२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपालका दुई प्रदेश सांसद नयाँ जसपमा

लुम्बिनी प्रदेशसभामा रहेका जसपा नेपालका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वको जसपामा जाने भएका छन्।

प्रदेश सरकारका मन्त्रीसमेत रहेका भण्डारीलाल अहिर र आदेश अग्रवालले राई नेतृत्वको पार्टी जसपामा समाहित हुने निर्णय लिएका छन्। उनीहरूले राइ नेतृत्वको जसपामा सनाखत दिने निर्णयसमेत लिइसकेका छन्।

‘हामी दुई जना सांसद नयाँ जसपामा सनाखत दिन्छौं,’ अहिरले भने, ‘एकजना सांसदको भने अहिलेसम्म निर्णय आइसकेको छैन।’

नयाँ जसपा पार्टी निर्माण गर्न भूमिका खेलेका जसपाका मोहम्मद इस्तियाक राईको सहभागितामा शनिबार नेपालगन्जमा भेला भएको थियो। उक्त भेलामा नयाँ पार्टीमा सहभागी हुने जनप्रतिनिधि तथा नेताहरूको उपस्थिति रहेको थियो। यो भेलामा दुईजना प्रदेश सांसदहरू अहिर र अग्रवाल सहभागी भएका थिए। ‘हामीहरू इस्तियाक राईज्यूको सहभागितामा भएको भेलामा सहभागी भएका छौं,’ सांसद अग्रवालले भने, ‘अब हामी दुईजना नयाँ जसपामा सहभागी हुने निर्णयमा पुगिसकेका छौं।’

उनले आइतबार निर्वाचन आयोगमा पुगेर आफूहरूले सनाखत दिने समेत बताए। ‘मन्त्रीज्यू र म सम्भवतः आइतबार निर्वाचन आयोगमा पुगेर नयाँ दलमा सहभागी भएको सनाखत गर्दैछौं,’ अग्रवालले भने, ‘बाँकेको राजनीति इस्तियाकको प्रभावविना सम्भव पनि छैन।’

जसपाका तीन प्रदेश सांसदमध्ये दुईजना राई नेतृत्वको भेलामा सहभागी भएको भए पनि सांसद अम्बिका काफ्ले भने सहभागी भइनन्। उनलाई भेलामा सहभागी हुन बोलाइएको पनि थियो। ‘हामीले उहाँ (काफ्ले)लाई बोलाएको थियौं, तर उहाँ आउनु भएन,’ अग्रवालले भने, ‘के कारणले आउनुभएन, त्यो थाहा भएन, सायद उहाँको व्यक्तिगत कारण होला।’

राई सहभागी भेलामा सहभागी नभएकी सांसद काफ्लेले भने आफूले अहिले कुन दलमा रहने भनेर निर्णय नगरिसकेका कारण उक्त भेलामा सहभागी नभएको बताइन्। यसका साथै उनले आफ्नो व्यक्तिगत कारण पनि भेलामा सहभागी हुन नसकेको बताइन्।

‘म नेपालगन्जमै छु, तर नेपालगन्जमै राखिएको भेलामा म सहभागी हुन पाइनँ,’ काफ्लेले भनिन्, ‘मेरो आफ्नो व्यक्तिगत कामका कारण पनि म सहभागी हुन नपाएको हो।’ उनले अहिले आफू कुन दलमा रहने भन्नेबारे निर्णय लिइनसकेको समेत बताइन्। ‘राई नेतृत्व वा यादव नेतृत्वको पार्टी कुनमा रहने भन्नेबारे निर्णय लिइनसेका कारण पनि भेलामा सहभागी हुन नसकेकी हुँ,’ उनले भनिन्, ‘म अहिले सम्मको अवस्थामा तटस्थ छु, दुई तीन दिनमा मैले निर्णय लिनेछु।’

तर भेलामा सहभागी नहुनुलाई राई नेतृत्वको जसपाले काफ्लेको फरक निर्णयका रूपमा बुझेको छ। इस्तियाक राई उनलाई आफ्नो दलमा सामेल बनाउन सक्रिय बनेर लागेको नेताहरू बताउँछन्। ‘उहाँ नआउनुको कारण त थाहा भएन, हामी दुई सांसदले नयाँ दलमा रहने निर्णय गरिसक्यौं, तर उहाँले गर्न सक्नुभएको छैन,’ अग्रवालले भने, ‘उहाँलाई पनि नयाँ दलमै समावेश गर्न उच्च तहबाट छलफल हुन्छ।’

सांसद अग्रवालले बाँकेका तीनैजना सांसद एकै पार्टीमा रहने सम्भावना उच्च रहेको समेत बताए।

उनका अनुसार जसपा फुटको असर सबैभन्दा बढी बाँकेमा देखिएको छ। जिल्लाका कुल ५७ जना स्थानीय तहका जनप्रतिनिधिमध्ये ३७ जनाले अहिलेसम्म नयाँ दलमा सनाखत गरिसकेका छन्। यो क्रम जारी रहेको र बाँकेका सबै जनप्रतिनिधि नयाँ दलमै आवद्ध हुने सांसद अग्रवालले बताए।

‘बाँकेका स्थानीय तहका ५७ जना जनप्रतिनिधिमध्ये अहिलेसम्म ३७ जनाले नयाँ पार्टीमा सनाखत गरिसक्नुभएको छ,’ उनले भने। ‘यो क्रम जारी छ र बाँकेबाट जति पनि जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरू सबै नयाँ दलमा आवद्ध हुनुहुन्छ।’

बाँकेमा भेला गरेर आफ्नो दलमा जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू तान्न प्रयत्न गरेका इस्तियाक राई अहिले बाँकेमै यो अभियानमा सक्रिय बनेका छन्। नेपालगन्जका उपप्रमुखले यादव नेतृत्वको जसपामै रहेको विज्ञप्ति प्रकाशित गरेपछि राईको नजर यी उपप्रमुखमाथि परेको छ।

प्रकाशित: ३० वैशाख २०८१ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App