२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अब त अति भयो, निर्मलाका हत्यारा चाँडो पत्ता लाग्नुपर्छ : उप मेयर चन्द

भीमदत्त नगरपालिकाकी उप प्रमुखमा निर्वाचित सुशीला चन्द सिंह न्यायिक समिति, राजश्व परामर्श समिति, अनुगमन, छाडा पशु चौपाया व्यवस्थापन नियन्त्रण समितिको संयोजक हुन्। स्थानीय तह निर्वाचनको एक वर्षको विकास निर्माणका स्थिती, योजना, कार्यक्रम र चुनौती लगायतका विषयमा उप मेयर चन्दसंग निर्मला हत्या काण्ड र समसामयिक बिषयमा नागरिकका संवाददाता राजेन्द्र भट्टले गरेको कुराकानीः 

निर्मला हत्या र बलात्कारबारे के भन्नु हुन्छ ? 

नाबालिकाको बलात्कारपछि हत्या हुनु गम्भीर कुरा हो। यसमा नगरपालिका गम्भीर छ। निर्मम तरिकाले यो घटना भएको छ। छिटो भन्दा छिटो यस घटनाको वास्तविक अपराधी पत्ता लाग्नु पर्छ। यतिका छानविन समिति आए पनि अहिलेसम्म पत्ता नलाग्नु दुःखदायी हो। 

अहिलेसम्म अपराधी पत्ता नलाग्नुको कारण के होला ? 

अनुसन्धानका लागि चार उच्चस्तरीय टोली आइसके। अपराधी पत्ता लागोस भन्ने सबैको कामना छ। अब त अति भयो। दुई महिना नाघिसक्यो। 

अनुसन्धान सहि भए जस्तो लाग्छ?

यति समय नलाग्नु पर्ने हो। सबै जनताको ध्यान यसै घटनामा केन्द्रीत छ। जहाँ पनि यहि घटनाको कुरा सुन्नमा आउँछ। अनुसन्धानमा केही त्रुटी भएको जस्तै लाग्छ।

भीमदत्त नगरपालिकामा नगर उप प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष पुग्यो। यो एक वर्षमा के कस्ता उपलब्धि हासिल गर्नु भयो त?

स्थानीय तह निर्वाचन भएर जिम्मेवारी लिएको वर्ष दिन बितेको छ, निर्वाचनमा गरिएका वाचा प्रतिवद्धता अनुसारका काम गरेका छौं। जति वाचा गरेका थियौं, ती सबैमा जनता सन्तुष्ट हुनु हुन्न। जनताको इच्छा आकांक्षा धेरै छन्। वर्ष दिनको अवधि सानो हो। स्थानीय तह नयाँ भएकाले सुरुमा कानुन अभावले पनि समस्या पर्न गयो। कानुन अभावमा पनि काम गर्न केही ढिलो हुन पुग्यो। त्यसका लागि अहिले आवश्यक पर्ने ऐनकानुन बनाएका छौं। अहिलेसम्म ३१ कानुन बनाएका छौं। आवश्यकता अनुसार निर्माण गर्दै आएका छौं। अहिले नगरपालिकाले तयार पारेका ऐन कानुनमा रहेर काम गरिरहेका छौं। चुनाव भएको ६ महिनासम्म कानुन प्राप्त नभएर पनि समस्या देखियो। त्यहाँसम्म अन्यौलता नै थियो। त्यसपछि विस्तारै सहजता हुन थाल्यो। नगरपालिकामा विकास निर्माणका कार्यलाई अघि बढाएका छौं। सबै जनप्रतिनिधिले सहकार्य र समन्वय गरी गइरहेका छौं। अझ चार वर्ष बाँकी छन्। पहिलो वर्षमा सुरु गरिएका कार्यलाई निरन्तरता दिदैं आगामी वर्ष सबै नयाँ योजनाका साथ काम गर्नेछौं। पाँच वर्षमा चुनावमा जनतासामु गरिएका वाचा पूरा गर्ने वाचा दोहो-याउन चाहन्छौं।

काम गर्ने क्रममा के कस्ता समस्या भोग्नु प-यो ?

हामीले चुनावको क्रममा जनतासँग विभिन्न प्रतिबद्धता गरेका थियौं। स्थानीय सरकारमा पहिलो पटक निर्वाचित भएकाले काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो। निर्वाचित हुँदा आफ्ना काम कर्तव्य कसरी गर्र्नेे, कसरी ऐन कानुन बनाउने लगायतका काम कसरी गर्ने भन्ने लागेको थियो। तर अहिले निर्वाचित भएको एक वर्ष भयो सबै कुरा बुझिरहेका छौं। अहिले सबै कुरा बुझ्दै जाँदा काम गर्न सहज भएको छ। अहिले पनि कतिपय कानुनले पूर्णता पाएको छैन्। कानुनले पूर्णता नपाउँदा काम गर्न केही समस्या त भएका छन्, त्यसका बाबजुद पनि नेपाललाई समृद्ध बनाउन लागि परेका छौं। यसमा सबै नगरवासीको साथ र सहयोग छ। यो आगामी दिनमा पनि निरन्तरता पाउने आशा लिएर अघि बढेका छौं। नगरवासिन्दामा पनि हाम्रो नगरलाई राम्रो बनाउनुपर्छ भन्ने भावना छ। सबै पक्षको साथ र सहयोग पाउँदा समस्याहरु समाधान गर्न खास अप्ठेरो अवस्था आएको छैन्। 

एक वर्षका महत्वपूर्ण काम चाँहि के छन् त ?

