२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

आन्तरिक ऋणबारे महतको निर्मम टिप्पणीः अर्को समस्या सिर्जना हुन्छ

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेटमा अत्याधिक आन्तरिक ऋण लिएको भन्दै आलोचना गरेका छन्। त्यसले अर्थमन्त्रमा अर्को समस्या सिर्जना गर्ने उनले बताए। आजबाट प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको छलफलमा भाग लिँदै महतले यस्तो बताएका हुन।

‘सरकारले नै ठुलो ऋण लिए नीजि क्षेत्र कहाँबाट पाउने ?,’ महतले भने,‘त्यही बैंकबाट नीजि क्षेत्र ऋण लिन्छ। ८९ अर्ब, ९० अर्ब त्यही बैंकबाट सरकारले लिइदिएपछि नीजि क्षेत्रले पाउने ऋणको साइज त कम हुने भो। रोजगारी र उत्पादन बढाउने बाहक त नीजि क्षेत्र हो, तपाईहामी सब त त्यसमा सहमत छौं। प्रधानमन्त्रीदेखि अर्थमन्त्री सबै यही कुरा गर्छौं।’ 

त्यतिमात्र नभई अहिले बैंकहरूको घट्दैगएको बैंक व्याजदर फेरी बढ्ने उनले बताए। उनले भने, ‘ऋणको माग बढ्दैगए फेरि व्याजदर माथि जान्छ। आपूर्तिभन्दा माग बढी भए व्याजदर बढ्छ। त्यसपछि अर्को समस्या उत्पन्न हुन्छ।’

आन्तरिक ऋण सर्ट टर्म ऋण भएकाले त्यसले राज्यलाई कुनैपनि किसिमले फाइदा नगर्ने महतले टिप्पणी गरे। ‘विदेशबाट लिने ऋण त हामी ३०/४० वर्षलाई लिन्छौं। त्यसको व्याजदर १ प्रतिशतभन्दा कम हुन्छ। करेन्सी डिभ्याल्युएसन हुँदाहुँदै पनि हामीलाई फाइदा हुन्छ,’ उनले भने। यत्रो ठुलो आन्तरिक ऋण लिँदा उत्पादन क्षेत्रमा खर्च हुने अवस्थामा सन्तोष मान्न सकिने महतले बताए।

‘तर त्यो गर्दै हुनुहुन्न। त्यसको उदाहरण म दिन्छ,’ उनले भने। उदाहरणमा उनले अहिले अर्थमन्त्रालयमा विविधमा ९७ अर्ब रकम राखिएको बताए। ‘विविध शीर्षक पहिला पनि थियो, अहिले पनि छ। आवश्यकता कुन बेला के पर्छ भनेर राखिन्छ,’ उनले भने, ‘तर अर्थमन्त्रालयको शीर्षकमा पहिला ४७ अर्ब थियो अहिले ९७ अर्ब छ। त्यत्रो के खान राख्या हो ? त्यही आन्तरिक ऋण लिएको रकम त्यहाँ राख्ने होला। त्यो राखेर के गर्न राख्यो हो त्यो रु पहिला त पर्‍याथेन त्यति।’

यसको उत्तर सरकारले दिनुपर्ने उनले बताए। ‘तपाईले भन्नुहोला भुकम्प पीडितलाई राखेको १ त्यो पनि २०/२२ अर्ब तपाईले विनियोजन गरिसक्नुभो। विविधको अर्थ भुकम्प, भ्रमण यस्तैयस्तै आपतकालमा आवश्यक परेको बेला प्रयोग गर्ने हो। त्यो त छँदैछ,’ महतले भने।  

कांग्रेससहितको गठनबन्धन हुँदा प्रधानमन्त्री दाहाललाई रकम वितरण गर्न पाइएन भन्ने सकस रहेको दाबी गर्दै सोही प्रयोजनमा यो रकम खर्च हुने शंका आफूलाई रहेको महतले बताए।  

‘मलाई डर के छ भने हामी गठबन्धनमा हुँदा रकम वितरण गर्न पाइएन भन्ने जो सकस थियो, मैले त एउटा परिवारको जस्तै देशको बजेट ठुलो परिवारको बजेट हो, प्राथमिकताका क्षेत्रमा मात्रै खर्च गर्नुपर्छ भनेर जोगाएर राखेको थिए,’ उनले भने,‘पार्टीमुखी हुनुहुन्न, व्यक्तिमुखी हुनुहुन्न, स्वार्थसमूहमुखी हुनुहुन्न, देश र जनतामुखी हुनुपर्छ भनेर पोहोरै धेरै दबाबकाबीच निर्मम रुपमा प्राथकीकरण गरेका थियौं।’

प्रकाशित: २० जेष्ठ २०८१ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App