२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

समीक्षा यात्रामा निस्किए रास्वपा महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन्।

पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्बल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्नेछन्।

पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राका लागि घण्टी दिएर बिदाइ गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘पार्टीले सधैँ नागरिक, सदस्य र सरोकारवालाबीच पुगेर तिनका सुझावका आधारमा आफूलाई परिष्कृत गर्नुपर्छ। महामन्त्रीज्यूको यो यात्रा पार्टी स्थापना यता हामीले लिएको नीति र निर्णयको समीक्षाका लागि सहयोगी हुने विश्वास लिएको छु’ सभापति लामिछानेले भने।

वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो। 

यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिए।

‘हामीले कहाँ सही र गल्ती गर्‍यौं, के गर्नु हुन्न र गर्नुपर्छ भन्नेबारे तल्लो तहबाट सुझाव लिन यात्रा गर्न लागेको हुँ’ महामन्त्री ढकालले भने– ‘प्राप्त सुझाव केन्द्रीय समितिमा छलफल गरेर पार्टी सुदृढीकरणको पक्षमा उपयोग गर्छौं।’

महामन्त्री ढकालका अनुसार यात्रामा सांसद र केन्द्रीय सदस्यहरु बीच–बीचमा जोडिने छन्। एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्ला पुग्नेछन्।

काठमाडौंबाट सुरु हुने यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठक र कार्यक्रममा सहभागी हुनेछन्।

महामन्त्री ढकालले समीक्षा यात्राको प्रतिवेदनका आधारमा केन्द्रीय समितिले लिने नीति, योजना र कार्यक्रमअनुसार पार्टी सञ्चालन गरिने जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०८१ २२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App