२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

वर्षाले सडक बिग्रँदा यात्रा कष्टकर

सामान्य वर्षामै पहिरो गएर बिग्रेको सडक ।तस्बिर: महेश्व-नागरिक

‘गाउँगाउँमा सिंहदरबार’ सहित स्थानीय तह पुनर्संरचना भएको दशक पुग्न लाग्दासम्म गाउँले जनजीवनमा सरकार आएको पूर्णतः महसुस हुन सकेको छैन। ०७३ मा स्थानीय तह पुनर्संरचना भई ७ सय ५३ गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका बनाएर ०७४ मा पहिलो निर्वाचनद्वारा स्थानीय सरकार गठन भयो। १५ वटा विशेषसहित २२ वटा अधिकारसम्पन्न स्थानीय सरकार देशभर सञ्चालनमा आए। स्रोतसाधनको प्राप्ति, पहिचान, उत्पादन, परिचालन र फेरबदलसमेतको अधिकारले सुसज्जित स्थानीय सरकारहरू जनअपेक्षा पूरा गर्नेभन्दा ‘सिंह’ बन्नेतर्फ मात्र लाग्नाले आधारभूत विकासमा समेत गाउँले मुहार फेर्न नसकिरहेको गुनासो सुन्न थालिएको छ।

काम गर्नेका लागि पाँच वर्ष ठूलै अवसर हो। पहिलो वर्ष सिकाइ, दोस्रो वर्ष कामको सुरुवात, तेस्रो र चौथो वर्ष गरेको कामको पाँचौं वर्षमा परिणाम देखिनुपर्ने न्यूनतम विकास लक्ष्यको अवधारणा हो। त्यही अवधारणाअनुसार विश्व राजनीतिमा पाँचबर्से कार्यकालको पदावधि कायम गरिएको हो। गर्न चाहने र सक्नेले पाँच वर्षमा धेरै काम गरिसक्छन् जो विश्वमा मात्र नभएर नेपालमै पनि थुप्रै उदाहरण छन्। उसो त धरान उपमहानगर हेर्ने हो भने गर्न चाहँदा एक वर्षमै परिणाममुखी काम हुँदो रहेछ भन्ने उदाहरण मेयर हर्क साम्पाङले देखाइ नै सके।

तर, यहाँ कामभन्दा कुरा धेरै र कुराभन्दा सामाजिक सञ्जालमा हल्ला धेरै गर्ने प्रवृत्ति मौलाएको छ। त्यसकै परिणाम हो– सरकार सञ्चालनमा आएको ६ वर्ष बितिसक्दासम्म पूर्वाधार विकासमा हामी निकै पछाडि छौं। त्यसमा पनि सडक पूर्वाधार जो अपरिहार्य भएर पनि दुरुह अवस्थामा छ। नेपाली समाजको भूराजनीतिमा सडक सबभन्दा महत्वपूर्ण मानिन्छ। खानेपानी, सिँंचाइ, शिक्षा, स्वास्थ्यको जग लगभग सबैतिर बसिसकेकाले सडक र विद्युत् उदयपुरको हकमा पहिलो प्राथमिकतामा पर्नुपर्ने हो। उसो त, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइमा पनि उत्तिकै ध्यान दिनुपर्न आवश्यकता छ यद्यपि सडक र विद्युत्को दाँजोमा यिनीहरू दोस्रो प्राथमिकतामा राख्दा फरक पर्दैन।

एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न सडक अपरिहार्य हो भने वर्तमान जीवनशैलीमा विद्युत् त्यस्तै प्रमुख आवश्यकताभित्र पर्न जान्छ। तर, त्यही दुई पूर्वाधारको अभावले अधिकतर जिल्लावासी अहिले पनि उत्तिकै कहर खेप्न बाध्य हुनुले स्थानीय सरकारप्रति औंला उठ्न गएको हो। पहिलो प्राथमिकताका योजनातर्फ बेखबर भएजस्तै स्थानीय सरकार अन्यत्र अल्मलिँदा बितेको पहिलो कार्यकाल ‘अहा...!’ भन्नलायक बनाउने स्वर्ण मौका उँधो बगेर गइरहेको छ, अब खालि पछुताउनुबाहेक केही छैन।

स्थानीय सरकारले चाहे आफैंले, नसक्दा प्रदेश र संघीय सरकारसँग मिलेर र छिमेकी स्थानीय सरकारसँगको समन्वयमा बितेको पाँचबर्से अवधिमा कमसेकम एकबाट अर्को पालिका पुग्ने सडक निर्माण, सुधार र स्तरोन्नतिमा पर्याप्त बजेट, समय र योजना खर्च गर्न सक्थे। तर, उनीहरूका दिमागमा त्यो उपाय फुरेन, बरू निरर्थक र उपलब्धिहीन योजनामा करोडौं खर्च गर्न लालायित भए, नयाँ र उडन्ते योजनाको डिपीआरमा करोडौं व्यर्थ जनताका लागि आएको रकम लगानी गरे। आवश्यकताको पहिलो सर्त मानिने सडकको हालत यथावत् रह्यो, जसको पीडा भोग्न निरीह जनता बाध्य छन्।

