२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि

काठमाडौंमा आजदेखि सुरु हुने पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा भुटान र बंगालादेशका मन्त्री तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयका लागि परामर्श निकाय (एसबिएसटिए) का अध्यक्ष सहभागी हुने भएका छन्।

यो सम्मेलनमा भाग लिन बंगालादेशका वातावरण, वन तथा जलवायुमन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्तेन फुन्टसो सहभागी हुन नेपाल आइसकेका छन्। यसैगरी एसबिएसटिएका अध्यक्ष हेरी भिरुयल्सले पनि यो सम्मेलनमा भाग लिँदैछन्।

सम्मेलनको पूर्वसन्ध्यामा हिजाे दुवै मन्त्री तथा एसबिएसटिएका अध्यक्ष भिरुयल्सले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। जेठ ९ र १० गते काठमाडौंको चन्द्रागिरिमा हुने तथा ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत २५ देशका २०० प्रतिनिधि सहभागी हुनेछन्।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य यो सम्मेलनको छ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा पारिरहेको नकारात्मक प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउँदै आएको छ।

गत वर्ष दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८) ले पहिलोपटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई सम्बोधन गर्ने विषयमा पहल गर्ने निर्णय लिएको थियो।

दुबई सम्मेलनले एसबिएसटिएको ६०औं बैठकमा पर्वत र जलवायु परिवर्तन विषयमा विज्ञ तहमा छलफल गर्न निर्देशन दिएको थियो। सो निर्देशनअनुरूप जुन पहिलो साता जर्मनीको बोनमा हुने लागेको बैठकको पूर्वसन्ध्यामा नेपालमा पर्वतीय संवाद हुन लागेको हो।

नेपालमा आयोजित संवादको निष्कर्षलाई एसबिएएसटिएका अध्यक्ष भिरुयल्सलाई हस्तान्तरण गर्ने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार उद्घाटन गर्ने यो संवाद जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु, पर्वतीय संसाधन र अवसरलगायत प्रमुख विषयमा केन्द्रित हुनेछ।

प्रकाशित: ९ जेष्ठ २०८१ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App