२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भूकम्प पीडितलाई तिहार भन्दा आफू कसरी बाँच्नेको चिन्ता

भूकम्पबाट विस्थापित भएकी जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ निवासी दिलमाया राना। तस्बिर: अर्जुन ओली/नागरिक

जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन। बिहान–साँझ कसरी छाक टार्ने? कसरी सित ओत्ने भन्ने चिन्ताले सताइरहेका बेला तिहार मनाउने कल्पना समेत गर्न नसकेको उनले सुनाए। रावत गाउँमा सबैको अवस्था भूकम्पपछि दयनीय बनेको धनबहादुरले बताए। ‘गाउँ पुरै विपदमा परेको बेलामा तिहार मनाउने कल्पना नै गरेका छैनौं, राहत सामाग्री नै पाएका छैनौं,’ उनले भने।

जाजरकोट, रिम्नाकी दिलमाया रानालाई यसपटकको तिहार खल्लो भयो। ‘तिहारको लागि केही सोचेका छैनौं, आफू त कसरी बाँच्ने, के खाने भन्ने बेलामा तिहार मनाउने कुरा सोचेका छैनौं,’ उनले भनिन् ‘भूकम्पका कारण गाउँ पुरै शोकमा परेका बेलामा तिहार मनाउने अवस्था नै छैन।’ भूकम्पले घर भत्किँदा भेरी नगरपालिका वडा नम्बर १ मा ३१ जनाको मृत्यु भएको थियो।

सोही वडामा पर्ने उनको गाउँ रिम्नामा मात्रै भूकम्पबाट ८ जनाको मृत्यु भएको थियो। एकातिर छिमेकी र आफन्त गुमाउँदाको पीडा, अर्कोतिर विस्थापित जीवन विताउनु पर्दा भूकम्प पीडितहरु वर्षमा एक पटक आउने आफ्नो महान पर्व भाईटिका मनाउन सक्ने अवस्थामा छैनन्। ‘भूकम्पमा मेरा घर अगाडीका बाबु छोरा, हाम्रै सन्ताका दिदी र छोरी, अंकलको बुढी, हाम्रै नातिनीको छोरा बित्यो,’ दिलमायाले भनिन् ‘हामी अहिले शोकमा छौं, तिहार मनाउने अवस्था छैन।’

घर भत्किदाँ आफुले विस्थापित जीवन बिताइरहेका बेला माईती घर पनि भूकम्पबाट अछुतो नरहेको उनले सुनाइन्। ‘माईततिर दाजुको घर पनि भत्किएको छ, दाजुको घर परिवार पनि विस्थापित हुनु भएको छ,’ उनले भनिन् ‘भूकम्पले सबैलाई पीडा दिएको छ।’

रिम्नाकी चित्रकला रानाले भूकम्पको पीडालाई भुल्न सकेकी छैनन्। गाउँको खुल्ला चउरमा निर्मित टेन्टमा अहिले ८ जनाको संयुक्त परिवार बसिरहेको छ। भूकम्पमा उनले दिदी र दिदीकी छोरीलाई गुमाइन्। एकातिर आफूले विस्थापित जीवन बिताउनु परेको, अर्कोतिर आफन्त र ईष्टमित्र गुमाउनु परेको पीडालाई भुल्न नसक्ने उनी बताउँछिन्। ‘बिहान खाएपछि बेलुका के खाने भन्ने चिन्ता लागेका बेला तिहार मनाउने कुरा सपना जस्तै हो,’ उनले भनिन् ‘गाउँ नै शोकमा छ, गाउँ ध्वस्त भएका बेला तिहार मनाउने हामी कल्पना नै गरेका छौं।’

भूकम्पले जाजरकोट र रुकुम(पश्चिम) का अधिकांस पुराना घरमा क्षति पुर्याएको छ। जाजरकोट, भेरी नगरपालिका–१ मा कुल १ हजार ४० घरधुरी मध्ये १ हजार १० वटा घरमा पूर्ण रुपले क्षति भएको वडा कार्यालयले जनाएको छ। उक्त वडाको रिम्ना गाउँका मात्रै २ सय ४० घर परिवार विस्थापित भएका छन्। वडाअध्यक्ष दिपक रानाले अझैपनि कतिपय पीडितहरु खुल्ला आकाशमुनि बस्नुपर्ने बाध्यता भएको बताए। भूकम्पले भत्केका घर तथा गोठमा अन्नपात, लत्ताकपडा तथा पशु चौपाया अहिले पनि पुरिएको सुनाउँदै यस्तो अवस्थामा चाडपर्व मनाउन सक्ने अवस्था नै नरहेको बताए।

भेरी नगरपालिकामा मात्रै कुल ८ हजार ३ सय ५१ घरधुरी (आंशिक र पूर्ण) प्रभावित भएको तथ्यांक रहेको छ। भूकम्पका कारण जाजरकोट जिल्लाभरी १ सय १ जनाले ज्यान गुमाएका छन्। भूकम्पबाट जाजरकोटका ३४ हजार ५ सय १ घरधुरी प्रभावित भएका छन्। जिल्लाका ७ वटा स्थानीय तहमा ९ हजार ९ सय ७४ घरमा पूर्ण र २४ हजार ७ सय ७ घरमा आंशिक रुपले क्षति भएको बताइएको छ।  

प्रकाशित: २८ कार्तिक २०८० ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App