२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन्छु: निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन्।  

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन्।  

उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे। आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे।  

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए। आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए।  

उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए। उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए।

प्रकाशित: ११ भाद्र २०७८ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App