीजन्य लागु औषध बरामद गरेको छ। विकले नेपालमा बेच्न प्रतिबन्ध लगाइएका तथा चिकित्सकको प्रेस्क्रिप्सनबिना किनबेच गर्न नपाइने औषधि भारतीय बजार सुनौलीबाट अवैध रूपमा ल्याउने र ती औषधि मिसाएर लागु औषधका रूपमा बेच्ने गरेको पाइएको छ।  

सिद्धार्थनगर नगरपालिका- १ बेलहियाका विजय गुप्ता र उनकी श्रीमती मञ्जु गुप्ता वैशाख ३१ गते ठुलो परिमाणको लागु औषधसहित आफ्नै घरबाट पक्राउ परे। भैरहवास्थित बेलहिया नाकानजिकै रहेको गुप्ता दम्पतीको घरबाट प्रहरीले १ केजी ७५० ग्राम चरेस, आइपिपिएल ३२५ एम्पुल, डाइजेपाम १४१ एम्पुल, स्पास्मो ४८७ क्याप्सुल, नाइट्रोभेट ३४ ट्याब्लेट, कोरेक्स, फेनारगन २३० एम्पुल बरामद गरेको छ।

ती दम्पतीले भारतीय बजारबाट लागु औषध तस्करी गरी घरबाटै बेचबिखन गरेको सूचनाका आधारमा प्रहरीले सोमबार छापा मारेको थियो। ती दम्पतीले आफ्नै घरलाई लागु औषधको गोदाम बनाएर बेचबिखन गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी मनोहरप्रसाद भट्टले बताए।  

गत महिना मायादेवी गाउँपालिकाको रमवापुरबाट ३२ वर्षका अखिलेश यादव र अर्का एकजना १५ वर्षे किशोरलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गर्‍यो। गत चैतमा रूपन्देहीको रोहिणीस्थित रामनगर भन्ने स्थानबाट रोहिणीकै तीनजना युवा ब्राउन सुगरसहित समातिए।

१९ वर्षे अनरजित यादव, आशिष धोबी र २९ वर्षका सहदेव हरिजनको साथबाट ७५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। भारतीय बजारबाट लागु औषध ल्याएर बेच्ने र गाउँका युवालाई दुर्व्यसनीमा लगाउने गिरोहले हैरान पारेको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

त्यसको एक साता पनि नबित्दै रोहिणीबाटै प्रहरीले स्थानीय दुईजना युवालाई फेरि ब्राउन सुगरसहित समात्यो। गत साउनमा रूपन्देहीको सालझन्डीबाट प्रतीक थापा, सुनिल थारू, जितबहादुर दर्लामी र दिनेशकुमार पुनः ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट स्थानीय युवायुवतीलाई बेच्न ठिक्क पारिएको ब्राउन सुगरको ३२ वटा पुरिया प्रहरीले बरामद गरेको थियो।

लागु औषध तस्करी, किनबेच तथा दुर्व्यसनीका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। रूपन्देहीमा पछिल्लो १० महिनामा ७३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चालु आवको साउनदेखि वैशाखसम्ममा ११२ जना लागु औषध मुद्दामा पक्राउ परेको बताए। पक्राउ पर्नेमा १४-१५ वर्षका किशोरदेखि ५० वर्षका अधबैंसे पनि छन्। गत आव २०७९-८० मा ७८ वटा मुद्दामा १३६ जना पक्राउ परेका थिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष लागु औषधसम्बन्धी मुद्दाको संख्या केही घटेको देखिन्छ। तर लागु औषध ओसारपसार नियन्त्रण तथा दुर्व्यसनी रोकथाममा उल्लेख्य कमी आउन सकेको छैन।

प्रहरीले मुख्य र सहायक नाकाको चेकजाँचमा कडाइ गर्दा तस्करले रातसाँझको समयमा खेतखलियानबाट लागु औषध बोर्डर कटाउने गरेको स्रोतको दाबी छ। तर डिएसपी भट्ट भने अन्यत्रभन्दा रूपन्देहीमा लागुऔषधसम्बन्धी घटना निकै कम भएको दाबी गर्छन्।  

लागु औषध प्रयोगकर्ताका अनुसार सीमावर्ती भारतीय बजार सुनौलीलाई लागु औषधका तस्कर र दुव्र्यसनीले सुनौलो बजारका रूपमा लिन्छन्। किनभने सुनौलीका औषधि पसल तथा भित्री गल्लीका किराना पसलमा समेत लागुऔषध सजिलै किन्न पाइन्छ।

