१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान नगरेको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन्।

आज काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए।

उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए।

उनले नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बोल्नुपर्ने भन्दै पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्म दिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेकोमा चित्त दिुखाए।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरे।

उनले जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको भन्दै  अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको जिकिर गरे।

उनले वृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको पनि बताए।

प्रकाशित: ७ असार २०८१ ११:१६ शुक्रबार

#prachanda #political party