२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित

सबैभन्दा बढी १४ सय २२ जना बिरामी तनहुँमा

तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। 

प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका संक्रमित रहेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। केन्द्रका अनुसार सबैभन्दा बढी तनहुँमा १४ सय २२ जना डेंगीका बिरामी छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार कास्कीमा ४ सय ६५ जना डेंगीका बिरामी छन्। त्यस्तै नवलपुरमा ६२, गोरखामा ६०, लमजुङमा ५०, म्याग्दीमा ३७, स्याङ्जामा १३, बागलुङमा ७, मनाङमा २ र पर्वतमा १ जना डेंगीका संक्रमित छन्।

‘हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी छन्। अहिले तनहुँमा भने अधिक बिरामी बढेका छन्,’ श्रेष्ठले भने। केन्द्रका अनुसार यो वर्ष डेंगीका कारण गण्डकी प्रदेशमा दुई जनाको ज्यान पनि गएको छ।  

डेंगीको संक्रमण अबको केही समय अझै बढिरहने पनि श्रेष्ठले बताए। कात्तिक महिनाभर डेंगीको संक्रमण बढ्ने उनले बताए। दिनहुँ जसो पानी पर्ने र घाम लाग्ने हुँदा डेंगी फैलाउने लामखुट्टेका लागि उपयुक्त मौसम तयार हुने हुँदा संक्रमण फैलाउन सक्ने उनले बताए। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको श्रेष्ठको भनाई छ।

उनका अनुसार वर्षायामको सिजन भएको र यो बेला पानी जम्ने गरेकोले डेंगी संक्रमण गराउने लामखुट्टे फैलाउन सहज हुने गरेको छ। 

‘साउनदेखि कात्तिकसम्म अधिक मात्रामा संक्रमण फैलने गर्छ। यो समयलाई पीक सिजन नै भने पनि हुन्छ,’ श्रेष्ठले भने, ‘तर, अरु महिनामा पनि गण्डकी प्रदेशमा डेंगीका धेरथोर बिरामी फेला परिरहेका छन्। बाह्रमास नै डेंगीको त्रास छ। संक्रमितको संख्या धेरै र थोरै भन्ने मात्र हो।’ चिसो मौसममा डेंगी संक्रमण घट्ने गरे पनि शून्यमा भने झरेको थिएन।  

तनहुँमा फैलिएको डेंगी नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ योजना बनाएको उनले बताए। ‘सरकारीदेखि निजी क्षेत्रसम्म सक्रिय हुन सके संक्रमण छिटो कमजोर हुन्छ। तनहुँमा पोहोर पनि संक्रमण बढी नै थियो,’ उनले भने। उनका अनुसार डेंगीको संक्रमण एक वर्ष निकै नै बढ्ने र त्यसपछिका २–३ वर्ष केही कमी हुने गरेको छ। पोहोर कास्कीमा डेंगीको संक्रमण निकै बढी थियो। तर,पोहोरको तुलनामा यो पटक कम रहेको उनले बताए।  

तनहुँमा बिरामी बढेपछि उपचारका लागि अस्पतालमा शय्या अभाव भएको समेत श्रेष्ठले बताए। अस्पतालको एउटै बेडमा २–३ जनासम्म राखेर पनि उपचार गरिरहेको उनले जानकारी दिए। ‘कतिपय बिरामीलाई पोखराको लेखनाथस्थित सरुवा तथा संक्रामक रोग अस्पतालमा ल्याएर उपचार गराउन भनेका छौ। किनकि पोखरा ल्याउँदा उपचार सहज छ। तनहुँमा यो बेला भिडभाड छ,’ उनले भने, ‘संक्रामक अस्पतालमा ल्याउँदा उपचार सहज पनि हुन्छ।’

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार भदौ २५ पछि निकै नै डेंगी संक्रमण बढेको हो। भदौ २५ अघिको तुलनामा त्यसपछि दिनहुँ थपिने संक्रमितको संख्या बढिरहेको अधिकारीले बताए।

‘यो साता त अधिक नै संक्रमण बढ्यो, सदरमुकाम दमौलीको ब्यास नगरपालिकाभित्र अधिक संक्रमित छन्,’ अधिकारीले भने, ‘नियन्त्रणको प्रयासका लागि सबैतिर जुटेका छौ।’

अधिकारीका अनुसार तनहुँका निजी र सरकारी गरी ४७ वटा प्रयोगशालामा डेंगी संक्रमणको परीक्षण हुन्छ। सबैभन्दा बढी ब्यास नगरपालिकाभित्र ८४ प्रतिशत बिरामी रहेको अधिकारीले बताए।  

‘सदरमुकाम क्षेत्रमा मात्र सबैभन्दा बढी बिरामी छन् । ग्रामीण क्षेत्रमा निकै नै कम संख्यामा बिरामी छन्,’ उनले भने। 

संक्रमण अधिक बढेपछि नगरपालिका, सरकारी निकाय, टोल, व्यावसायिक क्षेत्र पनि जुट्ने उनले बताए। ‘हरेक शनिबार हामीले सदरमुकाम क्षेत्रमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाईरहेका छौ। शुक्रबार देखि त झनै तीव्र गतिमा खोज्ने र नष्ट गर्ने अभियान चलाउने तयारी छ,’ उनले भने, ‘व्यापक रुपमा टोल टोलमा व्यक्ति परिचालन गरेर संक्रमणलाई कमजोर बनाउनुको विकल्प छैन।’  

सदरमुकाम क्षेत्रभित्र ग्यारेज, कार्यालय, व्यावसायिक क्षेत्र, गाडी पार्किङ रहेकोले पनि संक्रमण बढी फैलिएको उनले बताए।

‘पानी जम्नेगरि ठाउँ ठाउँमा ट्यांकी राखिएको छ। टायर, ग्यारेज पनि उत्तिकै छरपष्ट छन्,’ उनले भने, ‘बेलैमा व्यवस्थापन गर्न नसके अवस्था झनै डरलाग्दो हुनसक्छ।’

केन्द्रका अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ। खासगरि वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ४ आश्विन २०८० १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App