सडकको अवस्था खराब भएकै कारण सामान्य वर्षाले पनि यातायात सेवा अवरुद्ध हुने समस्या ज्यूँका त्यूँ छन्। यस वर्ष भर्खर मात्र वर्षा सुरु भएको छ, त्यतिमै पहाडी सडकको यात्रा कस्टकर बन्न पुगेको छ। केही सातायता सुरु वर्षाले उदयपुरका पहाडी भेगका अधिकतर सडकमा यातायात चल्न छाडेको छ। जताततै पहिरोले सडक भत्काउने, पुर्ने, हिलाम्य बनाउने गर्नाले ठूला–साना गाडी चल्नै नसक्ने अवस्था सिर्जना भएको छ, जसले आउँदो असोज–कात्तिकसम्मको गाउँले जनजीवन कष्टकर बन्ने निश्चित छ।

पहाडी भेगका सबै सडक कच्ची र नियमित मर्मत–सभार नहुने भएकाले वर्षा सुरु भएसँगै पहिरो गएर पुर्ने, भत्काउने गर्ने तथा खाल्डाखुल्डीमा हिलाम्य हुने हुँदा आउजाउ गर्न समस्या पर्ने गरेको हो। केही दिनयता उदयपुरमा ३÷४ दिनको फरकमा मुसलधारे वर्षा भइरहेको छ। वर्षा सुरु भएसँगै छोटा तथा लामो दूरीका पहाडी सडक सबै प्रभावित भएका छन्। वर्षा सुरु भएपछि अधिकतर पहाडी भेगका सडकमा यातायात सञ्चालन कठिन हुँदै गएको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ।

केन्द्रका उपाध्यक्ष नारायण ठकुरीले वर्षा सुरु भएपछि धेरैजसो सडक भत्के–बिग्रेकाले नियमित गाडी चलाउन नसकिएको बताए। उनका अनुसार नियमित र बेलैमा सडक मर्मत नगरिने भएकाले सवारी आउजाउ गर्न कठिन भइरहेको छ। वर्षाले सडक बिगारेपछि सदरमुकाम गाईघाटदेखि लिमचुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका जाने गाडीहरू नियमित सञ्चालन हुन छाडेको उनले बताए। जताततै सडक भत्के–बिग्रेका कारण ठूला गाडी र बोलेरो जिपसमेत नियमित चलाउन नसकिएको ठकुरीले बताए।

गाईघाटदेखि लिमचुङबुङ जोड्ने गाईघाट–मुर्कुची–पुवारे–माझखर्क सडक विभिन्न ठाउँमा भत्केर गाडी आउजाउ गर्न बन्द भएको छ। सडक भत्केकाले ठूला गाडी जेठ लाग्दैदेखि चल्न छाडेको छ भने बोलेरो भने बेलाबेलामा चल्दै आएको छ। गाईघाट बाराहा गर्ने बोलेरो चालक पासाङ शेर्पाका अनुसार बाटो धेरै ठाउँमा भत्केकाले ठूला गाडी दुई महिनायता चलेका छैनन्। बोलेरो भने सातामा दुईपटक ओहोरदोहोर गर्ने गरेको तर त्यो पनि बीचबीचमा सडक बनाउँदै चलाउने गरिएको उनले बताए। जम्माजम्मी २९ किलोमिटर दूरीको सडक पार गर्न ९ घन्टासम्म लाग्ने गरेको शेर्पाले बताए। उनका अनुसार बिहान ७ बजे गाईघाटबाट हिँडेको बोलेरो कहिलेकाहीं पटकपटक भत्केको सडक बनाउँदै जानुपर्दा नौ घन्टासम्म लाग्ने गरेको छ।

नबिग्रेका बेला चार घन्टामा पुगिने सडक पानी परेका बेला पहिरो खसेर पुर्ने तथा खाल्डाखुल्डीमा पानी भरिएर हिलाम्य हुने हुँदा बनाउँदै हिँड्नुपर्दा थप ३–४ घन्टा ढिला हुने गरेको छ। गाईघाट–बाराहादेखि अन्य वडातर्फ जाने सडक पनि सबै भत्के–बिग्रेर मोटरसाइकल चल्नसम्म हम्मेहम्मे भएको अवस्था रहेको स्थानीयले बताएका छन्। बाराहादेखि ५ नं वडा जाँते, ४ नं बलम्ता, २ नं ताम्लिछा र १ बाँसबोटे आउजाउ गर्ने सडक वर्षाले बिग्रिएको जनप्रतिनिधि बताउँछन्।

