२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दलाई लामा भेटेपछि अमेरिकाले भन्यो: तिब्बती आत्मनिर्णयका पक्षमा छौं !

चीनको चर्को आलोचनाका बीच अमेरिकी कंग्रेस (संसद्) को उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामालाई भेटेको छ।

अमेरिकी कंग्रेसकी पूर्वसभामुख नान्सी पेलोसीसहितको प्रतिनिधिमण्डलले भारतमा निर्वासित सरकार चलाइरहेका लामासँग भेट गरेको हो।

अमेरिकाको विदेश मामिलासम्बन्धी संसदीय समितिका रिपब्लिकन अध्यक्ष माइकल म्याकलको नेतृत्वमा यो प्रतिनिधिमण्डल भारत भ्रमणमा आएको जनाइएको छ। अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमणको सूचना पाएदेखि नै चीनले निन्दा गरेको थियो। तर भ्रमण टोलीले आफ्नो यात्रा नरोकेरै मंगलबार दलाई लामालाई भेटेको न्युयोर्क टाइम्सले लेखेको छ।

तिब्बतमा चीनले कब्जा गरेपछि दलाई लामाको टोली सन् १९६० देखि भारतको हिमाली सहर धर्मशालामा निर्वासित सरकार चलाउँदै आएको छ। जहाँबाट तिब्बतको स्वयत्तताको माग गर्दै विभिन्न किसिमका कार्यक्रमहरू हुँदै आएका छन्।

अमेरिकी प्रतिनिधिमण्डल मंगलबार त्यहीँ (धर्मशाला) पुगेर दलाई लामासँग भेटेको हो। भेटवार्ताबाहेक टोलीले तिब्बत सरकारका कार्यालयहरूको भ्रमण गरेको समाचारहरू बाहिरिएका छन्।

केही समयअघि अमेरिकी कंग्रेसले लामो समयदेखि चलिरहेको द्वन्द्वका लागि तिब्बती नेताहरूसँग द्विपक्षीय वार्ता गर्न चीनलाई आग्रह गर्ने विधेयक पारित गरेको थियो।

त्यसपछि अमेरिकी प्रतिनिधिमण्डल दलाई लामालाई भेट्न भारत निस्किएको बताइएको छ। चीनले भने त्यसको प्रतिवाद गर्दै विरोध गरेको थियो। उसले ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप’ भनेर टिप्पणी गरेको थियो।

दिल्लीस्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूसँग गरेका प्रतिवद्धताहरूको सम्मान गर्दै दलाई लामा समूहको चीन विरोधी पृथकतावादी गतिविधिलाई मान्यता दिएर विश्वलाई गलत सन्देश दिन बन्द गर्न अमेरिकासँग आग्रह गरेको थियो।

चीनले भारतमा निर्वासित रूपमा चलिरहेको तिब्बत सरकारलाई गैह्रकानुनी रहेको दाबी गर्दै तिब्बत स्वयत्तता दिने कुरालाई अस्वीकार गर्दै आएको छ।

दलाई लामासँगको भेटपछि अमेरिकी प्रतिनिधिमण्डलका नेतृत्वकर्ता म्याकलले अमेरिका तिब्बतको आत्मनिर्णयको अधिकारको पक्षमा उभिएको बताए। बुधबार एक कार्यक्रममा बोल्दै उनले अमेरिका सुन्दर तिब्बतलाई सधैंजस्तो शक्तिशाली शक्ति बन्न समर्थन गर्ने’ बताए।

८८ वर्षीय दलाई लामालाई अमेरिकी अधिकारीद्वारा भेटिएको यो पहिलो पटक भने होइन।

अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमणलाई निर्वासित तिब्बती सरकारले खुसी व्यक्त गरेको छ। निर्वासित सरकारको केन्द्रीय प्रशासनका प्रवक्ता तेन्जिङ लेक्षले यो भ्रमणलाई ‘अमेरिका र चीनबीच बढ्दो प्रतिद्वन्द्वीताको लेन्स’ बाट हेर्न नहुने बताएका छन्।

उनले चीनको कब्जापछि तिब्बती जीवनशैलीले कसरी अस्तित्वमाथि खतराको सामना गरिरहेको छ भनेर विश्वले बुझ्नुपर्ने प्रतिक्रिया दिए।

‘हामी आशा गर्छौं, स्वतन्त्र संसारका नेताहरू तिब्बत मुद्दाको पक्षमा उभिनेछन्,’ उनले भने,‘विशेष गरी चिनियाँ नेतृत्वलाई चीन–तिब्बत द्वन्द्व समाधान गर्न वार्ता र पुनः स्थापना गर्न जोड दिनेछन्।’

दलाई लामासँग भेट्न आएकी पूर्व सभामुख पेलोसीले सन् २०२२ मा ताइवानको भ्रमण गरेकी थिइन्। ताइवान टापु अहिले अलग्गै शासित छ, जसलाई चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ।

त्यो भ्रमणपछि पनि चीनले असन्तुष्टि जनाएको थियो। लगत्तै चीनले ताइवानमा व्यापार प्रतिबन्ध लाउँदै टापु नजिकै सैन्य अभ्यास गरेको थियो। पछिल्लो समय ताइवानमा चीन विरोधी नेता लाई चिङ ते निर्वाचित भएपछि पनि चीन थप भड्किएको छ। अहिले पनि पहिलेझैँ सैन्य अभ्यास गरेर ताइवानलाई तर्साउने प्रयास गरेको थियो।

न्युयोर्क टाइम्सको सहयोगमा

प्रकाशित: ५ असार २०८१ १४:४५ बुधबार