२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा  बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षा हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ। यो हाम्रो आकांक्षा मात्र होइन, महत्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली एवं सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए। उनले भने, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ।’

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा महत्वपूर्ण काम गरेको छ।’ 

आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभुत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे।

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ  

प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोत र सम्पदाको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए।  प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्वपूर्ण छ। प्राकृतिक स्रोत र सम्पदाको बहुआयामिक उपयोगका साथै औषधि उत्पादन क्षेत्रमा समेत पहल लिनुपर्दछ।’

प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए। साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावना सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे।

उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ। आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारका तर्फबाट उचित पहल हुनेछ।’

चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूका माग क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु।’ –रासस

प्रकाशित: १५ माघ २०८० ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App