२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खेलकुद मन्त्रीलाई सांसदहरुको ढाडस: राजीनामा होइन बजेट माग्नुस्

बुधबार प्रतिनिधि सभामा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल भयो। बजेटको छलफलमा सहभागी भएका सांसदहरूले सरकारले खेलकुदको क्षेत्रमा कम बजेट छुटाएकोमा असन्तुष्टि जनाए। पछिल्लो समय खेलकुदको क्रेज बढ्दै गएको र मुलुकलाई जोड्ने एक मात्रै विधा खेलकुद हुँदा पनि सरकारले बजेट छुट्याउनमा कन्ज्युसाई गरेको सांसदहरुको भनाइ थियो। 

बजेटको छलफलमा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले खेलकुद क्षेत्रमा सरकारले छुट्याएको बजेटको आलोचना गरे भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई बजेट अझै बढी ल्याउनतर्फ लाग्न आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी कै सांसद हरि ढकालले मन्त्रालयको बजेट निर्माणमा मन्त्रीलाई कर्मचारीहरूले जाँते पिङ खेलाइदिएको बताए। ढकालले यथास्थितिकै बजेट ल्याएर नयाँ भन्दै मन्त्रीलाई कर्मचारीहरूले घुमाइदिएको बताएका हुन्।

’हाम्रो मन्त्रीलाई कर्मचारीले जाँते पिङ खेलाइदिनुभएछ।  खेल मन्त्रालयकै साथीहरू पर्नुभयो। जाँते पिङ खेलाइदिनुभएछ, रूइँ रूइँ घुमाइदिनुभएछ,’ उनले भने। सांसद ढकालले मधेसबाट राष्ट्रिय क्रिकेट टिममा ६ जना खेलाडी भएको तर मधेसलाई एक रुपैयाँ पनि बजेट नदिइएको बताए। 

ढकालले खेलकुद मन्त्रीलाई निराश नहुन पनि आग्रह गर्दै अर्को वर्ष बजेट बढाउन स्रोतको खोजी गर्न लाग्नुपर्ने बताए।

छलफलमा सहभागी भएका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राजीनामा पत्र लेखेर निरुत्साहित हुने भन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुद मन्त्रीलाई सुझाव दिए। 

उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै भएको बताउँदै थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने उल्लेख गरे।

उनले भने,‘युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट छुट्याएको छ। प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै हो। मन्त्रालयमा बजेट बढाउन लडिरहनु होला। राजीनामा लेखेर निरुत्साहित हुने होइन। प्रधानमन्त्रीलाई दिनुभयो भएन थाहा छैन तर पत्रपत्रिकामा मैले बोल्दै छु। मन्त्री आफू युवा भएकाले मन्त्रालयको बजेट थप गर्ने गरी पहल गर्न आग्रह गर्दछु।’

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले युवा तथा खेलकुद मन्त्री कविराजभक्त श्रेष्ठको समर्थनमा संसदमै झ्याउरे गीत सुनाए।

‘थुकौं भने गाईको दुध, निलौँ भने रौँ’ उहाँलाई परेको त्यही हो,’ मन्त्री श्रेष्ठलाई परेको पीडा त्यही हो भन्दै उनले थपे, ‘सरकारमा बस्नु परेको छ, बजेट भेदभावपूर्ण छ।’

केसीले आफू विगतमा सहकारी मन्त्री हुँदा पनि यस्तै पीडा खेपेको उल्लेख गरे।

‘खेलकुद मन्त्रीजीको पीडाका बारेमा यहाँ माननीयहरूले बोल्नुभयो। म पनि सहकारी मन्त्री भएको थिएँ। अहिले खेलकुद मन्त्रीले जे पीडा बोक्नुभएको छ, मैले पनि त्यही पीडा बोकेको थिएँ,’ उनले भने, ‘मलाई इतिहासको झल्को लाग्यो। उहाँले त्यसै राजीनामा खल्तीमा हालेर हिँडेको छु भनेर भन्नुभएको छैन त्यो उहाँको पीडा हो।’

त्यसो त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री कविराजभक्त श्रेष्ठलाई राजीनामाभन्दा पनि हिम्मतसाथ अघि बढ्न आग्रह गरे।

‘मन्त्रीज्यू युवा नै हुनुहुन्छ, राजीनामाको कुरा होइन हिम्मत गरेर अघि बढ्नुप¥यो यस्तो युवाले,’ उनले भने, ‘अरूलाई  निराश बनाउने कुरा नगर्नुस्, बजेट नै कम छ तपाईंले धेरै ठाउँमा बाँड्नु भएन यसमा तपाईंको कमजोरी छैन।’

तर बजेट प्राथमिकीकरण के–केमा गर्ने भन्नेमा मन्त्री श्रेष्ठको भूमिका कमजोर रहेको उनले बताएका थिए।

उनले आफू स्वास्थ्य मन्त्री हुँदा बजेट कम भयो भनी बजेट भाषणपछि बजेट बढाएर लगेको पनि सुनाए। त्यसैले अर्थमन्त्रीसँग कुरा गरेर खेलकुदमा बजेट थप गर्न सकिने बाटो पनि उनले सुझाए।

केही दिनअघि खेलकुद मन्त्री श्रेष्ठले राजीनामा खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए। सोही कुरालाई लिएर सांसदहरूले मन्त्री श्रेष्ठलाई राजीनामा नभएर काम गर्न सुझाए। 

प्रकाशित: ५ असार २०८१ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App