नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। कांग्रेसका क्रियाशील सदस्यहरूलाई कांग्रेस जिल्ला प्रशिक्षण शाखाले प्रशिक्षण दिन थालेको हो। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा सबै स्थानीय तहका सबै वडामा पुगेर प्रशिक्षण दिने कार्यक्रम राखेर नेता तथा कार्यकर्ता गाउँगाउँमा परिचालन भएको प्रशिक्षण शाखाका प्रमुख दीपककुमार घिमिरेले जानकारी दिए।
झन्डै एक महिना अगाडि विजेताहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर ४२ जना प्रशिक्षकहरू तयार पारि नेपाली कांग्रेस प्रशिक्षण विभागले गाँउगाउँमा प्रशिक्षण दिन खटाएको नेपाली कांग्रेसले जनाएको छ। ‘जिल्लाका ७९ वडाकै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिन ४२ प्रशिक्षक तयार पारी गाउँगाउँमा खटिएका छौं,’ प्रशिक्षण शाखा प्रमुख घिमिरेले भने, फिक्कल, मरिण, गोलन्जोर र हरिहरपुरगढी गाउँपालिकाका क्रियाशील सदस्यलाई प्रशिक्षण दिएका छौ।
बाँकी पालिकामा छिट्टै जाने योजना छ। जागरुक क्रियाशील सदस्य, नेपाली कांग्रेसको सुदृढ भविष्य भन्ने नारासहित प्रशिक्षण विभागले प्रशिक्षण दिएको हो। प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, काग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको घिमिरेले जानकारी दिए।
कांग्रेस जिल्ला उपसभापति प्रमुख रहनेगरी कांग्रेसले जिल्ला प्रशिक्षण शाखा बनाएको छ। जिल्लामा कांग्रेसका झन्डै ९ हजार क्रियाशील सदस्य रहेकोमा हालसम्म १७ सय बढीलाई प्रशिक्षण दिइसकिएको कांग्रेसले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०८० ०७:०८ मंगलबार