२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

कामका कुरा

बाइरोडको बाटोमा

नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्री योको खामिखावा सम्पूर्ण भेटघाट र बैठक सकेर २३ वैशाखकै राति स्वदेश फर्किन्। रोचक पक्ष के छ भने उनलाई लिएर आएको चार्डर्ट विमानका कर्मचारीलाई आराम गर्नुपर्ने भएकाले उनीहरू त्यो राति काठमाडौंमै सुते। विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलमै रह्यो। खामिखावा भने नेपाल वायुसेवाको सोही रातिको नियमित उडानमा स्वदेश फर्किन्। उनी फर्केपछि स्वाभाविकरूपमा विदेश मन्त्रालयका पदाधिकारी पनि फर्किए । विदेश भ्रमणमा कति लामो समयसम्म बिताइयो भन्दा पनि कति अर्थपूर्णरूपमा काम गरियो भन्ने पक्ष महत्त्वपूर्ण हुन्छ। कैयन् देशले यसैलाई ध्यानमा राखेर काम गरिरहेका हुन्छन्।

हाम्रा आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई हेरौं न। तिनीहरू विदेश भ्रमणमा निस्किए भने कम्तीमा एक साता बिताउँछन्। तीर्थव्रतदेखि किनमेलसम्म विदेशमै गरेर आरामसँग स्वदेश फर्किन्छन्। यस्तो लाग्छ, देशभित्र गर्ने काम सकिएको छ। जिन्दगीलाई केही आराम दिनका निम्ति तिनीहरू विदेश भ्रमणमा गएका हुन्। वास्तवमा विदेश भ्रमण अवधि छोटो पारेर सकेसम्म बढीभन्दा बढी काम सकेर फर्किँदा नै मन्त्रीहरूको इज्जत बढ्छ।

देशभित्र अचेल काम छैन। कुरा जति सबै सहकारीको छ। सहकारीको वरिपरि सत्ता घुमेको छ। संसद् त्यसैले घुमाएको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई बेफुर्सद छ। तिनलाई भेट्न सिंहरदबार गयो भने देखिन्छ ती साह्रै व्यस्त छन्। वास्तवमा ती व्यस्त होइनन् अस्तव्यस्त भएका हुन्। कामको कुनै मेलोमेसो नभएपछि अस्तव्यस्त अवस्थालाई नै व्यस्त भनेर बुझ्नुपर्ने हुन्छ।

अचेल सरकारका मन्त्रालय वा कार्यालयमा कामको कुरा सुन्न पाइँदैन। मन्त्रीहरूले कसरी काम गर्ने भन्ने कुनै प्रस्तुति दिँदैनन्। तिनले कसरी काम गरिरहेका छन् भनेर राम्रो प्रस्तुति दिइ पत्रकार सम्मेलन गर्नुपर्ने आवश्यकता देखिँदैन। बरु यस्तो कामको जिम्मा त काठमाडौंमा रहेका विदेश दूतावासले लिएको जस्तो देखिन्छ। काठमाडौंमा भएका विदेशी दूतावासमा जति नेपालको चर्चा सुनिन्छ, त्यसको एउटा सामान्य हिस्सा मात्रै हाम्रो सिंहदरबार र गाउँगाउँका सिंहदबारमा सुन्न पाउने हो भने मन आश्वस्त हुन्छ।

जापानी विदेश मन्त्री खामिखावासँग आएकी विदेश मन्त्रालयकी प्रेस तथा सार्वजनिक कूटनीति विभागकी सेक्रेट्री/महानिर्देशक मारिको कानेकोले केही सम्पादकसँग भेटेकी थिइन्। भेटका बेलामा उनले पहिलो पटक नेपालमा सुरुङ छिचोलिएकोमा खुसी व्यक्त गरिन्। बिपी राजमार्गको निर्माणमा जापान सरिक हुँदाको खुसी पनि उनमा थियो।

नेपाल सन् २०२६ मा मध्यम आय राष्ट्र बन्न गइरहेको छ। यसका निम्ति कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने चिन्ता र चासो नेपालका विकास साझेदार मुलुकहरूको देखिन्छ। वास्तवमा यी मुलुकका कूटनीतिज्ञकर्मीसँग भेट्दा जति विकासको चर्चा हुन्छ, त्यति आफ्नै देशका मन्त्री वा सचिवसँग हुँदैन।

मुलुक जतिसुकै विकसित र ठूलो भए पनि कम विकसित र साना मुलुकको पनि अन्तर्राष्ट्रिय कूटनीतिमा उत्तिकै महत्त्व हुन्छ। संयुक्त राष्ट्रसंघ जस्ता निकायमा गरिने मतदान सबैको बराबरी हो। त्यसमा पनि एउटा सार्वभौम मुलुकका रूपमा नेपालले भूमिका खेल्न सक्छ। यसकारण पनि नेपाललाई आफ्नो पक्षमा राखिराख्नु पर्छ भन्ने मान्यता अहिले कैयन् मुलुकमा देखिन्छ।

त्यही भएर नेपाल जस्ता साना मुलुकले अहिलेको विश्व व्यवस्थामा सन्तुलन कायम गर्न बोल्नुपर्ने आग्रहसमेत कानेकोको थियो। चीन र भारत जस्ता विशाल मुलुकको बीचमा रहेको नेपालको महत्त्व विगतमा भन्दा अहिले झनै बढेको देखिन्छ। त्यही भएर यहाँ कूटनीतिक भ्रमण भइरहेका छन्। यहाँको विकासमा सहयोगका निम्ति एक किसिमको होडबाजी नै भइरहेको छभन्दा पनि हुन्छ। तर, त्यसलाई सदुपयोग गर्ने र आफूलाई अगाडि बढाउनेतर्फ खासै चासो देखाएको पाइँदैन।

