२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताए।

‘असल अभ्यासको आदानप्रदान गर्नुपर्छ। भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ। मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वस छ। थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ’, नगरप्रमुख महर्जनले भने।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उनले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदुःखमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने बताए।  

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्त्वपूर्ण भएको बताए। ‘राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ। प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ। यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्’, पूर्वसचिव उपाध्यायले भने।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताए। ‘भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु। दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ। कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु।’ अध्यक्ष अर्यालले भने। उनले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताए।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताइन।  ‘एक स्थानीय तह र अर्को स्थानीय तह राम्रो संस्कारको सुरुवात भएको छ। भगिनी सम्बन्धले सौहार्दता, सुमधुर सम्बन्धको विकास हुनेछ भन्ने अपेक्षा राख्दछु। यो सम्बन्ध चीरकालसम्म जीवन्त होस्, एकअर्कामा आधार सम्मान कामय होस्। यो भगिनी सम्बन्ध केवल समझदारी पत्रको लेनदेनमा मात्रै सीमित नहोस्।’ उपप्रमुख शाक्यले भनिन। उनले दुई पालिकाबीचको संस्कृति, परम्परा र उत्पादनमा सहकार्य कायम होस् भन्ने कामना गरिन।

प्रकाशित: २० असार २०८० १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App