२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कुनै पनि हालतमा संसदीय व्यवस्थामा आत्मसमर्पण गर्दिन: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आफू कुनै पनि  हालतमा संसदीय व्यवस्थामा आत्म समर्पण नगर्ने बताएका छन्। उनले आफनो पार्टी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको पक्षमा नरहेको भन्दै संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने बताए। 

कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढिमा मंगलबार नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले सो कुरा बताएका हुन्। महासचिव चन्दले यस पटकको संसदीय चुनाव खारेज गर्नुपर्ने बताए।  

प्रचण्ड, बाबुरामको बिसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिको झण्डा उठाएको उनले बताए। नवौँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनै पनि हालतमा दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण नगर्ने उनले दृढतासहित व्यक्त गरे। महासचिव चन्दले दलाल पुँजीवाद भत्काउँदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको बताए। एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्योति बोकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छोड्ने उनले दाबी गरे। ‘नवौँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ।’ उनले भने। उनले लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी रहेको बताए।  

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बिसर्जनवादको चपेटाबाट क्रान्तिलाई जोगाउन विप्लव सफल भएको बताए। उनले वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले एउटा क्रान्तिको बिसर्जनपछि अर्को क्रान्तिको जग हाल्ने कुरा सामान्य नभएको बताए। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष विनोद उपाध्याय, राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दिर्घ पाण्डे, प्रगतिशील कानुन व्यवसायी संघका अध्यक्ष एकराज भण्डारी, जनअधिकार अभियान मञ्चका उपाध्यक्ष देव बहादुर पौडेल लगायतले मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन प्रवक्ता प्रकाण्डले गरेका थिए भने स्वागत मन्तव्य सचिवालय सदस्य सन्तोष बुढा मगरले राखेका थिए।  

मंगलबार देखि असोज ३१ गतेसम्म चल्ने महाधिवेशनको नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले डिजिटल प्रविधिमार्फत ब्यानर खोलेर, ड्रोन मार्फत ब्यानरसहित पुष्पवृष्टि गरेर ९ औँ महाधिवेशनको उद्घाटन गरका थिए। पार्टीका महासचिव विप्लव लगायत केसन्द्रय समिति, प्रतिनिधि तथा जनसमुदायहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्दा राता ड्रेसमा सुसच्जित युवाहरूको दस्ताले परेड तथा सलामी अर्पण गरेका थिए। महाधिवेशनमा देशभर तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा रहेका संगठनका प्रतिनिधि गरि साढे सात सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App