२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माडी नगरपालिकाको बेरुजु ४३ करोड ६४ लाख रुपैयाँ, कर्मचारीले खाए १८ लाखको खाजा

चितवनको माडी नगरपालिकाको बेरुजु निरन्तर उकालो लागेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-२०८० सम्म आईपुग्दा माडीको बेरुजु ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९-२०८० मात्रै २ करोड ६८ लाख ८८ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की लगायतको शीर्षकमा बेरुजु देखिएको छ । गत आर्थिक बर्षको बेरुजु रकममध्ये ७२ लाख ८४ हजार असूल गर्नुपर्ने देखिन्छ । असूल गर्नुपर्ने रकममा कर्मचारी र जनप्रतिनिधिकै धेरै देखिन्छ । १३ लाख २८ हजार रुपैयाँ बराबरको बेरुजुको  प्रमाण कागजात पेस गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । नियमित गर्नुपर्ने बेरुजुमा १ करोड ४६ लाख ५६ हजार छ ।  

नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले सरकारी रकमको दुरुपयोग गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न समेत उठाएको छ । पालिकाले कर्मचारीलाई जुत्ता किनिदिनेदेखि खाना र खाजा उपलब्ध गराउनेसम्मको काममा मानोमानी खर्च गरेको महालेखाले जानकारी दिएको छ ।  

माडी नगरपालिकाले कर्मचारीको खाना र खाजा खर्चसमेत व्यहोर्ने गरेको छ । स्थायी तथा करारका कर्मचारीलाई नगरपालिकाले खाजा र खाना खर्चमा १८ लाख ७२ हजार रुपैयाँ उपलब्ध गराएको छ । ‘माडी नगरपालिकाले स्थायी तथा करारका कर्मचारीलाई अतिरिक्त समय कार्य गरे बापत प्रतिकर्मचारी मासिक ६ हजारका दरले यसवर्ष १८ लाख ७२ हजार भुक्तानी गरेको हो । अतिरिक्त समय कार्य गरे बापत प्रोत्साहन भत्ता भुक्तानी गरे पश्चात दोहोरो पर्ने गरी पुनः खाना÷खाजा खर्च बापत भुक्तानी गरेको रकम असूल गर्नुपर्ने छ,–प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

नगरपालिकाले व्यक्तिगत खर्चमा समेत आर्थिक अपचलन गरेको खुलेको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरि नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस् जुत्ता खरिद गरिएको उल्लेख छ । १६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैयाँ खर्च गरेको छ । जयश्री शिवम् सप्लार्यससँग जुत्ता खरिद गरिएको छ । यस कार्यलाई महालेखाले अनियमिता भएको ठहराएको छ ।  

कर्मचारी स्वास्थ्यका विभिन्न कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले नियम विपरित भत्ता लिएको महालेखाले औँल्याएको छ । जसमा १५ पटकको भ्रमण भत्तामा १२ लाख ८२ हजार ५ सय अनियमितता भएको उल्लेख छ । अनियमितता भएको रकम मेयर, उपमेयरदेखि कर्मचारीसम्मको नामै किटान गरिएको छ ।

नगरपालिकाले असूल गर्नुपर्ने बेरुजु रकम सबैभन्दा धेरै कर्मचारीका नाममा पनि छन् । जसमा कर्मचारीलाई दोहोरो सुविधा र भत्ता दिइएको उल्लेख छ । ती मध्ये करकट्टा समेत नगरि दिइएको १९ लाख, १२ हजार ५ सय ८३ रुपियाँ, करार कर्मचारीलाई १० हजार मात्रै वार्षिक पोशाक भत्ता उपलब्ध गराउनुपर्नेमा महंगी भत्ता भनेर दिइएको ८ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइएको महालेखाले जानकारी दिएको छ ।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App