२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक दश मिनेट चलेर स्थगित भएको छ। यस क्रममा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलबीच चर्को सवाल–जवाफ भयो। सात मिनेटसम्म चलेको सवाल–जवाफका बीचमा प्रतिनिधिसभा बैठक नियमित काममा प्रवेशै नगरी स्थगित भएको हो।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग्दै आएका विपक्षी दलहरूले बैठक सुरु हुनासाथ स्थानबाट उभिएर अवरोध गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले बैठकका लागि शून्य समय, आकस्मिक समय र विशेष समय नराख्ने निर्णय भएको सुनाएका थिए। त्यसपछि संसद्को नियमित काम अगाडि जानुपर्छ भन्ने कोसिस जारी रहेको भन्दै प्रतिपक्षी दलले उठाउँदै आएको सहकारीसम्बन्धी मुद्दामा छलफल जारी रहेको बताएका थिए।

‘हामीले थाहा पाएसम्म कार्यदलमा पनि छलफल जारी छ। त्यसैले हाम्रो सभा पनि अगाडि बढाउँदै रहौं। त्यहाँबाट पनि निष्कर्ष निस्कनेमा हामी आशावादी छौं’, सोही क्रममा सभामुख घिमिरेले भने, ‘त्यसैले माननीय सदस्यहरू आसन ग्रहण गरेर नियमित अगाडि लैजानका लागि म अनुरोध गर्दछु।’

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले ‘हुँदैन, हुँदैन, बोल्ने समय चाहिन्छ’ भनेर प्रतिक्रिया जनाएका थिए।

तर, सभामुख घिमिरेले प्रतिपक्षले माग गरेको बोल्ने समय दिन चाहेनन्। ‘माननीय सदस्यहरू अब हामी विषयअन्तर्गत गएर बोल्ने विषय पनि राख्ने छौं। त्यसैले विशेष समय, शून्य समय र आकस्मिक समय नराख्ने निर्णय गरेको यहाँहरूमाझ राख्न चाहन्छु’, सभामुख घिमिरेले जवाफ फर्काए।

त्यसपछि उभिएको प्रतिपक्षी बेन्चबाट सामुहिक आवाजसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सुनिए, ‘समय उपलब्ध गराउनुस्, समय उपलब्ध गराउनुस्। प्रतिपक्षलाई बोल्नु नदिने यो कहाँको नियम हो सभामुख महोदय ?’

सभामुखले जवाफ फर्काए, ‘माननीय सदस्य, हामी नियमावलीअन्तर्गत नै कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौं। कार्य व्यवस्था परामर्श समितिमा पनि यो विषयमा छलफल गर्ने प्रयास भइरहेकै छ।’

त्यसपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘बसेर छलफल गर्ने कुरा छँदै छ। सम्मानित संसदमा पनि बोल्न पाउनुपर्छ।’

त्यसैमा महामन्त्री शर्माले थपे, ‘सभामुख महोदय प्रतिपक्षले बोल्नु भनेको  परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझिनु हुँदैन। प्रतिपक्षले राख्न खोजेका विषय प्रतिपक्षका विषय मात्रै होइनन्, जनताका विषय हुन्।’

सभामुख घिमिरेले कुरा सुन्न चाहेनन्। उनले कांग्रेसका कुरा नजरअन्दाज शैलीमा बोले, ‘माननीय सदस्यहरू आसन ग्रहण गरौं, नियमित कारबाहीलाई अगाडि बढाउनका लागि सहयोग गरिदिन हुन अनुरोध गर्दछु।’

त्यसपछि प्रतिपक्षबाट तीव्र असन्तुष्टि आउन थाल्यो। महामन्त्री शर्मा फेरि सुनिए, ‘सदनमा प्रतिपक्षलाई बोल्न नदिएर कस्तो नजिर बसाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ? हामी समय चाहन्छौं।’

‘विषयवस्तुलाई अगाडि बढाउन सहयोग गरिदिनुस्’, सभामुख घिमिरे बोले।

अगाडिबाट कांग्रेस प्रमुख सचेतक कुर्लिए, ‘प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय’, उनले अगाडि भने, ‘मेरो आग्रह छ– प्रतिपक्षले सदनमा बोल्न पाएन भने बोल्ने कहाँ हो त ?’