हाम्रो लागि नगरपालिकाले गरेका सबै काम महत्वपूर्ण छन्। जनताको चाहना अनुसारका काम गरेका छौं। जनता पनि हामीले गरेका कामप्रति सन्तुष्ट छन्। नगरपालिकाले एक वर्षको अवधिमा  ऐन कानुन निर्माण, विभिन्न खोला, नालामा पुल निर्माण, बजार क्षेत्रलाई सुरक्षित बनाउन सिसिटिभी जडान र लो भोल्टेजको समस्या भएका क्षेत्रमा ट्रान्समिटर जडान गरेर समस्या सामाधान गर्न १५  ट्रान्समिटर खरिद गरिसकेका छौं। नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरसँग समन्वय गरी जडान गर्छौं। चक्रपथ निर्माणको कार्य अगाडि बढेको छ। नगर क्षेत्रमा यातायातका साधनलाई व्यवस्थापन गर्न आधुनिक बस पार्क निर्माण सम्पन्न भएको छ भने भू–उपयोग नीति अनुसार आवासीय क्षेत्र, सपिङ्ग कम्प्लेक्स, साना उद्योग तथा व्यवसायिक क्षेत्र, शैक्षिक तथा अन्य क्षेत्र छुट्याएर सब्जीमण्डी रहेको स्थानमा सपिंग मल बनाउने कार्यका लागि गुरुयोजना निर्माण भएको छ। नगरपालिकाका सबै वडामा नयाँ तथा पुराना बाटो विस्तार तथा मर्मत गरिएका छन्।

स्थानीय तहको निर्वाचनमा छाडा छौपाया व्यवस्थापनलाई प्राथमिकतामा राख्नु भएको थियो। छाडा चौपाया नियन्त्रण गर्नु भयो?

भीमदत्त नगरपालिकालगायत कैलाली कञ्चनपुरमा छाडा चौपायाको समस्या थियो। चुनावमा जनतासँग हामी निर्वाचित भएपछि छाडा चौपाया नियन्त्रण गर्छौं भनेका थियौं। सोही प्रतिबद्धता अनुसार छाडाचौपाया नियन्त्रणको कार्य अन्तिम चरणमा पुगेको छ। छाडाचौपाया व्यवस्थापनका लागि आवश्यक पर्ने जमिन नपाउँदा ढिलाई भयो। अहिले हामीले भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटामा जमिन भाडामा लिई गौशाला निर्माण गरेर छाडाचौपाया नियन्त्रण गरिरहेका छौं। नगरपालिकाका १९ वडामा रहेका घर पालुवा जनावरमा ट्याग लगाएका छौं। छाडा रहेका चौपायालाई केही दिनमै गौशालामा राख्छौं।

तपाई निर्वाचित भएर नगरपालिका आउँदा अवस्था कस्तो थियो?

त्यो बेला र अहिले तुलना गर्दा धेरै नै फरक भइसक्यो। त्यो बेला नगरपालिका कर्मचारीले कार्यालय सञ्चालन गरिरहेका थिए। अहिले हामी जनताबाट निर्वाचित भएर आएका छौं। जनताका पीडा बुझेर आएका छौं। जनताका के समस्या छन्, ती समस्या कसरी समाधान गर्न सकिन्छ भनेर जनप्रतिनिधिले छफफल गरी योजना बनाएर गएका छन्। त्यति बेला अहिलेको भन्दा धेरै नै फरक थियो। अहिले विकास निर्माणले पनि गति लिएको छ। कर्मचारीलाई नीतिगत रुपमा काम गर्न सहज भएको छ। सुशासनका हिसाबले पनि आकाश र पातालजति फरक छ।

नगर प्रमुख तत्कालिन एमाले र तपाई कांग्रेसबाट निर्वाचित हुनु हुन्छ। पार्टी फरक–फरक हुँदा काम गर्न कतिको सहज छ ?

