२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एस महाधिवेशन: ओली अनुपस्थितिमा लोकतन्त्रको चिन्ता

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आइतबार एकै ठाउँमा उभिएर लोकतान्त्रिक गणतन्त्रको चिन्ता व्यक्त गरेका छन्। एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १०औं महाधिवेशन उद्घाटन सत्रमा शीर्ष नेताहरूले लोकतन्त्रप्रति चिन्ता व्यक्त गरेका हुन्। उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। ओली मात्र होइन, एमालेका अरू कोही पनि उद्घाटन सत्रमा सहभागी भएनन्। प्रतिनिधिसभामा प्रतिनिधित्वको हिसाबले एमाले मुलुकको दोस्रो ठुलो दल हो।

नेकपा एसको अध्यक्ष नेपालले पार्टी विभाजनको घाउ आलो भएकाले ओली नआएको अनुमान लगाए । नेपालले महाधिवेशन उद्घाटन सत्रमा उपस्थितिका लागि आफूले धेरैपटक ओलीलाई फोन गरेको तर नलागेपछि सन्देश पठाएको बताउँदै राजनीतिमा घृणा भाव राख्न आवश्यक नभएको तर्क गरे।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले ओलीको नाम नलिई विगतमा संसद् विघटन गर्नेहरूले फेरि पनि संसद् विघटन गर्देलान् नि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई खबरदारीसमेत गरे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै दलका शीर्ष नेताहरूले लोकतान्त्रिक व्यवस्थाप्रति प्रश्न उठाउन पाइने तर यसलाई तहसनहस पार्न नपाइने बताए।

उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र वर्तमान संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन स्थापित गर्नुपर्ने धारणा राखे। महाधिवेशन सफलताका लागि शुभकमना दिन पुगेका शीर्ष नेताले नेकपा एसको राजनीतिक प्रतिवेदनमा मञ्चबाटै असन्तुष्टि प्रकट गरे। राजनीतिक प्रतिवेदनमा आफूलाई ‘अस्थिर चरित्र’ को व्यक्ति भनेर टिप्पणी गरिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि पोखे। 

असन्तुष्टि पोख्नेक्रममा प्रधानमन्त्री दाहालले आफ्ना गतिविधि अस्थिर नभई गतिशील रहेको दाबी गर्दै बढी समय राजनीतिक प्रतिवेदनमै खर्चे। ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रियामा गयो, प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो,’ प्रचण्ड नामलेसमेत चिनिने दाहालले भने, ‘प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो।’  

दाहालले गतिशीलता भनेको के हो, द्वन्द्वात्मक भौतिकवादमा हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ भनेको के हो भन्दै सबैलाई प्रश्न गरे। ‘किलोजस्तै ठोकिएर बस्नु माक्र्सवाद हो कि ? जमेको पोखरीजस्तो माक्सैवाद हो कि ? गडगडाउँदो नदीजस्तो माक्र्सवाद हो कि ? तपाईं सबैले विचार गर्नुपर्छ भन्छु,’ दाहालल भने, ‘माक्र्सवाद जमेको पोखरीजस्तो होइन, एउटा कुरा भनेपछि भन्यो–भन्यो । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु माक्र्सवाद हो।’  

दाहालले नेकपा माओवादी र त्यो आन्दोलनमा जोडिएका व्यक्ति एक ठाउँमा अडिएर बस्ने भन्ने नहुने पनि बताए। ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन, हामी दौडिराख्या हुन्छौं, दौडिराख्या हुन्छौं तर त्यो दौडाइ ठिक या गलत भन्ने सवाल मुख्य कुरा हो,’ उनले भने। उनले दौडाइबाट नेपाल अगाडि बढ्यो, सामन्ती निरंकुशतन्त्रबाट देश गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन, युद्धबाट शान्तिमा जानु गतिशीलता हो, अस्थिरता र अराजकता होइन भन्दै नेकपा एसको राजनीतिक प्रतिवेदनको आलोचना गरे।  

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको औंल्याउँदै संघीय लोकतन्त्र नै अहिलेको आवश्यकता भएको बताए। उनले नेकपा एसले स्थापनाको छोटो समयमै नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा पनि माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देउवाले स्मरण गरे।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा पर्दैगर्दा शीर्ष नेताहरूले चिन्ता मान्नुपर्ने अवस्था नभएको जिकिर गर्दै आफूलाई अलि बेग्लै खालको राजनीतिकर्मी भएको देखाउन खोजे। उनले नेताले होइन, जनता र कार्यकर्ताले नै खतरामा परेको लोकतन्त्र जोगाइदिने ठोकुवा गरे। 

‘लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नु पर्दैन, लोकतन्त्रमा खतरा भए जोगाइदिने जनता छन्, कार्यकर्ता छन्, नेताहरूले चिन्ता गर्नु पर्दैन,’ उनले भने, ‘नेताहरूले साँच्चै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले आजसम्म ठुलाठुला युनिभर्सिटी बनेनन्, कसरी बनेनन् कतै सर्वदलीय बैठक बोलाएको सुनेका छौं, छैनौं।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको टिप्पणी गरे। उनका अनुसार स्वेच्छाचारीतन्त्र बढेकाले लोकतन्त्र कमजोर बन्दै गएको हो। उनले शासकहरूका कारण मुलुकको अन्तर्राष्ट्रिय छवि पनि बिग्रेको बताए।  

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रलाई जसरी अगाडि बढाउनुपथ्र्यो त्यस्तो हुन नसकेको बताए। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विभाजन रोक्न समावेशी र न्यायपूर्ण समाज निर्माणमा सबैको योगदान हुनुपर्ने बताइन्। जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले पनि लोकतान्त्रिक व्यवस्था र समाजवादको बारेमा चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: १७ असार २०८१ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App