२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

बिपीको समाजवाद र वर्तमान राजनीति

२००३ सालमा बिपी कोइरालाको सक्रियतामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। टंकप्रसाद आचार्य सभापति, बिपी कार्यवाहक सभापति बने। देशमा प्रजातन्त्र प्राप्तिका लागि २००६ सालमा नेपाली कांग्रेसको जन्म भयो। जसलाई नेपाली राष्ट्रिय कांग्रेसको नयाँ रूप मान्न सकिन्छ। त्यसबेला देशमा राणा शासन चरम चुलीमा पुगेको थियो। एकातिर जनतामाथि दमन, अर्काेतिर नेपाली कांग्रेसको नेतृत्वमा सो दमनकारी नीतिको चर्काे विरोध। जसको अगुवाइ बिपीले गरेका थिए। पार्टी स्थापनापछि कांग्रेसको घोषणापत्र लेख्ने अभिभारा लिएका बिपीले पार्टीको नीति, दीर्घकालीन योजना, प्रजातन्त्र, समाजवाद र राष्ट्रियतासम्बन्धी राजनीतिक विवेचनाको प्रारम्भिक खाका तयार पारे।

ऐनामा अनुहार देखाएजस्तै उनले समाजको वास्तविक चित्रण आफ्नो योजनामा उतारे। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या कांग्रेसको स्थापनादेखि नगरिएको होइन तर २००७ देखि २०१५ सालसम्म देशमा राजनीतिक संक्रमण काल थियो। पहिलो संसदीय निर्वाचन २०१५ सालमा कांग्रेसको घोषणापत्र र बिपीको अगुवाइमा २ तिहाइ मत पाएर उनले सरकार गठन गरे।  

१०९ मध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गरेको थियो। बिपी विराटनगर चुनाव क्षेत्रबाट निर्वाचित भए। प्रथम पटक देशले जननिर्वाचित प्रधानमन्त्री पायो। बिपी संसदीय शासन प्रणालीका पहिलो प्रधानमन्त्री हुन्। आफ्नो कार्यकालमा देशमा आशा लाग्दा समाजवादको थप खाका तयार पारे। खेतमा हलो जोत्दै गरेको किसानको तस्बिर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्घोष नै बिपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ। यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरि खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपाल नै समाजवादी नेपाल हो। बिपीको समाजवाद आदर्शको नभएर व्यावहारिक सम्बन्धको परिभाषा हो। सबै मानिस धनी हुँदा समाजवाद सामन्ती, शोषण र दमनको घेरामा पर्छ, सबै मानिस गरिब हुँदा अभावको चक्रव्यूहमा समाज फस्छ। त्यसैले पनि गरिबी र उच्च सम्भ्रान्त वर्गका बीचको समाज निर्माण नेपालका लागि आवश्यक छ भन्ने तर्क उनको थियो।  

संघर्षमा जीवन बिताएका बिपी समाजलाई शोषण, दमन र उत्पीडनबाट उतार्न चाहन्थे। दक्षिण एसियाली मुलुकका प्रखर समाजवादी चिन्तक उनले २०१० सालमा वर्माको राजधानी रंगुनमा एसियाली समाजवादी सम्मेलनमा कांग्रेसका तर्फबाट पर्यवेक्षकका रूपमा भाग लिएका थिए। समाजवादी व्याख्याको गहिराइमा पुगेर भाषण गर्दा उनको चर्चा चुलिएको थियो। यसैगरी २०११ सालमा पनि जापानमा भएको समाजवादी सम्मेलनमा बिपीले सक्रियतापूर्वक भाग लिएका थिए। २०१२ माघ ९ गते कांग्रेस छैटौं महाधिवेशनमा ‘प्रजातान्त्रिक समाजवाद’को घोषणा भएको थियो। देशका सम्पूर्ण तरुणलाई एकत्रित गर्न र समाजवादप्रति आकर्षित गर्न बिपीको सक्रियता २०१२ कार्तिक १० गते नेपाल तरुण दलको गठन गरिएको थियो। तरुणमा राष्ट्रियता पलाउनग सामाजिक चिन्तनले जरा गाड्नुपर्छ। 

भूगोल र सीमा मात्र होइन, राष्ट्रियता, भूगोलभित्रको गरिबको छाप्रो पनि हो राष्ट्रियता। त्यही गरिबको छाप्रोलाई उन्नतिशील बनाउन चाहिने साधन हो समाजवाद। बिपीको व्याख्या यस्तो थियो। १९९४ मा सुशीला उपाध्यायसँग विवाह गरेका बिपी सन् १९४२ कांग्रेस पार्टी विहार शाखा भारतको सचिव पदमा नियुक्त भए। त्यही बेला, अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेबापत पटनाबाट गिरफ्तारीमा परे। भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसादसँग उनको त्यहीं सम्पर्क भयो।

