२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पुल बनेपछि हाटसिंजामा मतदान गर्न सजिलो

अविरल वर्षाले बगाएको पुल बनेपछि मतदान गर्न सजिलो हुने भएको छ। गत असोज १९ देखी २६ गते आएको अविरल वर्षाले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने हिमा नदीमाथीको पुरानो काठको पुल बगाएर आवत जावत वन्द भएको थियो।

अहिले उक्त क्षेत्रमा कालिका आधारभुत विद्यालय समेत भएकाले मतदान केन्द्र त्यही छ। तर स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगले एक हप्तामा ३ वटा पुल निर्माण हुँदा आवत जावत सहज भएको हो। अहिले पुल बनेपछि मतदान गर्न सजिलो हुने भएको छ।

वडापालिकाका अनुसार विशेषगरी नेपाली सेनाको टोलीले पुल निर्माण गर्न सहयोग गरेपछि कनकासुन्दरी ४ कालिका आधारभुत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो। वडाअध्यक्ष सूर्यमणी हमालले भन्ने, एक हप्ता लगाएर नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा ३७ मिटर लामो काठको ३ वटा पुल निर्माण भएको छ।

उनका अनुसार सो क्षेत्रमा ४ नम्बर वडा कार्यालय, आखा अस्पताल, पशु शाखा , कृषि शाखा, स्वास्थ्य चौकीमा समेत आवत जावत सुचारु भएको छ। पुलका लागि नदिले बगाएर ल्याएको काठ च्यात्न, खाजा खर्च बाहेक अन्य सवै नेपाली सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयले सहयोग गरेका छन्। नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका लप्टन आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन स्वंसेवकको भूमिका गरेको छ।  

पुल बनाउन स्थानीय सरकारले १५ वटा जाली लागेको छ। यसैगरी छोटो अवधिमा पुल वनाएर सहज मतदान सहज बनाउने देखी विभिन्न कार्यालयमा जान सजिलो भएको भन्दै नेपाली सेना, प्रहरी र सहयोगीलाई वडापालिकाले टिका र दोसल्लाले सम्मान गरेको वडापालिकाले जनाएको छ। त्यो मतदान केन्द्रमा ५ सय ९५ जना मतदाता रहेका मतदान अधिकृत हिमालय साउथले बताए। पुल लगाएपछि  मतदाताहरु सजिलै आउन जान सक्ने भएका छन्।

प्रकाशित: २ मंसिर २०७९ ०८:३७ शुक्रबार

हाटसिंजा