२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

अब ‘मुठभेड राजनीति’

गृहमन्त्रीको प्रतिरक्षामा ओली सदनमा उत्रिँदा परिस्थिति असहज

प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै कांग्रेस संसद्।

प्रतिनिधिसभामा बिहीबार दुई ठुला दल कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने–नदिने विषयलाई लिएर सत्तापक्ष एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदबीच धकेलाधकेल भएको भएको हो।  

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसको छ। यसै विषयलाई लिएर कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। सभामुखले बिहीबार बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेस सांसदले रोस्ट्रमअघि गएर विरोध गरेका थिए। कांग्रेस सांसदले विरोध गरिरहेका बेला सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि परिस्थिति एकाएक तनावपूर्ण बन्न पुग्यो।

सभामुखले सदनमा बोल्न समय दिएपछि उनी रोस्ट्रममा जान खोज्दा कांग्रेस सांसदले रोके । त्यसपछि एमाले प्रतिवादमा उत्रिँदा धकेलाधकेल भएको हो। यसअघि कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरेपछि बैठक स्थगित गर्दै आएका सभामुख बिहीबार भने कार्यसूचीमा प्रवेश गरेका थिए।

सत्तापक्षमा रहेको एमाले संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नै कांग्रेसविरुद्ध सदनमा उत्रिएका थिए। ओलीसँगै एमाले सांसद प्रतिवादमा उत्रिँदा अवस्था तनावपूर्ण बनेको थियो। सत्ता पक्षमा रहेका माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदले भने एमाले सांसदलाई साथ दिएका थिए। कांग्रेसका प्रकाशशरण महत र रामहरि खतिवडाले भिडन्त हुने अवस्था आउन नदिन आफ्ना सांसदलाई रोकेका थिए। एमाले सांसद भने भिड्ने तयारीमा रहेको देखियो।

प्रतिवादमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नाेकझाेंक गर्दै कांग्रेस उपसभापति धनराज गुरूङ। तस्वीर: नागरिक

 

सदनमा कांग्रेस–एमाले आमनेसामने भएर भिड्न खोजेको दृश्य २०४८ देखि २०५९ सालको अवधिमा देखिन्थ्यो।

संसद्मा माओवादीको प्रवेशपछि अहिलेसम्म कांग्रेस र एमालेका सांसदबीच खासै धकेलाधकेलको अवस्था आएको थिएन। प्रतिनिधिसभाको बिहीबारको बैठकमा भने एमाले गृहमन्त्री लामिछानेको पक्षमा उभिँदा धेकेलाधकेलसम्मको अवस्था आयो। सभामुखले केही समय बैठक स्थगित नगरेको भएको परिस्थिति थप बिग्रिएर भिडन्त नै हुन सक्थ्यो।

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको पहिलो बैठक सूचनाबाट स्थगित गरी ४ बजे अर्को बैठक बोलाइएको थियो। दोस्रो बैठक निर्धारित समयभन्दा करिब दुई घण्टापछि अर्थात् ५ बजेर ५७ मिनेटमा सुरु भई ६ बजेर १२ मिनेटमा स्थगित भयो।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएकाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। कांग्रेसका सांसदले रोष्ट्रमअघि गएर नाराबाजी गर्दा पनि सभामुखले बैठकका केही अजेन्डा पढेर सुनाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी (लोसपा), राष्ट्रिय जनमोर्चाका सांसदले नाराबाजीका बीच सभामुखले बैठक चलाएको भन्दै आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सदनमा विरोध भइरहेका बेला प्रवेश गरेका एमाले अध्यक्ष ओलीले विपक्षमा रहेका साना दलका सांसदलाई हिँड्नेक्रममा एकछिन रोकिएर हेरेका थिए।

सभामुखले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरण भएर आएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पढेर सुनाएका थिए। त्यस्तै मन्त्रिपरिषद्को पुनर्गठनसम्बन्धी पत्र पनि उनले पढेर सुनाए। त्यसपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए।

सभामुखले बोल्न अनुमति दिएपछि रोष्ट्रममा जान आफ्नो स्थानबाट उठे पनि कांग्रेसका सांसदले बाटो छेकेपछि उनी रोकिए। त्यसपछि एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओलीसहितका सांसदले कांग्र्रेस सांसदको प्रतिवाद गरेका थिए।

लोकतन्त्रमा सदनमा बोल्न नपाइने भन्दै ओलीले रोष्ट्रमअघि गएर कांग्रेस सांसदसँग विवाद गर्न थालेपछि कांग्रेसका धनराज गुरुङ आक्रोशित बनेका थिए। त्यसपछि एमाले सांसदहरू पनि रोष्ट्रमअघि गएर अध्यक्ष ओलीलाई साथ दिँदै कांग्रेस सांसदलाई धकेल्दै भिड्न तयार भएका थिए।

एमाले सांसद दामोदर वैरागी, सूर्य थापा, महेश गर्तौला, ठाकुर गैरेलगायतले कांग्रेससँग विवाद गरेका थिए। एमाले कोटाबाट रक्षामन्त्री बनेका हरि उप्रेतीले धकेलाधकेल रोक्न खोजेका थिए। सञ्चारमन्त्री रेखा शर्मा पनि धकेलाधकेल रोक्ने प्रयासमा थिइन्।

ऊर्जामन्त्री शक्ति बस्नेतले पनि मिलाउने प्रयास गरेको देखिन्थ्यो। यसैबीचमा सभामुख देवाराज घिमिरेले गृहमन्त्रीलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै बैठक स्थगित भएको घोषण गरे। अर्को बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ। बैठक स्थगित भएपछि पनि सांसदहरू धकेलाधकेल उन्मुख थिए।

कांग्रेसले बिहानै संसदीय छानबिन समिति गठन नभएसम्म सदनको कुनै पनि कारबाही अघि बढ्न नसक्ने जनाउ दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने संसद् भवनभित्र बसेर छलफल गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा संसद् भवनमा पुगेपछि प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियोे। त्यसपछि दिउँसो सवा १ बजे बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गरी साढे चार बजेका लागि सारियो।

कांग्रेस नेताहरूले गृहमन्त्री बोलेपछि आफूहरूलाई पनि बोल्न समय दिनुपर्ने मागमा सभामुख सकारात्मक नभएपछि समस्या भएको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षीसहितका दल विरोधमा उभिँदा पनि सभामुखले बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै कांग्रेसले उनको निष्पक्षतामाथि प्रश्न उठाएको छ। त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App