२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

गिरिजाको आज शताब्दी जन्मजयन्ती, कांग्रेसले फोटो प्रदर्शनी गर्दै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

वि.सं. १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उनको जन्म भएको थियो। वि.सं.२००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए। उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए।  

कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहे। वि.सं. २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२/२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बने।

कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रमको आयोजना गर्न लागेको छ।

कार्यक्रमको पहिलो सेसनमा फोटो प्रदर्शनी हुने कांग्रेसले जनाएको छ।

कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुने उनले बताए।

‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहने छन्। उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन्।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ। उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन्। ’समुन्नतिको दोस्रो जग’ विषयको बहसको सहजीकरण अर्थविद् डा. विश्व पौडेलले गर्नेछन्।

कार्यक्रममा प्रमुख दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ।

प्रकाशित: १८ असार २०८१ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App