१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताएका छन् ।  

नेकपा (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा शुक्रबार आयोजित ‘सामाजिक अभियान्ता भेला’ कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताए । उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने नभइ आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्नेमा जोड दिए ।  

विश्वव्यापीकरणको परिस्थितिमा गैरसरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्त्वपूर्ण हुने बताउँदै प्रधानमन्त्रीले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक सङ्घसंस्था विभाग गठन गर्नुपर्ने बताए। पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने उनको भनाइ छ ।  

संस्थाहरूले आफ्नो तहको सरकार र राज्यका निकायका कामहरूको अनुगमन र सहकार्यका आधारमा सामाजिक क्षेत्रमा बलियो उपस्थिति र नेतृत्व स्थापित गर्न सुझाव दिँदै प्रधानमन्त्री दाहालले सिङ्गो पार्टीको पुनर्गठन र रूपान्तरणको प्रक्रियामा यस्ता संस्थाले योगदान गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित: २५ जेष्ठ २०८१ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App