राष्ट्रियता र समाजवादका बारेमा बिपीले गरेको व्याख्याबाट राजेन्द्रप्रसाद प्रभावित भएको भन्ने राजनीति शासनका पण्डितको भनाइ रहेको छ। सन् १९४५ मा घाटी ब्यानर भएको पत्ता लागेपछि डा. राजेन्द्रप्रसादको सहयोगमा भारतको मुम्बईमा क्यान्सर उपचार सुरु गरियो। थप उपचारका लागि अमेरिका वा युरोप पठाउनुपर्ने चिकित्सकको सल्लाह थियो, तर नेपाल सरकारले भिसा दिएन। पछि २०२६ सालमा भारत सरकारले मानवताको नाताले दिएको भिसामार्फत बिपी थप उपचारका लागि युरोप प्रस्थान गरे। जनताको माया र सद्भावले जम्मा गरिएको नगदी रकम ५० हजार रूपैयाँको थैली २०२५ सालमा बिपीले स्विकारे। बझाङी राजा जयपृथ्वीबहादुर सिंहझैं बिपी पनि मानवतावादसँग सम्बन्धित समाजवादी अवधारणा अघि सार्थे। 

नेपाली जनताले कांग्रेसबाट विकासको अपेक्षा गर्दै आइरहेका छन् विगत २०४८ सालदेखि। विकासको थालनी कांग्रेसबाट नभएको होइन तर भ्रष्टाचारको अन्त्य कांग्रेसका नेताहरूले गर्न सकेनन्।   

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननेता बिपी कोइरालाको नेतृत्वको सरकारलाई १८ महिना नपुग्दै भंग गरे। २०१७ देखि २०२५ सालसम्म बिपीलाई ८ वर्ष सुन्दरीजल जेलमा नजरबन्द राखे। २००३ सालमा सन्तनेता किसुनजी र लौहपुरुष गणेशमान सिंहसँग आत्मीय भेटपछि देशमा प्रजातन्त्र बहालीका लागि मिलेर काम गर्ने निधो गरे। २००७ सालको राणाविरोधी जनक्रान्ति सफल भएको पनि यही कारण थियो। क्यान्सरले थला परेका बिपी बिस्तारै बोल्ने गर्थे। २०३४ सालमा उहाँमाथि लगाइएका राजद्रोह र देशद्रोहसम्बन्धी ७ वटा मुद्दाका सम्बन्धमा सिंहदरबारमा बयानका लागि आफै उपस्थित भए। ७ वटै मुद्दा जिते बिपीले। 

बन्दी अवस्थामा तत्कालीन राजा वीरेन्द्रले ९० मिनेटसम्म बिपीलाई भेट थिए। स्वास्थ्य उपचारका लागि विदेश पठाउने निर्णय गरियो। रिहाइको आदेश जारी भयो। २०३४ सालमा नै उपचारका लागि उनी युरोप गए। समाजवादी नेता बिल्ली ब्रान्टसँग उनको भेट भयो। स्वदेश फिर्ता भएपछि त्रिभुवन एयरपोर्टबाटै उनलाई तत्कालीन सरकारले गिरफ्तार ग¥यो। गिर्दाे स्वास्थ्यका कारण पुनः रिहा भए। २०३६ सालमा जनमत संग्रहको घोषणापछि विपीले झन्डै २ दशकपछि जेठ २५ गते खुला मञ्चबाट देशवासीका नाममा सम्बोधन गरे। २०३७ वैशाख २० गते जनमत संग्रह भयो। 

जनमत संग्रहमा बहुदलवादी पराजित भए तापनि विपीले शान्त भएर परिणाम स्विकारे। राजनेताको अर्थ पनि त्यही थियो। २०३८ सालमा भारतको नयाँ दिल्लीमा ग्ल्यान्डको अप्रेसन गरियो तर उनको स्वास्थ्यमा सुधार आएन। उनी स्वदेश फर्केर राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर पुस १६ गते काठमाडौं खुलामञ्चबाट देशवासीका नाममा सम्बोधन गरे। २०३९ सालमा पुनः थप उपचारका लागि दिल्ली गए तर उपचार सम्भव नभएपछि बिपीको आग्रहमा पुनः नेपाल फर्के। देशका डाक्टरको सल्लाहअनुसार थाइल्यान्ड लगियो। उपचार सम्भव भएन। 