यता गाईघाटदेखि रौतामाई गाउँपालिका केन्द्र भुट्टार जोड्ने सडकहरू पनि वर्षाले भत्केर यातायात चलाउन अप्ठेरो पारेको छ। गाईघाटदेखि भुट्टार दैनिक दुईपटक ओहोर–दोहोर गर्ने यात्रुवाहक बस सडक बिग्रेकै कारण सातामा एकपटक मुस्किलले चल्ने गरेको छ। भुट्टार जाने मुर्कुची पुवाँरे तथा गाईघाट साउने रौता भुट्टार खण्ड दुवैतर्फका सडक ठाउँठाउँमा भत्केर यातायात अवरुद्ध हुन पुगेको यातायात व्यवसायी बताउँछन्।

उता ताप्ली गाउँपालिका जोड्ने कटारी–बेतिनी–रूपाटार खण्डको हालत पनि त्योभन्दा गतिलो छैन। मिर्चया–कटारी–घुर्मी जोड्ने सिद्धिचरण लोकमार्ग नै ठाउँठाउँमा भत्केर जीर्ण भएका कारण बेतिनीबाट छुटेर शाहीडाँडा, पीपलभञ्ज्याङ, कुमालटार हुँदै जोडिने रूपाटार खण्डको सडक पनि विभिन्न ठाउँमा भत्के–बिग्रेकाले कटारी–ताप्ली आउजाउ गर्न समय साविकभन्दा दोब्बर लम्बिएको छ। उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडालगायतका विभिन्न वडाका स्थानीय सडक वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।

उसो त वर्षाले जिल्लाका ८ वटै स्थानीय तहका आन्तरिक सडक बिग्रेर यातायात आउजाउमा समस्या हुने गरेको छ। सदरमुकाम त्रियुगाकै पनि १४, १५, १६ र ५ नं वडाका विभिन्न आन्तरिक सडक भत्के–बिग्रेको अवस्था छ। सदरमुकामको नगरपालिका भएर पनि गाउँपालिकाभन्दा दुर्गम ठाउँसमेत त्रियुगामा पिछडा वडाका रूपमा रहेका छन्। ती वडाका सडकको अवस्था दुरुह रहेको छ। स्थानीय खोलाखोल्सी र खोंच पहाडका सडक भर्खर निर्माण भएर ग्राबेलसम्म गर्न नसकेका कारण स्थानीयलाई वर्षायाममा आउजाउमा समस्या पर्ने गरेको हो। त्यसमाथि वर्षामा ससाना खोलाखोल्सीमा आउने बाढीले स्थानीयलाई थप समस्यामा पार्ने गरेको छ।

कटारीकै पहाडी भेगका वडाहरू पनि उस्तै सडक समस्यामा छन् भने वर्षाले बेलका र चौदण्डीगढीका दुर्गम र पहाडी वडावासीलाई पारेको प्रभाव पनि कम दुःखदायी छैन। समग्रमा वर्षाले उदयपुरका ७५ प्रतिशत जिल्लवासीलाई सडक यातायात सुविधामा अवरोध खडा गरिदिएको स्थानीयको आकलन छ। सदरमुकाम गाईघाट, कटारी बजार, बेलटार र रामपुरबाहेकका वडावासीलाई वर्षाले जेठ–असारदेखि दसैं–तिहारसम्मै सडक बिगार्ने गरेका कारण हैरानी दिँदै आएको छ। गाउँगाउँमा सिंहदरबार नामका स्थानीय सरकार क्रियाशील रहे पनि कतै दम्भ र कतै बजेट अभाव त कतै स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय अभावमा सडकहरूको स्तरोन्नति विकास हुन नसक्दा जनताले यस्तो सास्ती भोग्नु परिरहेको गुनासो भुइँ तहका नागरिकको छ।

काम गर्नेका लागि पाँच वर्ष ठूलै अवसर हो। पहिलो वर्ष सिकाइ, दोस्रो वर्ष कामको सुरुवात, तेस्रो र चौथो वर्ष गरेको कामको पाँचौं वर्षमा परिणाम देखिनुपर्ने न्यूनतम विकास लक्ष्यको अवधारणा हो। त्यही अवधारणाअनुसार विश्व राजनीतिमा पाँचबर्से कार्यकालको पदावधि कायम गरिएको हो।

गाउँगाउँमा सिंहदरबार नामका स्थानीय सरकार क्रियाशील रहे पनि कतै दम्भ, कतै बजेट अभाव त कतै स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय अभावमा सडकहरूको निर्माण र स्तरोन्नति हुन नसक्दा जनताले यस्तो सास्ती भोग्नु परिरहेको आम गुनासो छ।

प्रकाशित: ६ श्रावण २०८० ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App