२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लेकवेशीले विद्यालयमा मगर भाषा पढाउने

सुर्खेतको लेकवेशी नगरपालिकाले मगर भाषाको पाठ्यक्रम तयार गर्ने भएको छ। यहाँ झण्डै पचास प्रतिशत जनसंख्या मगर समुदायको छ।

मेयर उमेश पौडेलले १५ औं नगर सभा अधिवेशनमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि मगर भाषाको पाठ्यक्रम तयार गरेर कार्यान्वयनमा ल्याइने उल्लेख गरे।

यस्तै, दिवा खाजामा एकरुपकता ल्याउने नीति पनि नगरपालिकाले ल्याएको छ। ‘विद्यालयमा स्थानीय उत्पादनमा आधारित दिवा खाजाको व्यवस्था गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ, ‘त्यसका लागि पालिकाभरिका विद्यालयहरूमा एउटै मेनु प्रयोग गर्ने व्यवस्था मिलाइनेछ।’

पालिकाले विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुलाई बस सेवा सञ्चालनका लागि प्रोत्साहन गर्ने पनि जनाएको छ। 

नगरपालिकाले पालिकाभित्रका झोलुङ्गे पुलको सुरक्षाका लागि पुल हेरालु राख्ने भएको छ। ‘पुलको मर्मत संभार गर्न र त्यसको सुरक्षाका लागि आगामी आर्थिक वर्षदेखि हेरालु राख्ने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

नगरपालिकाले प्लाष्टिकका झोला विस्थापन गर्नका लागि ‘म पनि बजार जाने, मेरो झोला नि लाने’ नीति ल्याएको छ। ‘दैनिक प्रयोग हुने प्लाष्टिक झोलाले पर्यावरणका साथै कृषि उत्पादनमासमेत असर पर्ने भएकाले प्लाष्टिकका झोलाको प्रयोगलाई निरुत्साहित गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्थानीय रुपमै उत्पादन भएका कपडाका झोलालाई प्रयोगमा ल्याइनेछ।’

नगरपालिकाले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको बाँधस्थलमा होम–स्टे, होटल र लज सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाएको छ।

‘भेरीमा ड्याम बाँध्दा ठूलो समुन्द्र बन्ने भएकाले भोलिको प्रमुख पर्यटकीयस्थल हो,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘छोटेमा होम–स्टे, होटल, लज र पिकनिक स्थलको रुपमा विकास गरिनेछ।’

नगरपालिकाले रोजगारी, उद्यम, व्यापार–व्यवसाय नभएका प्रत्येक परिवारका एक जना सदस्यलाई स्थानीय पूर्वाधार निर्माणमा रोजगारी दिने र कोही पनि भोकै नपर्ने अवस्थाको सृजना गर्ने जनाएको छ।

प्रकाशित: १० असार २०८१ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App