जहाँ ब्राउन सुगर, स्पास्मो, नाइट्रोसन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता औषधिजन्य लागुऔषध सस्तो मूल्यमा बिक्री हुन्छ। सुनौली आसपासका गाउँ फरेना, कैलाशनगर र कालिमन्दिर विगतदेखि नै ब्राउन सुगर बिक्रीको अखडाकै रूपमा चिनिन्छ।  

भारतीय बजारमा सस्तोमा सजिलै किन्न पाइने तीनै नसाजन्य औषधि र ब्राउन सुगर तस्करले प्रहरीको आँखा छलेर सहायक नाका तथा खुला स्थानबाट नेपाल भित्र्याउँछन्। नेपालबाट पनि ठुलो परिमाणमा गाँजा र चरेस भारतीय बजारमा पुग्छ।

केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मेला मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर लागुऔषध तस्करीमा लगाउँथे। तर भरिया बनाइएकाहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भारतीय बिक्रेताले आफ्ना एजेन्टमार्फत लागु औषध बोर्डर कटाइदिन थालेको नाका क्षेत्रका स्थानीय बताउँछन्। कतिपय एजेन्टले त विगतदेखि नै नेपाल–भारत दुवैतिर लाइन मिलाएरै तस्करी गर्ने गरेको उनीहरूको दाबी छ।

लागु औषधको धन्दा चलाएकाहरूको पहिलो टार्गेट स्कुल कलेज पढ्ने युवायुवती हुन्। लागुऔषध ओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन्। प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना बिरलै भेटिन्छन्।

पक्राउ पर्नेहरू पनि सुरक्षाका थुप्रै युनिटलाई छलेर बुटवल, पाल्पा, नवलपरासी पुगेपछि बल्ल समातिएका घटना पनि छन्। सुनौली र आसपासका क्षेत्रबाटै खुलमखुला लागुऔषध किनबेच तथा ओसारपसार भइरहँदा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा चासो दिएको देखिँदैन।

सीमापारिबाट हुने सहज आपूर्ति र जनचेतनाको अभावका कारण नेपालमा दुव्यर्सनीको संख्या घट्न नसकेको सरोकारवाला बताउँछन्। दुर्व्यसनीविरुद्ध सुमदाय स्तरमा चेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने र लागुऔषधको सहज उपलब्धतालाई रोक्नुपर्ने बताउँछन् रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता। लागु औषध ओसारपसार नियन्त्रणका लागि सीमाक्षेत्रमा दुई देशको सुरक्षा संयन्त्रबीच बलियो सहकार्य हुनुपर्नेमा पनि उनले जोड दिए।

दुव्यर्सनी एउटा व्यक्ति वा परिवारका लागि मात्रै नभई समाज र राष्ट्रकै लागि घातक रोग भएकाले यसको रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र निजी क्षेत्र सबैको सहकार्य हुनुपर्ने उनले बताए।

‘वडा तहदेखि नै दुव्यर्सनीले निम्त्याउने विनाशबारे समाजका हरेक वर्गलाई सुसूचित गर्न आवश्यक छ। स्कुल, कलेजमा विद्यार्थी र अभिभावकका लागि अवेरनेसका कार्यक्रम गरिनुपर्छ,’ युवा व्यवसायीसमेत रहेका गुप्ताले भने। 

प्रहरीको एक्लो प्रयासले मात्रै लागु औषध नियन्त्रण सम्भव नहुने भन्दै उनले स्थानीय सरकार, प्रहरी, नागरिक समाज, प्याब्सनलगायत सामाजिक संघसंस्थाको सहकार्यमा दुव्यर्सनी रोकथाम गर्न सम्भव हुने बताए।

लागुऔषध ओसारपसार तथा तस्करी रोक्न रूपन्देही प्रहरीले स्कुल-कलेजका विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग अन्तरक्रिया छलफल कार्यक्रम गरी सन्देश प्रवाह गरिरहेको डिएसपी भट्टले बताए।

लागुऔषध ओसारपसार नियन्त्रण तथा दुव्यर्सनी रोकथामका लागि समुदायसँग सहकार्य गरिएको उनले बताए। भट्टले आम नागरिक तथा अभिभावक पनि यसबारे चनाखो हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १३ जेष्ठ २०८१ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App