२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

'जनयुद्ध' शब्दमा योगेश र देवेन्द्रको नोकझोक, 'डिक्सनरी पल्टाएर हेर्नुस् माननीयजी त्यो माछा युद्ध थियो, भालु युद्ध थियो?'

प्रतिनिधि सभामा आज पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी छलफल जारी छ।  

आजको छलफलमा विभिन्न दलका नेताहरु सामेल भएका छन्। यसैक्रममा नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्। भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए। उनले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाउँदै नेपाली कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो भनी प्रश्न समेत गरेका छन्।  

यसको जवाफ माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै फर्काएका छन्। उनले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे। 

उनले भने,‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। डिक्सनरी पल्टाएर हेर्नुहाेला। मानिसका छोराहरु लडेका युद्ध थियो।’ उनले अगाडी भने, 'बिर्सिनुभयो बृहत शान्ति सम्झौता ? तपाईको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही श्रृङ्खलामा छौँ। त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो। म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला। नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो  हामी सबैपछि सहकार्य गर्यौँ। जनआन्दोलनमा आयौँ। सलाम छ। तर इतिहासलाई नबिर्सौ। रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ।'

प्रकाशित: ८ जेष्ठ २०८० ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App