२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस रोल्पाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानालाई ज्ञापनपत्र बुझाउदै रोल्पा कांग्रेस । तस्बिर : दिनेश/नागरिक

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस रोल्पाले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउदै कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको हो ।

मंगलवार जिल्ला प्रशासन कार्यालयमा पुगेर कांग्रेसले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मार्फत ज्ञापनपत्र पठाएको हो । ‘चैत ११ गतेदेखि सुरुभएको लकडाउन संक्रमण जटिल बन्दै गर्दा असारको १ गतेदेखि खुकुलो गरिएको छ । कोरोना संक्रमित संख्या जिल्लामा बढ्दै गएकाले थप त्रास र चुनौति थपिएको छ ।’ रोल्पा कांग्रेस काबा सभापती किशोर कुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेपनि सरकार एकलौटी रुपमा अघि बढ्दा जटिल अवस्थाको सिर्जना भएको छ । जटिल परिस्थीतिमा सरकारले तत्काल गर्नुपर्ने कामहरु र दिर्घकालिन प्रभाव र सरकारको खेल्नुपर्ने भूमिका बारेमा कांग्रेसले ज्ञापनपत्रमार्फत सुझाव दिएको नेपाली कांग्रेस रोल्पाका काबा सभापति किशोर आचार्यले जानकारी दिएका छन् ।

कोरोना नियन्त्रण गर्न सरकार असफल भएको कांग्रेसले विपक्षी दलहरुसँगै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत जनताको सहयोग लिएर कोरोना नियन्त्रणमा अघि बढ्न समेत आग्रह गरेको छ । कोरोना परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टिनमा रहेकाको कोरोना परीक्षण गर्न कीटको अभाव हुनुलगायतका कारण नेपालमा पछिल्लो समय दिनप्रतिदिन कोरोनाका संक्रमित बढिरहनुले सरकार असफल भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइसोलेसन सेन्टरसंगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि गर्नुपर्ने, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा क्वारेन्टिनमा राखेर स्वास्थ्य उपचार गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्कर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मीलगायतको व्यक्तिगत सुरक्षासँगै प्रोत्साहित गर्ने नीति तथा योजनाहरु ल्याउने, भारतबाट आएको मानिसहरुको पिसिआर परीक्षण गरेर मात्र घर जाने वातावरण बनाउनुपर्ने,स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, कमिसन र भ्रष्टाचार गर्नु आपत्ति जनक रहेको भन्दै संलग्नलाई कारवार्ही गर्न समेत माग गरेका छन् ।

त्यस्तै रोल्पा कांग्रेसले गंगादेब गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रिको दुईवटा नागरिकताका विषयमा समेत प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गरेको छ । सिडिओको अधिकार क्षेत्रमा रहेका उक्त विषय लुकाउनका लागि गृह मन्त्रालयले दोहोरो नागरिकताको फाईल दुई वर्षयता मन्त्रालयमै थन्काएर राखेको कांग्रेस रोल्पाको आरोप छ । ज्ञापन पत्र बुझे संगै प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले आफूले उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका थिए ।

प्रकाशित: २ असार २०७७ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App