हो, हामी चुनावमा फरक राजनीतिक पार्टीबाट आ–आफ्ना घोषणा पत्रमा चुनाव लडेका थियौं। अब अहिले नगरपालिकामा पार्टीका रहेनौ। हामी जनताको प्रतिनिधि भयौं। भोट दिने र नदिने सबैको प्रतिनिधि हौं। त्यसैले पार्टीगत रुपमा अप्ठेरो पर्ने कुनै कुरै नै छैन। नगरपालिकमा नियम अनुसार जनप्रतिनिधिलाई जिम्मेवारी बाँडफाँट गरिएको छ। नीति तथा कार्यक्रम जनप्रतिनिधिलाई समावेश गरी निर्माण गरिएका छन्। नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र सदस्यका जिम्मेवारी फरक–फरक छन्। हामी सबै आ–आफ्नो काम गरिरहेका छौं। पार्टी हिजोका दिनमा फरक थियो। आज हामी जनताका साझा व्यक्ति भएका छौं। सबैसँग समन्वय तथा सहकार्य गरेर काम गरेका छौं। 

न्यायिक समितिको जिम्मेवारी पनि बहन गरिरहनु भएको छ । न्यायिक समितिका कस्ता मुद्दा आए त ? 
 
बढी जसो घरेलु हिंसा, महिला हिंसा, जग्गाको विवाद लगायतका समस्या लिएर नगरवासी न्यायिक समितिमा आउँछन्। हामीले सुझाव, सल्लाह दिएर विवाद मिलाउने गरेका छौं। न्यायिक समितिलाई कानुन बारेमा पूर्ण जानकारी छैन्। यसले गर्दा कार्य सम्पादनमा समस्या हुने गरेको छ। अहिलेसम्म विभिन्न प्रकारका २८ वटा मुद्दाको न्यायिक समितिले मेलमिलाप गरिसकेको छ। न्यायिक समितिलाई कानुन अधिकृतको आवश्यकता छ। कानुन अधिकृत भयो भने कार्य सम्पादन गर्न सहज हुन्छ।

यस्ता समस्या घटाउन नगरपालिकाले के गर्दैछ त ? 

जग्गा सम्बन्धी देखिएका समस्या प्रदेश सरकार र केन्द्र सरकारले समाधान गरी दिनु पर्छ। यसको लागि हाले प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिरहेका छौं। यो समस्या हटाउन नीति नियम बनाउनु आश्यक छ। जनचेतना पनि फैलाउँछौं। जनप्रतिनिधिसँग छलफल गरी समस्या समाधान गरिरहेका छौं। 

तपाई अनुगमन समितिको संयोजक पनि हुनु हुन्छ । निकास निर्माणको अवस्था के छ? 

हामी नगरमा आएपछि सञ्चालन गरेका योजना स्टमेट अनुसार नै अघि बढिरहेका छन्। पुराना योजना गुण्स्तरीय छैनन्। हामीले नगरपालिका सञ्चालन गर्नु पूर्व राजनीतिक दबावका आधारमा योजना निर्धारण गरिएका थिए। ती योजनाहरुमा ढिलासुस्ती भएको छ। ती योजनालाई पनि गुणस्तरीय बनाएर सम्पन्न गरिरहेका छौं। जनप्रतिनिधि आएपछि बनाइएको योजनालाई गुणस्तरीय बनाउन लागि परेका छौं। 

राजश्व परामर्श समितिले कसरी काम गरिरहेको छ ? 

सबै नगरवासी, व्यापारीलाई करको दायरा ल्याउने योजनाका साथ काम गरिरहेका छौं। सबैलाई राजश्वको दायरमा ल्याउन समस्या छ। सूचिकृत कसरी गर्ने भन्ने चुनौती छ। 

स्थानीय तह निर्वाचनमा सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा अघि सारिएको थियो, यो नारा कार्यान्वयन भयो त ? 

नयाँ संरचनामा भएकाले कतिपय कानुनी समस्या, कर्मचारी अभाव र भौतिक संरचनाको अभावले सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगाउन अलि ढिलो भयो। योग्य कर्मचारीको आवश्यकता धेरै छ। स्थानीय सरकारलाई कर्मचारी भर्ना गर्ने अधिकार दिएको छैन्। तै पनि अहिले हामीले १९ वटै वडामा वडा कार्यालय खोलेका छौं। नगरपालिकाको उपस्थिति हरेक टोलमा पुगेको छ। वडावडाबाटै हामीले नागरिकका माग सम्बोधन गरेका छौं। 

विकास सबै टोलमा पुगेको छ । भीमदत्तलाई समृद्ध नगर बनाउन के गर्दै हुनु हुन्छ?

नीति नियमको आवश्यकता छ। आवश्यक नीति नियम बनाइरहेका छौं। नीति नियममा रहेर नगरको मुहार फेर्छौं। गुरु योजना बनाएर अगाडि बढिरहेका छौं। नगरमा रहेका प्रमुख समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं।

अन्त्यमा नगरवासीलाई के ही भन्नु छ ?

जनताका आवश्यकता धेरै छन्। तर नगरपालिकासँग सिमित बजेट तथा स्रोत साधन छन्। अन्य नगरपालिका तथा गाउँपालिकाको तुलनामा हामीले धेरै काम गरेका छौं। जसरी नगरवासीले हामीलाई विश्वास गरेर जिताएका हुन्। जनचाहना अनुसार काम गर्छौं

प्रकाशित: २४ आश्विन २०७५ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App