२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

किसानलाई सघाउँदै सूर्याेदय नगरपालिका

किसानलाई माछाका भुरा र पावर ट्रिलर हस्तान्तरण गरिँदै। तस्बिर : नागरिक

सूर्याेदय नगरपालिकाले किसानलाई सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। लम्पी स्किन रोगले पशु क्षति हुँदा पीडित किसानलाई राहतदेखि विभिन्न प्रविधिसमेत नगरले हस्तान्तरण गरिरहेको छ।

नगरले लम्पी स्किन रोगबाट पशुक्षति भएका किसानलाई करिब पाँच सय किसानलाई एक करोड रुपैयाँको राहत वितरण गरेको छ।

नगरले पाँच सय ४० पशु मरेका चार सय ९३ किसानलाई राहत वितरण गरेको मेयर रणबहादुर राईले जानकारी दिए। उनले लम्पी स्किन रोग लागेका सबै पशुलाई निःशुल्क रूपमा खोप उपलब्ध गराएको बताए। प्रत्येक किसानलाई पाँच हजारदेखि ८० हजार रुपैयाँसम्मको राहत वितरण गरिएको उनको भनाइ छ।

‘लम्पी स्किनविरुद्धको मात्र नभई खोरेतविरुद्धको खोप पनि हामीले निःशुल्क रूपमै लगाएका छौं’, उनले भने, ‘पशुलाई खोरेतमुक्त बनाउन नगरले अभियान नै चलाइरहेको छ।’ मेयर राईले गाईलाई निःशुल्क रूपमा ‘सेक्स्ड सिमेन’ नपाएका र पशु क्षति भएका किसानलाई राहत वितरण गरिएको जनाए।

‘हामीले दिएको राहत किसानलाई पुग्दो भने होइन’, उनले भने, ‘किसानलाई ठूलो आर्थिक पीडाबाट उकास्न हामीले सहयोग गरेका हौं।’ नगरले किसानलाई माछाका भुरासमेत वितरण गरेको छ।

नगरले चालु वर्षको बजेट, नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको थियो। उनले पशुमा लाग्ने रोगको आधारभूत प्रयोगशाला स्थापना, खोरेतमुक्त नगरका लागि खोप अभियान, उन्नत घाँसको बीउ, काउम्याट वितरण र भकारो सुधारका कार्यक्रमसमेत चालु वर्ष चलिरहेको बताए।

‘गाईको नश्ल सुधार, पशु बिमा, निजी पशु सेवा प्राविधिक तथा खोप केन्द्रलाई टुल बक्स र ५० प्रतिशत साझेदारीमा रेफ्रिजिरेटर हस्तान्तरण कार्यक्रम पनि चलिरहेकै छ,’ मेयर राईले भने, ‘किसानलाई नै प्राथमिकता दिएर कृषिमा अरू कार्यक्रम पनि कार्यान्वयनमा छन्।’

नगरले बाली बिमा अभियान, कृषिमा नवप्रविधि थ्रिजी प्रणाली कार्यान्वयन, पावर ट्रिलर वितरण, पकेट क्षेत्र विस्तार र आत्मनिर्भरताका लागि क्षेत्र विस्तारमा अनुदान, माटो परीक्षण र कृषि चुनढुंगा वितरण, कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण, कृषि एम्बुलेन्स, सिँचाइलगायत कार्यक्रम सञ्चालन गरिरहेको नगरले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App