२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा ३५ अर्बको बजेट ल्याउने तयारी

कडा रोगीलाई आर्थिक सहायता र बालबालिकाको निःशुल्क उपचारको कार्यक्रम  हटाइने

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ।  सरकारले आगामी आर्थिक वर्षका लागि ३५  अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले ३५ अर्बको बजेट ल्याउने तयारी गरिएको जानकारी दिए। ‘३५ अर्बको बजेट ल्याउने तयारी गरेका छौँ ’ मन्त्री रानाले भने     ‘बजेटको अन्तिम तयारी भइरहेको छ । भोली बजेट ल्याउन बजेट भाषणसमेत तयार भइरहेको छ।’ ठूलो आकारको बजेट ल्याउँदा स्रोतको अभाव भई कार्यान्वयनमा समस्या आउने भएका कारण गत वर्षको भन्दा थोरै घटाएर बजेट ल्याउने तयारी भइरहेको रानाले बताए।

प्रदेश सरकारको पुरानै दायित्व धेरै भएकाले नयाँ र महत्त्वाकाङ्क्षी योजना खासै नआउने रानाले स्पष्ट पारे। रानाले भने, ‘पूर्वाधार आयोजनाहरूमा ९ अर्ब जति पुरानै दायित्व भएकाले नयाँ योजना खासै ल्याउन सक्ने अवस्था छैन।’ रानाले मापदण्ड तोकेर साना आयोजनाहरू पालिकालाई हस्तान्तरण गर्ने र प्रदेश स्तरीय आयोजनाहरूलाई स्तरीकरण गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको बताए। मन्त्री रानाले आगामी आर्थिक वर्षको बजेट पूर्वाधारमा केन्द्रित रहेको पनि बताए।

उनले भने, ‘बजेटले पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई दिएको छ। त्यसपछि कृषि, पर्यटन र सामाजिक विकास रहेको छ।’ यता अघिल्लो सरकारले सुरू गरेको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था भने आगामी आर्थिक वर्षको बजेटमा नसमेटिने मन्त्री रानाले बताए। उनले भने, ‘अघिल्लो सरकारले ल्याएको योजनालाई निरन्तरता दिन डेढ देखि  २ अर्ब जति बजेट आवश्यक पर्ने देखिएको र स्रोत सुनिश्चित हुने अवस्था नरहेका कारण उक्त योजनालाई निरन्तरता दिन सक्ने अवस्था देखिएको छैन।’

मन्त्री रानाले बालबालिकाको निःशुल्क उपचार र कडा रोगका बिरामीलाई दिने सहायताको कार्यक्रममा विषयमा थप अध्ययन गरी कसरी उपलब्ध गराउने भन्ने मापदण्ड निक्यौल गरेर मात्रै कार्यान्वयनमा जाने सरकारको योजना रहेको बताए। उनका अनुसार कडा रोगका बिरामीका लागि सहायता दिन चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ छु¥याएकोमा उक्त बजेट अपुग भएको छ। जसका कारण निवेदन दिएका  धेरै बिरामीहरूले उपचार खर्च पाउन नसकेको मन्त्री रानाले बताए।

यस्तै १० वर्ष मुनिका बालबालिकाको उपचारका लागि पनि ५ करोड रुपैयाँ बजेट छु¥याएकोमा उक्त बजेट पनि खर्च भइसकेका कारण थप बजेट सरकारले दिन सक्ने अवस्था नभएकाले स्रोतको अभावकै कारण दुबै कार्यक्रमलाई निरन्तरता दिन गाह्रो भएको मन्त्री रानाले बताए। उनले दुबै कार्यक्रमका विषयमा थप अध्ययन गरेर मात्रै सरकारले  आवश्यक निर्णय गर्ने  जानकारी दिए।

चालु आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालु तर्फ १४ अर्ब  ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको थियो। वित्तीय व्यवस्थापन तर्फ १ करोड  र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिएको थियो। 

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App