२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आज भारत जाँदैः यस्ता छन् प्राथमिकता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका देउवाको भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुई पक्षीय संयन्त्रहरूको सञ्चालन तथा बिटुबी र पिटुपी सम्बन्धजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

नेपालको प्राथमिकतामा परेका विषय भारतको प्राथमिकतामा पर्छन् वा पर्दैनन् भन्ने निश्चित नभएकाले नेपालको अजेन्डा के हुन्छ भन्ने सार्वजनिक गरिएको छैन। ‘हाम्रो प्राथमिकतामा धेरै कुरा छन्। हाम्रो प्राथमिकता र अजेन्डामा परेका विषयमा भारत छलफल गर्न सहमत हुन्छ भन्ने छैन। त्यसैले अहिले नै यही विषयमा छलफल हुने भन्ने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रधानमन्त्री देउवाको भ्रमणमा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल–वीरगन्ज–काठमाडौं रेल लाइन विस्तारलगायतका कतिपय महत्वपूर्ण विषयमा छलफल हुनसक्ने जनाइएको छ। प्रधानमन्त्रीको भ्रमणले लामो समयदेखिको दुई देशबीचको संवादहीनता तोडिने र सम्बन्ध सुधारको वातावरण बन्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिकाअनुसार जयशंकरले शुक्रबार साँझ साढे चार बजे प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन बिहान देउवाले समकक्षी मोदीसँग हैदारावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेट गर्ने कार्यक्रम रहेको छ। देउवा र मोदीबीच बिहान ११ः१० मा प्रतिनिधिमण्डलस्तरीय कुराकानीपश्चात् १२ः१५ बजे विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ।

सोही दिन साँझ उनले उपराष्ट्रपति एम वेनकाइया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। देउवाले शनिबार साँझ साढे चार बजे उपराष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहेको छ।  प्रधानमन्त्री देउवासँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि भेट वार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै देउवाले भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्। देउवाले नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।  

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी आरजु, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसालसहित उच्चस्तरीय भ्रमणमा जाँदैछन्। देउवाले गत असारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि हुन लागेको यो पहिलो भारत भ्रमण हो। यसअघि उनी जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको सम्मेलनमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गोमा गएका थिए। उक्त भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायत विश्व नेताहरूसँग साइडलाइन भेट गरे पनि औपचारिक भ्रमण भने हुन सकेको थिएन।

प्रकाशित: १८ चैत्र २०७८ ००:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App