१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन।

शनिबार (असार १५) को धान दिवस मनाउन शुक्रबार चितवन पुगेका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए ।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ’, प्रधानमन्त्री दाहालले भने। पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने– ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ।’ समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको प्रधानमन्त्री दाहाललको भनाइ थियो।

कृषकले  पाउनुपर्ने दूधको भुक्तानीमा सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए। कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो। धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए।

प्रकाशित: १४ असार २०८१ १९:२१ शुक्रबार

#Prime Minister Pushpa Kamal Dahal #Paddy Day