२०३९ श्रावण ६ गते राजनेता बिपीको निधन भयो। मेची महाकालीका हजारौं हजार शुभेच्छुक राजधानी ओइरिए। काठमाडौंको चावहिल मित्रपार्कको एकघरको वरन्डामा बिपीको पार्थिव शरीर दर्शनार्थीका लागि सुताइएको थियो। सहर आँसुमा डुबेको थियो। बिपीका मित्रहरू भारतबाट पनि ओइरिएका थिए। उहाँको शोकमा हामीहरू धेरैले कपाल मुण्डन गर्यौं। अचम्म, तत्कालीन रेडियो नेपालले सो दुःखद खबर प्रसारण गरेन। मैले जीवनमा त्यतिका मलामी देखेको पहिलो पटक थियो।  

खेतमा हलो जोत्दै गरेको किसानको तस्बिर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्घोष नै बिपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ। यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरि खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपाल नै समाजवादी नेपाल हो।

केही वर्षयता नेपाल सरकारले क्यान्सर पीडितका लागि निःशुल्क सेवा दिइरहेको छ तर सरकारी अस्पतालबाहेक अन्यमा यो सेवा उपलब्ध छैन। शिक्षा र स्वास्थ्य हाम्रो मुलुकमा धेरै महँगो भएकाले लोकतान्त्रिक गणतन्त्र नेपालमा नागरिकको जीवनस्तर उकास्न सर्वसुलभ स्वास्थ्य र शिक्षा नीति अवलम्बन गर्नु जरुरी देखिन्छ। बिपी कोइरालाको समाजवादको अनुशरण वर्तमान सबै पार्टीका शीर्षस्त नेताले गर्नु अनुकरणीय काम हो तर प्रत्येक राजनीतिक पार्टीबीच आत्मीयता, भाइचाराको सुमधुर सम्बन्ध देखिँदैन। बिपीले कल्पना गरेको नेपालमा वृक्षरोपण गरी देशलाई हरियाली बनाउनु एकातिर छ भने समाजवादलाई जनताका सामु व्यावहारिक शैलीमा उतार्नु अर्काेतिर छ।  

कांग्रेस वर्तमानमा समाजवादको परिभाषा खोजी रहेछ। राष्ट्रियता जोगाउन संयन्त्रका पछि लागिरहेछ। साथै लोकतान्त्रिक गणतन्त्रको मार्गमा हिँड्ने कोसिस गरिरहेको देखिन्छ। नेपाली जनताले कांग्रेस पार्टीबाट विकासको अपेक्षा गर्दै आइरहेका छन् विगत २०४८ सालदेखि। 

विकासको थालनी कांग्रेसबाट नभएको होइन तर भ्रष्टाचारको अन्त्य कांग्रेसका नेताहरूले गर्न सकेनन्। परिणामतः यो पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको देखिन्छ। बिपीको दृष्टि विपरीत हरेक पदमा रिक्तता पूर्ति गर्न नातागोताभित्र पर्नुपर्ने, नपरे हर्जना तिर्नुपर्ने भन्ने व्यापक जनगुनासो सुनिन्छ। हरेक क्रान्तिमा नेतृत्व सम्हालेको यो पार्टीले पछिल्लो कालखण्डमा आफ्नो नीति, सिद्धान्त, आचरण र नैतिकता बिर्संदै गएको पो हो कि ? शंका लाग्छ।  

राजनीतिका धू्रवतारा बिपी र पुष्पलालको नीतिको अवलम्बन पछिल्लो पिँढीले बिर्संदै गएजस्तो देखिन्छ। कांग्रेसमा भन्दा वामपन्थीहरूबीच एकतामा कमी देखिन्छ। गुट उपगुटमा मात्र सीमित नभएर वामपन्थीहरूले धेरै पार्टी गठन गरिसके। अझै टुक्रिने क्रम रोकिएको छैन। टुक्रिनु र जोडिनु पुष्पलालको परिभाषाभित्र पर्दैन।  

हाल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बिपी नगर सानेपामा चलिरहेको छ। २०३३ सालको बिपीको मेलमिलाप नीति सभापति देउवा र महामन्त्रीद्वयलगायत सम्पूर्ण केन्द्रीय सदस्यहरूले अवलम्बन गरून् यही शुभकामना छ।  

प्रकाशित: ८ श्रावण २०८० ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App