२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गाउँपालिका उपाध्यक्षले गरे गाउँसभा बहिस्कार, बहिस्कारका वावजुद गाउँसभा सम्पन्न

बजेट विनियोजनका विषयमा असहमति जनाउँदै खोटाङको साकेला गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का लगायतले गाउँसभा बहिस्कार गरेका छन्।

 गाउँपालिका अध्यक्ष अर्जुन खड्काले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकमा अनावश्यक हस्तक्षेप गर्दै एकलौटी बजेट ल्याउन खोजेको आरोप लगाउँदै उपाध्यक्ष खड्कासहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई र रेनुका कट्वालले बिहीबारको गाउँसभा बहिस्कार गरेका हुन्।

गाउँसभा बहिस्कार गर्ने उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। गाउँसभा बहिस्कार गर्दै बाहिरिएका उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै कार्यपालिकाको बैठकसमेत नराखी मनोमानी ढंगबाट अराजनितीक र अलोकतान्त्रिक कुशासन स्थापना गर्ने दुस्साहस गरेको भन्दै खेद व्यक्त गरेका छन्। 

माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष खड्काले बहुमतको दम्भ देखाएर चुनाव लक्षित बजेट तथा कार्यक्रम ल्याउन खोजेकाले आफूहरुले गाउँसभा बहिस्कार गर्नुपरेको उपाध्यक्ष खड्काले बताइन्। गाउँपालिकाका केही कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता भएको सवालमा पटक–पटक आवाज उठाउँदा कुनै जवाफ नदिइएको, गाउँपालिकाको सवारी इन्धनमा मनोमानी गरिएको विज्ञप्तीमा उल्लेख छ। यद्यपी, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिमार्फत् बेलामा योजना तथा कार्यक्रम ल्याउन ढिलाइ भएपछि गाउँपालिका अध्यक्ष आफैले योजना तथा कार्यक्रम प्रस्ताव गरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएको जनाइएको छ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिए पनि बहुमतका आधारमा आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको छ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आर्थिक वर्ष २०७८/०८९ का लागि शिर्षक नतोकी ‘अवण्डा’ रकम पारित गर्न प्रस्ताव राखिएको भन्दै असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्य बिरोधमा उत्रिएका थिए। नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा मंगलबार बसेको नगरपालिकाको बैठकमा नगरप्रमुख दिपनारायण रिजालले योजनाको नाम, प्रस्तावित वजेट र सञ्चालन हुने स्थान नतोकी एकमुष्ट ४ करोड ३१ लाख बजेट पारित गर्न प्रस्ताव गरेपछि १५ वडामध्ये कांग्रेस, माओबादी केन्द्र, जसपा र राप्रपाबाट निर्वाचित नौ वडाध्यक्ष र दुई कार्यपालिका सदस्य बिरोधमा उत्रिएका थिए । यद्यपी, मेयर र असन्तुष्ट वडाध्यक्षबिचमा बुधबार सहमति भएपछि बिहिबारको नगरसभा सञ्चालन भइरहेको छ।

प्रकाशित: १० असार २०७८ १३:०५ बिहीबार

बजेट विनियोजन