२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन

डेंगी संक्रमण दिनदिनै फैलिँदै

तनहुँको दमौलीमा डेंगी संक्रमण नियन्त्रणका लागि गरिएको सर्च एण्ड डिस्ट्रोय अभियान। तस्बिरः नागरिक

गत सोमबारसम्म गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ५ हजार ७ सय १९ थियो। त्यो संख्या बढेर मंगलबार प्रदेशभरको संक्रमितको संख्या ६ हजार ७ सय ७८ पुग्यो। 

सोमबारको तुलनामा मंगलबार १ हजार ५९ जना नयाँ संक्रमित थपिए। त्यत्तिमात्र नभई बुधबार यो संख्या झनै बढेर ७ हजार ४ सय ८९ पुगेको छ। मंगलबारको तुलनामा बुधबार ७ सय ११ जना नयाँ संक्रमित थपिएका छन्। दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। गत असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो। त्यो संख्या असोज १६ गते ३३ सय ५३ पुगेको थियो। त्यही आकार बढ्दै जाँदा बुधबार (असोज २४) सम्म ४९ सय पुगेको मन्त्रालयले बताएको छ। प्रदेश सरकारका अनुसार यो वर्ष प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ।

प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमित छन्। अर्काे हिमाली जिल्ला मनाङमा समेत ६ जना संक्रमित रहेका छन्। अहिलेसम्म प्रदेशका तनहुँमा ३ र स्याङजामा २ गरि ५ जनाको योवर्ष डेंगी संक्रमणले ज्यान गईसकेको छ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरज गुरौ भन्छन्, ‘तनहुँमा योवर्ष डेंगी संक्रमण अधिक नै फैलियो। अझै पनि संक्रमित घटेका छैनन। दिनहुँ थपिएको थपियै छन।’ गुरौका अनुसार तनहुँमा मंगलबारसम्म तनहुँमा डेंगी संक्रमितको संख्या ४६ सय ५१ रहेकोमा एकदिनमै झन्डै २ सय ५० जना थपिएर बुधबारसम्म ४९ सय जना पुगेका छन्। तनहुँमा मात्र नभई कास्की र गोरखामा पनि पछिल्लो समय संक्रमित थपिने क्रम रहेको उनले बताए।

गुरौका अनुसार हिमाली जिल्ला मुस्ताङबाहेक सबै (१०) जिल्लामा अहिले संक्रमित छन्। सबैभन्दा बढी तनहुँमा ४९ सय जना संक्रमित छन्। त्यस्तै कास्कीमा १४ सय ८१, गोरखामा ५ सय २९, बागलुङमा १ सय ७२, लम्जुङमा १ सय ३९, नवलपुरमा १ सय १० जना संक्रमित छन्। त्यसैगरि म्याग्दीमा ९२, स्याङजामा ५६, मनाङमा ६ र सबैभन्दा कम पर्वतमा ४ जना संक्रमित छन्।

‘तनहुँमा एकदिनमै २ सय ५० जना जति संक्रमित थपिएका छन,’ गुरौले भने, ‘संख्यात्मक रुपमा अब संक्रमण घट्दै जानुपर्नेमा संक्रमितको संख्या बढेको बढ्यै छ।’ उनका अनुसार अझै १५ दिनसम्म गण्डकी प्रदेशमा डेंगीको संक्रमित बढ्ने सम्भावना छ। किनभने यहाँ दिनहुँजसो पानी पर्ने र घाम लाग्ने हुँदा डेंगी फैलाउने लामखुट्टे फैलाउन बल पुगेको उनले बताए।

‘पानी जम्न नपाएको भए संक्रमण कमजोर भईसक्थ्यो, तर, पानी पर्ने र घाम लाग्ने भईरहँदा संक्रमण रोकिनुपर्नेमा झनै बढिरहेको छ,’ गुरौले भने, ‘पानी पर्न रोकिएको भए यो साता कमजोर हुने आँकलन थियो। तर, पानी परिरहेकोले यो हप्ता पनि संक्रमणले गति लिएको छ।’ पानी नपरे अबको साता संक्रमण स्थिर हुने अपेक्षा रहेको उनले बताए।  

डेंगी फैलाउने लामखुट्टे फैलाउन यो मौसम अनुकुल बनेको बनेको उनले बताए। डेंगी फैलाउने लामखुट्टेको अण्डा एकसातामै लामखुट्टे बनिसक्ने र त्यसका लागि सफा पानी आवश्यक पर्ने र त्यो मौसम अहिले दिनहुँको घामपानीले उपयुक्त बनेको गुरौको भनाई छ।  

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी पनि अझैपनि डेंगी संक्रमण कमजोर नभईसकेको बताए । तनहुँ सदरमुकाम दमौलीमा दिनमा कम्तिमा एकसय जना डेंगीका बिरामी थपिने गरेको उनले बताए। ‘डेंगीले दमौली क्षेत्र बढी प्रभावित भएको छ,’ अधिकारीले भने, ‘नियन्त्रणको प्रयास जारी छ। तरपनि सदरमुकाम क्षेत्रमा संक्रमणले बढी गति लिएको छ।’ 

सदरमुकाम समेत रहेको ब्यास नगरपालिकाको १,२,३ र ४ नम्बर वडाका बासिन्दामा संक्रमण बढी रहेको उनले बताए। ‘करिब ९० प्रतिशत बिरामी सदरमुकाम क्षेत्रका छन। बाँकी आसपासका गाउँका बासिन्दा हुन्,’ उनले भने, ‘अस्पतालमा लक्षण सहित परीक्षणमा आएका ९० प्रतिशत बिरामीमा डेंगी पुष्टि भएको छ।’  

अधिकारीका अनुसार भदौ २५ पछि निकै नै डेंगी संक्रमण बढेको हो। भदौ २५ अघिको तुलनामा त्यसपछि दिनहुँ थपिने संक्रमितको संख्या बढिरहेको अधिकारीले बताए। खुला क्षेत्रको सरसफाई गरेर डेंगी फैलाउने लामखुट्टे नियन्त्रण सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान समेत चलाएको उनले बताए।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। ‘यो वर्ष अलि नै बढी संक्रमण बढेको हो। डेंगी फैलाउने लामखुट्टे धेरै नै फैलिएको छ,’ गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गुरौ भन्छन, ‘तनहुँको दमौली क्षेत्र अलि नै बढी प्रभावित भएको छ। तनहुँमा नै सबैभन्दा बढी बिरामी छन्।’  

प्रकाशित: २४ आश्विन २०८० ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App