प्रत्येक मुलुकले आफ्नो विशेषताका आधारमा नेपालमा गतिविधि गरेर नेपालीको मन जित्न खोजेको अनुभव गर्न सकिन्छ। नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापित भएको हो। तर सन् १८९९ मै जापानी बौद्ध भिक्षु इकाइ कावागुचीले नेपाल भ्रमण गरेका कारण सम्बन्ध लामो र गहिरो रहेको विश्वास गरिन्छ। त्योभन्दा पनि महत्त्वपूर्ण हाम्रा नेपाली विद्यार्थीलाई सन् १९०२–१९०५ सम्म आठजना नेपाली विद्यार्थी जापानमा उच्च शिक्षाका निम्ति गएका थिए।

विभिन्न मुलुकका नेपालसँग अनेकन सम्बन्ध छन्। त्यसमा पनि नेपाल यस क्षेत्रका सबैभन्दा पुरानो मुलुक हो। नेपालसँगको सम्बन्धको कुरा गर्दा बेलायतले दुई सय वर्षको इतिहासको कुरा गर्छ। अमेरिकासँगको सम्बन्ध ७० वर्ष नाघिसकेको छ। यस क्षेत्रका अन्य मुलुकको अस्तित्व नै नभएका बेला नेपाल अस्तित्वमा थियो। तर आज नेपाललाई विकासमा अरूले औँला समातेर हिँडाउनुपर्ने अवस्थामा कसले पुर्‍यायो ? त्यो हाम्रै अस्तव्यस्त अवस्थाले हो।

यसै साता अर्को एउटा कार्यक्रममा पनि सरिक हुने अवसर मिल्यो। यो वर्ष दक्षिण कोरियाले नेपालसँगको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षमा यहाँ वर्षैभरि विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ। त्यसमा पनि नेपालीहरू सन् २००८ देखि कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् काम गर्न गइरहेका छन्।

सन् १९७०–८० को दशकमा आफैँ रोजगारीका निम्ति खाडी मुलुक जाने कोरियालीहरूले नेपाली आफ्नो मुलुकमा आएर काम गर्नुलाई धन्य मानेका छन्। आफ्नो मुलुकको आर्थिक वृद्धिमा नेपालीको भूमिका रहेको उनीहरूले बताउने गरेका छन्। कोरियाले अहिले बर्सेनि एक लाख आप्रवासी श्रमिक भिœयाएर देशको उन्नति गरिरहेको छ। नेपालबाट मात्रै गत वर्ष करिब २० हजार नागरिक कोरियामा काम गर्न गए। यतिबेला कोरियामा मात्रै करिब ५० हजार नेपालीले श्रम गरिरहेका छन्।

नेपालका निम्ति कोरियाली राजदूत पार्क थेयङले वैशाख २६ को सिंगो बिहान नै नेपालको विकास चर्चाका निम्ति छुट्याए। यहाँ भइरहेका विकास गतिविधिमा रहेको रुचि उनमा गहिरो देखिन्थ्यो। त्यति मात्र होइन, यहाँ ठूला लगानी भित्र्याउन सकिन्छ भन्ने विश्वास उनमा देखिन्थ्यो।

यिनै नेपाली युवा हुन् जो विदेशमा गएर राम्रो काम गर्छन्। पाएसम्म नेपाली श्रमिकलाई लिएर विकासका गतिविधि अगाडि बढाउन खोज्छन्। तर नेपालभित्रै यिनलाई काम छैन। यहीँ काम सिर्जना गर्न राजनीतिक नेतृत्वलाई केले रोकेको छ ? यिनीहरू देशमा लोकतन्त्र आएपछि सर्वसाधारणको कमाइ यहीँ उद्योगधन्दा बढाएर हुन सकेको भए स्थिति भिन्न हुन्थ्यो। अहिले नेपालीले विदेशमा काम गरेरै मुलुकको अर्थतन्त्रलाई टेवा दिइरहेका छन्। बिजुली बेचेर धनी हुन्छौँ भन्ने सोच्नु र श्रमिक विदेश पठाएर देश सम्पन्न हुन्छ भन्ने ठान्नु एकै हो। तिनलाई प्रयोग गरेर यहाँ उत्पादन बढाउने हो भने मूल्य बढी हुन्छ। यसले मात्र हामीलाई अगाडि बढ्न सजिलो हुन्छ।

जबजब नेपालका विकास साझेदारका कुरा सुन्छौँ तबतब नेपालमा केही भइरहेको छ जस्तो लाग्छ। यता आफ्नै मुलुकको राजनीतिक वृत्त र कर्मचारी संयन्त्र भने विकासका काममा कमै लागेको देखिन्छ। बरु तिनका प्रत्येक गतिविधिले यहाँ केही हुँदैन भन्ने सन्देश दिइरहेको छ। समयको कति महत्त्व छ भन्ने बुझ्न आज संसारका अग्रगतिमा लागिरहेका देशहरूलाई हेरे पुग्छ। कुनै बेला नेपालभन्दा निकै तल रहेको दक्षिण कोरिया आज नेपाललाई विकासको पाठ सिकाइरहेको छ। दोस्रो विश्वयुद्धपछि तहसनहस भएको जापान आज उन्नतिमा अग्रणी छ। एसियाको ‘पावर हाउस’ बन्न सक्ने हाम्रो मुलुकमा भने कामका कुरै हुँदैनन्।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App