केहीबेर अरू सांसद बोलेपछि लेखकले फेरि बोले, ‘संसद्मा प्रतिपक्षले बोल्न नपाए अनि संसदीय अभ्यास सिस्टमले अगाडि बढ्छ ?’  

सभामुख घिमिरेले कड्किए, ‘माननीय सदस्य सभा नियमअनुसार नै चलाउने हाम्रो कर्तव्य हो। माननीय सदस्यहरूले बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएनन् भन्ने प्रचार गर्ने कुरा होइन।

बोल्ने वातावरण कसरी बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्ष दुवै त्यत्तिकै जवाफदेही र जिम्मेवार छ। त्यसैअनुसार लैजानका लागि म आसन ग्रहणका लागि अनुरोध गर्दछु।’ सभा विधिसम्मत ढंगबाट चल्ने, छलफल गर्ने र निष्कर्ष निकाल्ने विषयमा आफू प्रतिबद्ध रहेको सभामुख घिमिरेले बताए।

‘प्रतिपक्षले बोल्न पाएन भने त बोल्न दिइएन भन्ने पर्ला नि सभामुख महोदय’, लेखकले तत्कालै जबाफ फर्काए।

सभामुखले ढिपी कसे, ‘बोल्ने विषयमा हामीले यही संसदमा यही सत्रमा पटकपटक बोल्नका लागि आग्रह गरेको स्मरण गराउन चाहन्छु। तलबाट बोलेको कुरा माथिबाट आएर बोल्नुस् भनेको कुरालाई पनि स्मरण गराउन चाहन्छु।’

सम्भावित कार्यसूची वितरण गरेको, अन्तिम कार्यसूची वितरण गरेको कुरा बताउँदै सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि नाम टिपाउन आग्रह गरेको संसदलाई सुनाए।

‘यी विषयमा माननीय सदस्यलाई बहस, छलफल गरेर नीति तथा कार्यक्रमलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले बैठकलाई अगाडि बढाउन आसन ग्रहण गरेर समय सदुपयोग गर्नुहुनेछ’, सभामुख घिमिरेले अगाडि सुनाए।

फेरि लेखक सवालमा उत्रिए, ‘सभामुख महोदय, प्रतिपक्षी दल नबोल्दा संसदीय अभ्यास विधि अगाडि बढ्छ ? बढ्दैन, त्यसकारण विपक्षी दलले संसदमा आफ्ना भनाइ राख्न पाउनुपर्‍यो।’

सभामुख घिमिरेले फेरि आफू विधिसम्मत नै अगाडि बढिरहेको दोहो¥याए। ‘त्यसका लागि सबै माननीयले वातावरण बनाउनुपर्छ। हामी खासगरी नियमावलीअनुसार अगाडि जान माननीयज्युहरूलाई आग्रह गर्छौं।’

त्यसपछि सभामुखले सभा सञ्चालन गर्न सहयोग गर्नुहुने छ, समस्या समाधान गर्न कार्यदललाई सहयोग पु¥याउनुहुने छ र राष्ट्रका अगाडि पूरा गर्नुपर्ने सत्रका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने आशा राखेको सुनाए।

विपक्षी बेन्ज बैठक सञ्चालन गर्न तयार भएन। त्यसपछि सभामुख घिमिरेले प्रतिपक्षी दलले सहयोग नगरेको भन्दै जेठ १३ सम्मका लागि स्थगित गरेको घोषणा गरेर निस्किए।

प्रकाशित: ११ जेष्ठ २०८१ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App