२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।

सोमवार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन्। उनले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुन: गल्ती दोहार्‍याएको दाबी गरे।  

उनले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे। प्रधानमन्त्री दाहाललाई खुला प्रतिष्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको उनले बताए। उनले अहिले खुला प्रतिष्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताए। महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए। उनले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताए।

उनले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ। विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ। जुन अब संसदमा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ। त्यसमा काम गरिसकेपछि यसको प्रवन्ध हुन्छ। तर यो कानून बन्न अझैपनि कम्तिमा एक डेढ वर्ष लाग्छ। यहाँ समस्या के भयो भने त्यो कानून बन्नु भन्दा पहिला नै त्रिभूवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरुको नेतृत्व रिक्त भयो। अब हामी अहिले कानून एक वर्षपछि बनाउँला। तर अहिले आएको नेतृत्वले त ५ वर्ष काम गर्दछ। अर्को ४ दखि ५ वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ । त्यो भएकाले हामीले प्रधानमन्त्रीलाई भेटेर विभिन्न माध्यमबाट यो विषयमा करिव करिव ६ वटक त मैले नै भेटेर कुरा गरेँ। अरु माध्यमबाट अरुले पनि कुरा त गर्नुभयो नै। कानून आउँछ, त्यसलाई हामी ठिक बनाउँछौँ। तर यो पटक मौका आएको छ भन्ने अनुरोध गरेका थियौँ। त्रिभूवन विश्वविद्यालयको उपकुलपति सही चयन गरिदिनुस्। यस्तो व्यक्ति चयन गरिदिनुस् की त्यो नेतृत्व चयन भएको नेतृत्वलाई हेरेर अरु विश्वविद्यालयको सुधारको नयाँ अध्याय प्रारम्भ भयो भन्ने सबैलाई एउटा विश्वासको वातावरण बनोस्। यो बीचमा अनि कानून बनाएर ठिक बनाउँला। त्रिभूवन विश्वविद्यालयको नेतृत्व ठिक आयो भने बाँकी रहेको नेतृत्व ठिक आइहाल्छ। प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभयो र पटकपटक संकल्प पनि गर्नुभयो। अस्ति बीचमा प्रक्रिया अलिकति बिग्रियो भनेर उहाँले सच्याउने निर्देशन पनि दिनुभयो।’

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिष्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाए।  

प्रकाशित: ७ फाल्गुन २०८० १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App