२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विरोध गरे पनि पुस्तक विमोचन भएको हो।

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरू किशोर नेपाल, तारानाथ दाहाल, महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धमेन्द्र झालगायतले विमोचन गरेका हुन्। पुस्तकको विमोचन कार्यक्रम सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने भनिए पनि कार्यक्रममा उपस्थित भएनन्।

विमोचनका क्रममा फोनिजका पदाधिकारीले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र त्यसबारे पुस्तकमा नलेखिएको भन्दै विरोध गरेका हुन्। सभामुख र मन्त्रीलाई कार्यक्रममा आउन फोनिजले नै रोकेको आफूहरूले बताएका थिए। यो विवाद नयाँ भने होइन।

सत्यबहादुरको नेतृत्वमा २००८ सालमा पत्रकार संघ बनेको थियो। तर, त्यसले निरन्तरता नपाएको महासंघका दस्ताबेजमा उल्लेख छ। यता नेपाल पत्रकार महासंघले २०१२ साललाई आफ्नो स्थापना भएको मानेको छ र, कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै त्यसपछि अविछिन्न उत्तराधिकार संगठनको रूपमा उल्लेख गर्दै आएको छ।

महासंघ प्रतिष्ठान शाखाले पत्रकार महासंघको विधान र त्यस अनुसार नै नेतृत्व गरिसकेका २२ जना र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको संक्षिप्त जीवनी समेटिएको हो। पुस्तकको समीक्षा गर्दै प्राध्यापक तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताका आवाज पत्रकार महासंघले आवाज उठाउनेहरूको दस्ताबेज तयार पारेको बताए।

‘यो किताब एउटा बेसमेन्ट हो, महासंघ र पत्रकारिताको इतिहासबारे यसमा समेटिएको छ,’ उनले भने, ‘नेपालको सात दशकको पत्रकारिताको इतिहासमा कैयौँ आवाज उठे, आमनागरिकका आवाज पत्रकार महासंघ र पत्रकारले उठाएका छन्।’ उनले यस पुस्तकले पत्रकार महासंघसँग सम्बन्धित जानकारी खोज्न र अध्ययन गर्न सन्दर्भ सामग्रीको रूपमा काम गर्ने बताए।

वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वाध्यक्ष किशोर नेपालले पुस्तकले पत्रकार महासंघको इतिहास बोकेको बताउँदै इतिहास सच्याउँदै जानुपर्ने धारणा राखे। ‘इतिहास सच्याउँदै जाने हो, बिगार्नेतिर होइन,’ उनले भने, ‘राजनीतिक परिवर्तन, जनआन्दोलनलगायत कालखण्डमा पत्रकारको टेवा ठूलो छ।’

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले महासंघको निर्माण, विकास र चुनौतीको सामाना गर्ने क्रममा भोगेका अनुभव यस पुस्तकमा समेटिएको बताएका थिए।

महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेलले पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउँदै महासंघले पत्रकारिता र महासंघको योगदानसँग जोडिएका व्यक्तिहरूलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्ने बताएका छन्।

‘यो नै अन्तिम इतिहास होइन, इतिहास सुधार्दै जाने हो,’ उनले भने, ‘पत्रकार महासंघ र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पत्रकार महासंघले विभिन्न माध्ययमबाट सम्मान गर्न तयार छ, महासंघलाई धेरैले महत्वपूर्ण भूमिका खेल्नुभएको छ।’

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकार महासंघले पत्रकार महासंघसँग सम्बन्धित सबैखाले समस्या समाधान गर्नुपर्ने बताउँदै पुस्तकमा कतिपय विषय अधुरा रहेको बताइन्। ‘यस पुस्तकमा कतिपय कुरा अधुरा छन्, इतिहासका सबै पक्षहरू किताबमा समेटिनुपर्ने हो, तर कतिपय इतिहास छुटेका छन्,’ उनले भनिन्, ‘त्यसलाई महासंघले बुझ्नुपर्छ।’

सञ्चारिका समूहकी उपाध्यक्ष पवित्रा सुनार, नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलोजा दाहालले आगामी दिनमा पत्रकार महासंघमा महिलाको नेतृत्व हुनुपर्नेमा जोड दिए।

पुस्तकमा २३ जनाको जीवनी समेटिएको छ। पूर्वअध्यक्षहरूको जीवनी प्रतिष्ठान प्रदेश समितिका कार्यसमिति सदस्य र केही पत्रकारहरूले तयार पारेका हुन्। एक सय ९१ पेजको पुस्तक प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले सम्पादन गरेका हुन्।

प्रकाशित: २९ माघ २०८० ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App