२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पाउरोटीबाटै पालनपोषण

जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ छ। यही उद्योगमा उत्पादित पाउरोटी र चाउमिन बजारसम्म पुर्‍याउन २९ वर्षीया रविना बुढालाई भ्याइनभ्याइ हुन्छ। पातारासी गाउँपालिका–३ हुरीमोहरी गाउँकी बुढा दैनिक २० देखि ३० हजार रूपैयाँसम्मको चाउमिन र पाउरोटी बेच्छिन्।

‘उद्योग खोल्नुपूर्व कसरी जीवन धान्ने होला भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘हिम्मत जुटाएर उद्योग खोलें। अहिले सफल भएकी छु।’

उनले उद्योग सुरु गरेको तीन वर्ष भयो। बुढा आफैं अटोरिक्सा चलाउँछिन्। अटोरिक्सा आफैं चलाउन सक्ने भएकाले पनि आफ्नो उद्योगमा उत्पादित सामान बजारसम्म लैजान उनलाई खासै समस्या छैन।

उद्योगमा पाउरोटी, क्रिमरोल, ब्रेड र चाउमिन बनाइन्छ। कामदारको ज्याला र कच्चा पदार्थ ल्याएबापतको रकम कटाएर वार्षिक १० लाख रूपैयाँ हाराहारीमा बचत हुने गरेको उनले बताइन्।

पति डिलबहादुर पनि रातदिन नभनेर रविनालाई उद्योग सञ्चालन गर्न सघाइरहेका छन्। आफ्नो लगाव र पतिको साथले सफल उद्यमी भएको रविना बताउँछिन्। ‘मेहनत गरे आफ्नै घरआँगनमा पनि मनग्गे कमाउन सकिन्छ,’ उनले भनिन्, ‘विदेश मात्रै नताकौं, स्वदेशमा पनि धेरै सम्भावना छ।’

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० ०९:३० शुक्रबार

पाउरोटीबाटै पालनपोषण स्वदेशमा पनि धेरै सम्भावना