२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘श्वेतमाथा कलहाँस’

भक्तपुरमा पहिलोपटक भेटिएको साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस। सौजन्य तस्बिर : सञ्जय था श्रेष्ठ

भक्तपुरमा पहिलो पटक साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।

पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौं उपत्यकामा पहिलो पटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा श्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए।

कलहाँस नेपालमा पहिलो पटक सन् २००४ मार्च २४ मा देखिएको थियो। त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए। गर्मी मौसममा निकै उचाइमा उडेर बास बस्ने कलहाँस गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चार वटा पाइएको थियो।

रूस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउँदै पक्षीविज्ञ डा. कमलराज गोसाईं, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्बिरसमेत कैद गरेका छन्।

गोसाईंका अनुसार यो चरा चिसो मौसममा बस्न नसक्ने भएकाले चिसो छल्न नेपाल आएको हो। कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–बर्ड नेपालले अभिलेख गरेको उनले बताए। करिब तीनदेखि चार केजी तौल हुने कलहाँस करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ। –रासस

प्रकाशित: २३ मंसिर २०८० १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App