२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेसँग गठबन्धन गर्न कांग्रेस एक ढिक्का, राजनीतिक सुधारको सकारात्मक कदम

आधिकारिक निर्णयका लागि कार्यसम्पादन बैठक बोलाइयो नेकपा एमालेसँगको गठबन्धनमा नेपाली कांग्रेस एक ढिक्का देखिएको छ।

सोमबार मध्यरातमा भएको सहमतिपछि मंगलबार बिहान बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सहभागी सबैजसो नेताहरू एकमत देखिएको हो।

‘अहिले विकसित घटनाक्रमपछि आपसी छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बसिएको हो। यद्यपि यो पार्टीको आधिकारिक फोरम थिएन,’ बैठकपछि नागरिकसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘बैठकमा सहभागी सबैजसो नेताहरूले राम्रो भयो भन्नुभएको छ। आधिकारिक निर्णयका लागि भोलि९बुधबार० कार्यसम्पादन समितिको बैठक डाँकिएको छ।’

पदाधिकारी बैठकमा सहभागी नेताहरूबाट राजनीतिक सुधार र आर्थिक जटिलताको समाधानका लागि यो समीकरण बन्नु जरुरी रहेको निष्कर्ष आएको प्रवक्ता महतले बताए।

‘राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न ठुला दल मिल्नु जरुरी थियो भन्ने कुरा बैठकमा उठ्यो,’ उनले भने, ‘राजनीतिक अस्थिरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना पनि छ। अहिले देखिएका जल्दाबल्दा मुद्दामा जनताको चासो र चिन्तालाई केन्द्रमा राखेर यो समीकरण बन्नुपर्ने आवश्यकता देखिएको कुरा पनि आयो।’

संविधान निर्माण र कार्यान्वयनमा हालसम्मको अनुभव र समीक्षाबाट राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गरेर व्यवस्थालाई बलियो बनाउन गठबन्धन गरिएको पनि कांग्रेसले जनाएको छ।

यस्तै राष्ट्रिय सहमति निर्माण गर्न अन्य दलहरूसँग पनि छलफल गर्ने निष्कर्ष कांग्रेसको छ। ‘संविधान संशोधनको कुरा हामीले उठाएको छौँ। जसमा अन्य दलको सहयोग पनि चाहिन्छ। यसैले छलफलका माध्यमबाट राष्ट्रिय सहमति कायम गर्ने गरी अघि बढ्ने पनि नेताहरूको मत आयो,’ महतले भने।

प्रकाशित: १८ असार २०८१ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App