२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।

फोहोरका कारण अस्पतालमा दुर्गन्ध फैलिने खतरा बढेको छ। अस्पतालभित्रको शव घर नजिकैको खाली जमिनमा खुला रुपमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिइरहेको हो। कुहिनेदेखि नकुहिने फोहोर एकै ठाउँमा राखिएको छ। प्रयोग गरिएका सिरिन्जहरूदेखि शल्यक्रिया गर्दा प्रयोग भएका औजार उपकरणहरूसमेत यत्रतत्र फालिएको अवस्था छ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको स्थानीय जयबहादुर बोहोराले बताए। उनका अनुसार फोहोरको दुर्गन्धले स्वस्थ मानिसहरूसमेत बिरामी हुने गरेका छन्। फोहोर भएको स्थानमा चराचुरुगीहरूदेखि कुकुरहरूसमेत आउने गरेकाले छरपस्ट देखिन्छ।

अस्पताल निर्देशक डा. राजिव शाह चार महिनादेखिको अस्पतालको फोहोर उठ्न नसकेको बताउँछन्। उनले भने, ‘फोहोर संकलन अस्पतालले गर्नुपर्ने हो। संकलित फोहोर नगरपालिकाले उठाउनुपर्ने हो तर चार महिनादेखि फोहोर जम्मा मात्रै भइरहेको छ। उठ्न सकेको छैन।’

उनका अनुसार फोहोर उठाउनका लागि नगरपालिकासँग सम्झौता भएको छ। १५ देखि २० वटा ट्याक्टर भरिने गरी अस्पतालको हाताभित्रै फोहोर थुप्रिएको उनको भनाइ छ। गर्मी सिजन सुरु भएको र वर्षा पनि भइरहेकाले फोहोरले अझै दुर्गन्ध फैलन सक्ने उनले बताए।

अस्पतालमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न समेत चन्दननाथ नगरपालिकालाई अस्पताल प्रशासनले आग्रह गरेको छ। पटक–पटक फोहोर उठाउन नगरपालिकासँग समन्वय भइरहेको छ। तर नगरपालिकाले फोहोर उठाउन मानिरहेको छैन। फोहोरका कारण ओपीडीमा उपचार गर्न आउने बिरामीदेखि अस्पताल हुँदै ओहोरदोहोर गर्ने नागरिकहरू प्रभावित हुने गरेका छन्। बिरामीहरूले नाक बन्द गरेर ओहोरदोहोर गरिरहनुपरेको गुनासो गरेका छन्। 

सदरमुकाम खलंगादेखि कर्णाली प्राविधिक शिक्षालयतिर जाने सडकछेउमै फोहोर थुप्रिएकाले आवतजावत गर्न कठिन भइरहेको स्थानीय बताउँछन्। अस्पतालको अधिकांश फोहोर जुगाडखोलामा समेत फाल्ने गरिएको छ।  

यता चन्दननाथ नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइड नभएकाले फोहोर उठाउन नसकिएको जनाएको छ। नगरपालिकालाई सदरमुकाम खलंगा बजारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे छ। अस्पतालको फोहोर उठाउनेतिर ध्यान नै गइरहेको छैन। फोहोरले दुर्गन्ध फैलिएकाले छिटोभन्दा छिटो फोहोर उठाउन स्थानीयले आग्रह गरेका छन्।

अस्पताल प्रशासनका अनुसार फोहोर दैनिक रुपमा उठाउने र फोहोर उठाए वापत मासिक ६ हजार रुपैयाँ उपलब्ध गराउने नगरपालिकासँग सम्झौता भएको छ। सम्झौता अनुसारको रकम गइरहे पनि फोहोर उठिरहेको छैन। अस्पतालसँग फोहोर व्यवस्थापनको कुनै विकल्प नभएपछि नगरपालिकासँग सम्झौता भएको अस्पतालले जनाएको छ।

नगरपालिकाले फोहोर नउठाइदिएपछि तत्कालका लागि चेरेचौरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा खाडल खनेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा समेत छलफल भइरहेको छ। आगामी दिनमा नगरपालिकासँग बसेर फोहोर उठाउनेबारे गहन छलफल अघि बढाउनेसमेत अस्पतालले योजना बनाइरहेको छ।

प्रकाशित: १८ वैशाख २०८० १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App